प्रिमियममा आईपीओ जारी गर्ने सन नेपाल लाइफको प्रस्ताव पारित, सञ्चालकमा कयाल नियुक्त
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ । साउन २५ गते सोमबार सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीले सर्वसाधारणमा प्रमियम मूल्यमा ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सको साधारण सभा भर्च्युअल माध्यमबाट सम्पन्न भएको थियो । साथै, सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन वासलात, नाफा र नोक्सान, हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूची एनएफआरएस प्रणाली लगायतका विषयमाथि छलफल गरी पारित गरेको छ । यसका साथै, सभाले कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकमा नितु कयाललाई नियुक्त गरेको छ । इन्स्योरेन्सले हाल देशभरका २० वटा शाखा कार्यालय तथा १०८ वटा उपशाखा कार्यालयमार्फत जीवन बीमा सेवा दिँदै आएको छ । साथै, आगामी दिनमा स्थानीय स्तरबाट बीमा सेवा प्रवाह गर्दै अघि बढ्ने कम्पनीको लक्ष्य छ ।
एशियन लाईफ इन्स्योरेन्सले एकैदिन काठमाडौंमा खोल्यो थप दुई शाखा
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा थप दुई शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको नयाँ बानेश्वर र चाबहिल चुच्चेपाटीमा क्रमशः ४१ औं र ४२ औं शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले खोलिएका उक्त शाखाहरु साउन २५ गतेदेखि सञ्चालनमा आएका छन् । उक्त शाखको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले गरेका हुन् । थप दुई शाखासहित योसँगै यस कम्पनीको शाखा संख्या ४२ र उपशाखा संख्या १०६ पुगेको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा काठमाण्डौं उपत्यकाभित्र थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने यस कम्पनीको लक्ष्य रहेको छ । त्यस्तै, कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी सावधिक, अग्रिम भुक्तानी सावधिक, आजीवन, म्यादी सहित २३ वटा बीमा योजनाहरु प्रचलनमा ल्याएको छ । २०७८ असार समान्तसम्ममा यस कम्पनीको जीवन बीमा कोष २६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र बागमती प्रदेश प्रमुख लोकराज जोशीको समेत उपस्थिति थियो ।
गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, चुक्ता पुँजी २ अर्ब रुपैयाँ नाघ्ने
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले ५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई बोनस र नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव साउन २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ५.५००४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२८९४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । सो प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् । यससँगै इन्स्योरेन्सका सेयरधनीले उक्त आवको नाफाबाट चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस सेयर पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजीको एक अर्ब ९७ करोड रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा बढी हो । इन्स्योरेन्सले अघिल्लो आव अर्थात २०७४/७५ मा सेयरधनीलाई ५.२५ प्रतिशत लाभांश वितरण गरेको थियो ।