रिलायन्स लाइफ इन्स्योरेन्सले घोषणा गर्यो अघिल्लो आवको लाभांश
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सो आवको नाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत लाभांश र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत गरी कूल ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गरेको हो । हाल संस्थाको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।
‘लगानीकर्ताले ८ खर्ब बढी गुमाईसके, तत्काल यी ५ बुँदे माग सम्बोधन गरियोस्’
काठमाडौं । लामो समयदेखि निरन्तर रुपमा घटिरहेको पुँजीबजार प्रति नेपाल इन्भेष्टर्स फोरमले ध्यानाकर्षण गरेको छ । पुँजीबजारका लगानीकर्ता संगठन इन्भेष्टर्स फोरमले सोमबार एक विज्ञप्ति जारी गर्दै दैनिक घटेको बजारले लगानीकर्तामा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असर प्रति ध्यानाकर्षण गराएको हो । फोरमले पुँजीबजारले हालसम्ममा ८ खर्ब रुपैयाँभन्दा बढी गुमाइसकेको बताएको छ । जुन पुँजीबजारको इतिहासमा सबैभन्दा बढी हो । यसले गर्दा ४४ लाखभन्दा बढी लगानीकर्ताहरु थप मारमा परेका छन् । त्यस्तै, जिम्मेवार निकायहरुको अदूरदर्शि नीतिका कारण पुँजीबजारमा आपूर्ति बढ्न गएको फोरमको आपत्ति छ । तर, आपूर्तिकै कारणले बजार घटबढ नभई जिम्मेवार निकायहरुको पुँजीबजार प्रति हेर्ने दृष्टिकोण र कमजोर प्रविधि, पूर्वाधार तथा लगानीकर्तामैत्री ऐन कानूनहरु नहुनु नै प्रमुख कारण रहेको फोरमको आरोप छ । साथै, पुँजीबजारको विकास र विस्तारको लागि विगतमा उठाईएका मागहरु हालसम्म पनि सम्बोधन नभएकाले पनि पुँजीबजार निरन्तर रुपमा घटिरहेको फोमरले जनाएको छ । त्यसैले, बजारमा लगानीकर्ताको आकर्षण बढाउन र लगानी सुरक्षाको आभाष दिलाई बजारको विश्वसनीयता बढाउनको लागि यथाशीघ्र विभिन्न ५ बुँदे मागहरु सम्बोधन गर्न आग्रह गरेको छ । १. नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०७८ र एकीकृत निर्देशिकाले शेयर धितो कर्जालाई कुनै एउटा बैंकबाट ४ करोड र ३ वटा बैंकबाट १२ करोडको सिमा तोकेर लगानी गर्ने वातावरणमा निरुत्साहित गरेको कारण उक्त नियम तुरुन्त खारेज गरियोस् । २. नयाँ ब्रोकर संख्याहरू थप गरी वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिई उक्त बैंकहरूको देशभरिको सबै शाखाहरूबाट कारोबार गर्ने सुविधा विस्तार गरियोस् । ३. ब्रोकर मार्फत हुने मार्जिन कर्जा यथाशीघ्र उपलब्ध गराईयोस् । ४. हालको कारोबार हेर्दा ब्रोकर कमिसन अत्यन्त महङ्गो भएको हुनाले समय सापेक्ष अविलम्ब समायोजन गरियोस् । ५. पूँजीबजारलाई नियमन गर्ने नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लामो समयदेखि निमित्तको भरमा चलिरहेको हुँदा उक्त नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा योग्य व्यक्ति अविलम्ब नियुक्ति गरी यथासक्य चाँडो भन्दा चाँडो आम लगानीकर्ताको समस्या समाधान गरियोस् ।
युवासँग-महालक्ष्मी लाईफ: बेलौरी र टिकापुरमा सम्पन्न, यहि साता थप तीन जिल्लामा गरिने
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले सुदुरपश्चिमको बेलौरी कंचनपुर र टिकापुर कैलालीमा ‘युवासँग-महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/०७९ भित्र २५ वटा भन्दा बढी जिल्लामा उक्त बीमा जागरण राष्ट्रिय अभियान संचालन गर्ने लक्ष्यका साथ उक्त कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो । कम्पनीले बेलौरीको महाकाली बहुमुखि क्याम्पसमा असोज १७ गते सम्पन्न कार्यक्रममा स्नातक तहका १५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो । क्याम्पस प्रमुख धर्मराज जोशीको अध्यक्षतामा भएको बीमा जनचेतना कार्यक्रममा सहायक क्याम्पस प्रमुख गंगा प्रसाद रिजाल, कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले कार्यक्रमको महत्व बारेमा मन्तव्य राखेका थिए । कम्पनीका बेलौरी कार्यालय प्रमुख प्रदिप तिवारीले संचालन गर्नु भएको कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमा बारेमा प्रशिक्षण प्रदान गरेका थिए । त्यसैगरी, कम्पनीले असोज १८ गते कैलालीको टिकापुर स्थित टिकापुर बहुमुखि क्याम्पसमा पनि उक्त कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ७० भन्दा बढिको सहभागिता थियो । निमित्त क्याम्पस प्रमुख धन कृष्ण उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागी विद्यार्थीहरुलाई बीमा बारे प्रशिक्षण दिएका थिए । कम्पनीले यस अघि पर्सा, बारा, रौतहट, मोरङ र कैलाली जिल्लामा कार्यक्रम सम्पन्न गरिसकेको छ । साथै, कम्पनीले यही साता म्याग्दी, बागलुङ र तनहुमा कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।