महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ भट्टराई सम्मानित

काठमाडौं । बैंक तथा बीमा क्षेत्रका विज्ञ तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराई सम्मानित भएका छन् । वीरगञ्जको रेडियो नारायणीले कार्त्तिक १३ गते एक कार्यक्रमको आयोजना गरी भट्टराईलाई सम्मान गरेको हो । तीन दशकभन्दा लामो समयदेखि बैंक तथा बीमा क्षेत्रमा सक्रिय रहेका भट्टराई नारायणी एफएफका संस्थापक अध्यक्ष समेत हुन् । संस्थापक अध्यक्षका हिसाबले उनलाई सम्मान गरिएको हो । शनिबार वीरगञ्जमा आयोजित विशेष समारोहकाबीच शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले कदर पत्रसहित सम्मान गरेका हुन् ।

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. घिमिरेले लिए शपथ

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा. रविन्द्र घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष डा. घिमिरेले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आफ्नो पद तथा गोपनियताको शपथ लिएका हुन् । डा. घिमिरेलाई कार्त्तिक ८ गते बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई आगामी ४ वर्षको लागि नेपाल पुनर्बीमाको अध्यक्ष पदमा नियुक्त गरेको हो । अध्यक्ष डा. घिमिरे पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेशनका प्राध्यापक हुन् । बीमामा विद्यावारिधी गरेका घिमिरे बीमा क्षेत्रकै विज्ञको रुपमा समेत चिनिन्छन् ।

प्राइम लाइफ इन्स्योरेन्सले बढाएर घोषणा गर्यो नयाँ बोनसदर

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा बढाएर नयाँ बोनसदर सार्वजनिक गरेको हो । नयाँ बोनसदर अनुसार कम्पनीले विभिन्न योजनामा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने भएको छ । इन्स्योरेन्सले सावधिक जीवन बीमालेखमा न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस तोकेको छ । जसमा ९ वर्षसम्मको ३५, १० देखि १४ वर्षसम्मको ४०, १५ देखि १९ वर्षसम्मको ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको ५० रूपैयाँ र २५ देखि माथि अवधिको ७० रुपैयाँ बोनसदर तोकिएको छ । त्यस्तै, सावधिक तथा आजीवन बीमालेखको ९ वर्ष अवधिको ३६ रुपैयाँ, १० देखि १४ वर्षको ४५ रुपैयाँ, १५ देखि १९ वर्षको ५० रुपैयाँ, २० देखि २४ वर्षको ५७ रुपैयाँ र २५ देखि माथिको ७५ रुपैयाँ बोनस निर्धारण गरिएको छ । कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ४० देखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ । जसमध्ये १० देखि १४ वर्षको ४० रुपैयाँ, १५ देखि १९ वर्षको ४८ रुपैयाँ, २० देखि २४ वर्षको ५५ र २५ देखि माथिको ७० रुपैयाँ बोनस तोकिएको छ । त्यस्तै, कम्पनीले प्राइम जीवन उपहार योजना (पीजेयूपी) मा ७२ रुपैयाँ बोनसदर तोकेको छ । जसमध्ये पीजेयूपीमा ३२ रुपैयाँ र पीजेयूपी आईआईमा ४० रुपैयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले सावधिक जीवन बीमालेखका बीमितलाई न्यूनतम ३५ रुपैयाँदेखि ६५रुपैयाँसम्म मात्रै बोनस दिँदै आएको थियो । त्यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ३९ रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म मात्रै बोनस दर वितरण गरेको थियो ।