म्याद थपिएका आयोजनाको बीमा नविकरण उपयुक्त दररेटमा गराउन महासंघको आग्रह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले म्याद थप भएका आयोजनाहरुको बीमा नविकरण एक्सेस भ्यालुसहित उपयुक्त दररेटमा गराउन आग्रह गरेको छ । महासंघले निर्माण सम्पन्न नभएका र नेपाल सरकारबाट म्याद थप भएका आयोजनाको थप भएको समयावधिका लागि बीमा नवीकरण गराउँदा तोकिएकोभन्दा बढी रकम (एक्सेस भ्यालु)कै सेवा शर्त तोकी उपयुक्त दररेटमा गराउन बीमा कम्पनीलाई आग्रह गरेको हो । सो सम्बन्धमा महासंघ र नेपाल बीमक संघबीच समन्वय भएको छ । महासंघका पदाधिकारी, बीमा समितिका पदाधिकारी र नेपाल बीमक संघका पदाधिकारीले छलफल गरी उक्त निणर्य गरेका हुन् । यसैबीच कुनै पनि निर्माण कार्यको त्रुटी सच्याउने अवधिको बीमा, म्याद थप गर्दा गरिने बीमा लगायतका समस्या सम्बन्धमा नेपाल सरकारका सरोकारवाला निकायहरूसँग बीमा समितिले निकट भविष्यमा अन्तर्क्रिया गरी समस्या समाधान गर्ने निर्णय भएको महासंघका महासचिव रोशन दाहालले जनाएका छन् । भदौ ३ को मन्त्रिपरिषद्को बैठकले कोभिड-१९ लगायत विभिन्न कारणले काम हुन नसकेका आयोजनाहरूको खरिद सम्झौताको २०७८ साल चैत मसान्तसम्मको लागि म्याद थप गरेको थियो । उक्त आयोजनाहरूको म्याद थप गरेसँगै कम्पनीहरुले बीमा नवीकरण गर्दा तोकिएकोभन्दा बढी रकम (एक्सेस भ्यालु) वृद्धि गरी आफुखुशी बीमाशुल्क लिँदै आएका थिए । ती ठेक्काहरुको म्याद थप गर्दा आवश्यक पर्ने पुर्नबिमाका लागि बीमा कम्पनीहरूले बीमा नवीकरण गर्दा तोकिएको भन्दा बढी रकम (एक्सेस भ्यालु) वृद्धि गरेका थिए । र, आफुखुशी पहिला जारी भएको बीमा शुल्कमा अत्याधिक रूपले बीमा शुल्क लिन बाध्य बनाएका थिए । सोही समस्यालाई मध्यनजर गर्दै महासंघले आफ्नै पहलमा सरोकारवालाबीच छलफल गरी बीमा कम्पनीलाई उपयुक्त दररेटमा बीमा नविकरण गराउन आग्रह गरेको हो ।
ज्योति लाइफको ४ वर्षे यात्राः विभिन्न १० वटा योजना जारी, बीमाशुल्क ७ अर्ब नजिक
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स आज असोज ८ गतेबाट पाँचौ वर्षमा प्रवेश गरेको छ । २०७४ असोज ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको कम्पनी आजबाट चौथो वर्ष पुरा गरि पाँचौ वर्षमा प्रवेश गरेको हो । यो चार वर्षको अवधिमा कम्पनीले विभिन्न ११ वटा मूख्य उपलब्धीहरु गर्न सफल भएको जानकारी गराएको छ । कम्पनीले ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजाल विस्तार गरी सेवा प्रवाह गरेको छ । त्यस्तै, सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाखसम्मको आर्थिक सुरक्षा दिने एक मात्र कम्पनी बन्न सफल भएको इन्स्योरेन्सको दावी छ । साथै, कम्पनीले विभिन्न १० किसिमका आकर्षक जीवन बीमा योजना जारी गरिसकेको छ । कम्पनीले कुल ७ अर्ब रुपैयाँ लगानी गरी आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क सहित हालसम्म ६ अर्ब ९० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको बताएको छ । कम्पनीमा हाल १० हजारभन्दा बढी सक्रिय अभिकर्ता रहेका छन् भने ९० हजारभन्दा बढी बीमित रहेका छन् । सर्वसाधारणलाई ६६ करोड रुपैयाँको सेयर जारी गरी कुल चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ कायम गरेको छ । चार वर्षमा कम्पनीले ४ अर्ब रुपैयाँको जीबन बीमा कोष कायम गरिसकेको छ । संचालनको पहिलो वर्षदेखि नै नाफा कमाएको इन्स्योरेन्सले हाल आईएसओ ९००१ः२०१५ गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै, कम्पनीले आफ्नो वाषिर्कोत्षवको अवसरमा सबैलाई धन्यवाद दिँदै आगामी दिनहरुमा थप साथ र सहयोगको अपेक्षा गर्दै थप उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
ज्योति लाईफ इन्स्योरेन्सले घोषणा गर्यो बोनसदर, अधिकतम ७५ रुपैयाँसम्म दिने
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले २०७६ असार मसान्तसम्ममा जारी भएका नाफामा सारिक हुने बीमालेखहरुमा प्रतिहजार न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको हो । कम्पनीले उक्त आवको आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन गरी कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन अनुसार सो मात्राको बोनसदर दिने घोषणा गरेको हो । सो प्रतिवेदनलाई बीमा समितिले २०७७ भदौ १२ गते स्वीकृत गरिसकेको इन्स्योरेन्सले जनाएको छ । सावधिक जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनस दर तोकेको छ । त्यस्तै, सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७५ रुपैयाँ बोनस दर तोकेको छ । त्यसैगरी, अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ ।