ज्योति लाईफकाे सम्पूर्ण सेवाकाे जानकारी अब च्याटमार्फत
काठमाडाैं । ज्योति लाईफ इन्स्योरेन्सले सुचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउँदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न च्याटबट सेवा सुरु गरेको छ। याेसँगैं अब ज्योति लाईफका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको जानकारी कम्पनीको वेबसाइट, फेसबुक पेजका साथै मोबाईल एपबाटै च्याटमार्फत स्वचालित रुपमा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएकाे छ। च्याटबटमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका उपयुक्त भाषा रोजेर उपलब्ध विकल्पको छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिनेछ । यसमा कम्पनीका विभिन्न सेवाहरुमा बीमित र अभिकर्ता सम्बन्धि जानकारी, कम्पनीको बीमा योजना सम्बन्धि जानकारी र सो को प्रतिक्रिया, हेल्पडेस्क, अनलाईन भुक्तानी, डाउनलोड तथा अन्य सेवाहरु उपलब्ध छन् ।
अजोड इन्स्योरेन्ससहित तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो
काठमाडौं । सोमबारको बजारमा विभिन्न तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो दिन अजोड इन्स्योरेन्स, मनकामना लघुवित्त वित्तीय संस्था र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । जसमध्ये अजोड इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८५९.१० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ७८.१० रुपैयाँले बढी हो । त्यस्तै, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स दुबैको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । जसमध्ये मनकामना स्मार्ट लघुवित्तको ६२.४० रुपैयाँले बढेर प्रतिकित्ता ६८७.२० रुपैयाँ पुगेको छ । त्यस्तै, सानिमा लाइफको भने ६०.१० रुपैयाँले बढेर प्रतिकित्ता ६६१.९० रुपैयाँ पुगेको छ । त्यसैगरी, टप गेनरको टप फाइभमा ४ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेका कम्पनी रहेका छन् । यूनाईटेड इदी मार्दी आर बी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य क्रमशः ४.१६ र ४.०७ प्रतिशतले बढेको छ । समग्रमा सोमबारको बजारमा उतारचढाव देखिएको छ । कारोबार खुलेको केही समयसम्म उकालो लागेको बजार त्यसपछि ओरालो लागेर न्युनतम २९४० बिन्दुसम्म झरेको थियो । त्यसपछि बजार बन्द हुनु १० मिनेट अघिदेखि उकालोको बाटो तय गरेको बजार अन्ततः ०.२७ अंकले बढेर बन्द भएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०१ प्रतिशतले बढेर २९४७.७० बिन्दुमा पुगेको छ । त्यस्तै, बजारमा ९ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन २२६ कम्पनीको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ६१ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । सोमबारको बजारमा अधिकांश हाइड्रोको सेयर मूल्य घटेको छ । टप लुजरको टप टेनमा सबै हाइड्रो कम्पनी नै रहेका छन् । जसमध्ये कालिका पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ६.४७ प्रतिशतले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा ४८ रुपैयाँले घटेर प्रतिकित्ता ६९४ रुपैयाँमा झरेको छ ।
कोरोना बीमा भुक्तानीको विषय गम्भीर छ, छिट्टै निकास दिन्छौंः अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको भुक्तानीको विषय गम्भीर रहेकाे धारणा राखेका छन् । आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै उनले कोरोना बीमाको दावी भुक्तानीको विषय गम्भीर रहेकाे र अर्थमन्त्रालयले पनि गम्भीरताका साथ हेरेकाे धारणा राखेका हुन् । अर्थमन्त्रालयले यसलाई गम्भीर विषयको रुपमा लिएको बताउँदै अब छिट्टै याे विषयले निकास पाउने पनि बताएका छन् । ‘११ अर्ब रुपैयाँको दायित्व छ, यो भनेको चानचुन र सानो रकम होइन, यो गम्भीर विषय हो, दाबी अझ बढ्दै छ भन्ने विषय आएको छ, हामी यसमा गम्भीर नै छौं, यस विषयमा हाम्रो सल्लाह भइरहेको छ, यसलाई हामी छिट्टै निकास दिन्छौं,’ उनले भने । सरकारले आफ्नो प्रतिवद्धता अनुसार कोरोना बीमाको दावी भुक्तान नगर्दा कोरोना बीमा गराएका व्यक्तिहरुको करिब ११ अर्ब रुपैयाँ दाबी भुक्तानी रोकिएको छ । बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिले पूर्व सहमति अनुसार दिनुपर्ने दाबी भुक्तानी गरिसकेका भएपनि सरकारको दायित्वमा परेको रकम अर्थमन्त्रालयले नदिएपछि भुक्तानीमा समस्या भएको हो । बीमा समितिले २०७७ सालको बैशाख ७ गतेदेखि ५० हजार रुपैयाँ र १ लाख रुपैयाँको कोरोना बीमा कार्यक्रम सुरु गरेको थियो । कोरोना बीमा गराएका व्यक्तिमा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए बिमांक बराबर दाबी भुक्तानी पाइने व्यवस्था कोरोना बीमा पोलिसीमा थियो । तर, कोरोना बीमा सुरु भएको केही समयभित्रै यसको लोकप्रियता बढेपछि कोरोना बीमाको दाबी भुक्तानी गर्नै नसकिने गरी जोखिम बढेको अनुभव गरिएको थियो । सरकारले चालु आर्थिक वर्षको लागि गत वर्ष ल्याएको बजेटमा कोरोना बीमाको बीमा शुल्कमा सरकारले ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको थियो । त्यसपछि कोरोना बीमा गराउनेहरुको संख्या अझै बढेको थियो । तर, बीमा शुल्कबाट दायित्व भुक्तानी गर्न नपुग्ने, पुनर्बीमा कम्पनीहरुले पनि कोरोना बीमाको पुनर्बीमा नगराउने भएपछि दाबी भुक्तानीको स्रोत खोज्न नकिने भन्दै २०७७ को जेठ तेस्रो सातामा कोरोना बीमा कार्यक्रम स्थगित भएको थियो । सोही समयमा अर्थमन्त्रालयमा भएको छलफलमा पहिलो १ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी निर्जीवन बीमा कम्पनीहरुले दिने, त्यसपछिको १ अर्ब रुपैयाँ नेपाल पुनर्बीमा कम्पनीले दिने, त्यसपछिको ५० करोड रुपैयाँ बीमा कम्पनीहरुको महाविपत्ति कोषमा रहेको रकमबाट भुक्तानी गर्ने र त्यसपछिको १ अर्ब रुपैयाँसम्मको दायित्व बीमा समितिले दिने सहमति भएको थियो । यसो गर्दा साढे ३ अर्ब रुपैयाँसम्मको दाबीमा सरकारको दायित्व सिर्जना नहुने व्यवस्था मिलाइएको थियो । साढे ३ अर्ब रुपैयाँभन्दा बढीको दायित्व सिर्जना भएमा सोभन्दा बढी सबै दायित्व नेपाल सरकारले लिने भनिएको थियो । सरकारले आफ्नो प्रतिवद्धता अनुसारको कोरोना बीमाको रकम भुक्तानी नगर्दा बिमितले पैसा पाउन सकेका छैनन् । जसको प्रत्यक्ष मारमा कोरोना बीमा गर्नेहरु परेका छन् ।