लाइफ इन्स्योरेन्सले कमाए एक खर्ब बढी बीमाशुल्क, दुई कम्पनी अर्ब क्लबमा प्रवेश
काठमाडौं । एक वर्षको अवधिमा जीवन बीमा कम्पनीको कूल बीमाशुल्क ३१.१३ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १८ वटा जीवन बीमा कम्पनीको कूल बीमाशूल्क अघिल्लो वर्षको तुलनामा ३१.१३ प्रतिशतले बढेको हो । जीवन बीमा कम्पनीले सार्वजनिक गरेका गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्किृत वित्तीय विवरण अनुसार उनीहरुले अघिल्लो वर्षको तुलनामा २६ अर्ब ९३ करोड रुपैयाँ बढी कूल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आव २०७६/७७ को असार मसान्तसम्ममा ८३ अर्ब ५२ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेका कम्पनीले गत आवको सोही अवधिसम्ममा १ खर्ब १३ अर्ब ४५ करोड रुपैयाँ आर्जन गर्न सफल भएका छन् । जसमध्ये सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स नै अग्रस्थानमा रहेको छ । कम्पनीले एक वर्षको अवधिमा ३२ अर्ब ३६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १७.१६ प्रतिशतले बढी हो । त्यस्तै, बढी प्रिमियम संकलन गर्नेको दोश्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । समीक्षा अवधिमा कम्पनीले १७ अर्ब १४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १४.८८ प्रतिशतले बढी हो । त्यसैगरी, तेश्रोमा नेशनल लाइफ रहेको छ । अघिल्लो आवमा ९ अर्ब २२ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको कम्पनीले गत आवमा १२ अर्ब ५४ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । यो अवधिमा सबै जीवन बीमा कम्पनीले आफ्नो व्यवसाय बढाएका छन् । कोरोना महामारीमा पनि उनीहरुले आफ्नो व्यवसाय बढाउन सफल भएका उनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणले देखाएकाे छ । जीवन बीमा कम्पनीमध्ये दुइ कम्पनी अर्ब क्लबमा प्रवेश गर्न सफल भएका छन् । महालक्ष्मी लाइफ र सानिमा लाइफ इन्स्योरेन्स अर्ब क्लबमा प्रवेश गर्न सफल भएका छन् । जसमध्ये सानिमा लाइफ इन्स्योरेन्स एक अर्ब ९६ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्न सफल भएको छ । जुन एक वर्षको तुलनामा १३६।१४ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवमा ८३ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो । त्यस्तै, महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब १० करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवमा ८६ करोड रुपैयाँ मात्रै थियो । र, गत आवमा सबैभन्दा कम कूल बीमाशुल्क संकलन गर्नेमा इन्स्योरेन्स नै अग्रस्थानमा रहेको छ । जीवन बीमाको व्यवसाय सञ्चालन गर्दै आएको राष्ट्रिय बीमा संस्थानले पनि गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको छ । तर उक्त विवरणमा कम्पनीको कुल बीमाशुल्क भने उल्लेख गरिएको छैन । कम्पनीले गत असार मसान्तसम्ममा ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ७.३७ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ७ अर्ब ६ करोड रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।
आईएमई लाइफ इन्स्योरेन्स पाचौं वर्षमा, रियल टाइममै दाबी भुक्तानीको जानकारी हेर्न सक्ने
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी आजबाट पाचौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक कारोबार सञ्चालनमा ल्याएको चार वर्ष पुरा गरी २०७८ भदौ १ गतेबाट पाचौं वर्षमा लागेको हो । उक्त अवसरमा कम्पनीले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरुपले पालना गरी रक्तदान कार्यक्रमसहित आफ्नो चौंथो वार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुयाँलले अबको युग प्रविधिमैत्री सेवाको युग रहकोले बीमा कम्पनीहरुले पनि प्रविधिमैत्री सेवा अवलम्बन गर्नुको विकल्प नरहेको जानकारी दिए । कम्पनीले ग्राहक तथा कम्पनीका अभिकर्तालाई प्रदान गर्ने सेवालाई मध्यनजर गर्दै डिजिटल प्रविधिमैत्री सेवा विकासका क्रममा जीवन बीमा कम्पनीमध्ये सर्वप्रथम २०७७ मंसिर २२ गतेदेखि च्याट बट प्रविधिको विकास गरि सञ्चालनमा ल्याएको छ । हाल उक्त प्रविधि मार्फत बीमितहरुले आफ्नो व्यक्तिगत बीमालेख र अभिकर्ताहरुले आफ्नो आय आर्जन सम्बन्धी जानकारी प्राप्त गरि आएकोमा भदौ १ गतेदेखि लागु हुने गरी आफू अन्तर्गतका अभिकर्ताहरुको व्यवसायको विवरण समेत हेर्न सक्नेछन् । र, बीमितले निवेदन दिएको ऋण एवम् दाबी भुक्तानीको अवस्थाको बारेमा जानकारी रियल टाइममा हेर्न सक्ने र बीमाशुल्क भुक्तानी वापत कर प्रमाणपत्र समेत च्याट बटमार्फत प्राप्त गर्न सक्ने व्यवस्था कम्पनीले गरेको छ । व्यवसाय सुचारु भएको चौंथो वर्षसम्म कम्पनीको हासिल गरेको विभिन्न सूचांकहरु निम्नानुसार रहेको छ । कम्पनीले गो डिजिटलको अवधारणा अवलम्वन गरी भविष्यमा कागजात रहित प्रविधिमार्फत सेवा उपलब्ध गराउने उद्देश्य लिएको जानकारी दिए । हाल कम्पनीले कनेक्ट आईपीएस लगायत विभिन्न अनलाइन भुक्तानी सेवा प्रदायकको सहकार्यमा अनलाईन माध्यमबाट बीमाशुल्क भुक्तानी गर्न सक्ने व्यवस्था समेत मिलाएको जानकारी दिए ।
एशियन लाईफकाे अध्यक्ष दिपक कुमार श्रेष्ठद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण
काठमाडाैं । एशियन लाईफ इन्स्योरेन्सको संचालक समितिको नवनियुक्त अध्यक्ष दिपक कुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहणको अवसरमा बीमा समितिको कार्यकारी निर्देशक राजुरमण पौडेल र यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो । आइतबार बाराको सिमरामा सम्पन्न १२ औं साधारण सभाबाट आगामी चार वर्षे कार्यकालको लागी संचालक समितिको सदस्य पदमा श्रेष्ठ निर्वाचित भएपछि कम्पनीको संचालक समितिको १६४ औं बैठकले उनलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो ।