महालक्ष्मी लाईफको राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। कार्तिक ५ र ६ गते भएको सम्मेलनमा देशभरिका ६० शाखा र उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रिय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो । सम्मेलनको पहिलो दिन चौध क्षेत्रका क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुले आ(आफ्नो क्षेत्रको व्यवसायिक प्रतिवेदन पेश गरेका थिए । प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रतिस्पर्धी कम्पनीहरुको अवस्था, कम्पनीको व्यवसायीक कारोबार र लक्ष्य प्राप्तिको लागि अपनाइने आगामी रणनीति तथा कार्यक्रम बारेमा क्षेत्रगत छलफल भएको थियो । कार्यक्रमको दोस्रो दिन कार्तिक ६ गते कम्पनीका सम्पुर्ण कार्यालय प्रमुख र अधिकृतहरु सहभागी भएको नेसनल बिजनेस मिट २०७८ राष्ट्रिय सम्मेलन सम्पन्न गरिएकाे थियाे । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उद्घाटन गरेकाे उक्त सम्मेलनमा स्वागत मन्तव्य बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले व्यक्त गरेका थिए । त्यसैगरी नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले त्रैमासिक व्यवसायिक समिक्षा गरेका थिए भने अर्का नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागिहरुलाई कम्पनीको बीमा योजनाहरुको बारेमा तालिम प्रदान गरेका थिए । सम्मेलनको अन्तमा २०७८/०७९ को प्रथम त्रैमासमा तोकेको लक्ष्य प्राप्त गर्ने २९ जना कार्यालय प्रमुखहरुलाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत र सम्मान गरेका थिए । सम्मेलनले दोस्रो त्रैमासको शाखा उपशाखा र क्षेत्रको व्यवसायीक लक्ष्य निर्धारण गरेका छ । कम्पनीले बीमा जनचेतना अभिवृद्धिको लागि यो आ.व. भित्र सबै शाखा उपशाखाले आ-आफ्नो क्षेत्रमा युवा सँग महालक्ष्मी लाईफू कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेकाे छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले ‘युवा सँग महालक्ष्मी लाईफू कार्यक्रम’ विषयमा विस्तृत जानकारीको साथै तालिम प्रदान गरेका थिए ।

निर्जीवन बीमा कम्पनीले संकलन गरे २८ प्रतिशत बढी प्रिमियम, शिखरले एक अर्ब बढी उठाउँदा अन्यको कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे ९ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीले गत साउन, भदौ र असोजसम्ममा कूल ९ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन् । जुन गत वर्षको तुलनामा २७.८८ प्रतिशतले बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्ममा ७ अर्ब ५८ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए । नियामक निकाय बीमा समितिका अनुसार २० कम्पनीले गत असोजसम्ममा ७ लाख ३० हजार ९९७ वटा बीमालेख बिक्री गरी सो मात्राको प्रिमियम संकलन गरेका हुन् । जसमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा प्रिमियम संकलन गरेर अर्बौं क्लबमा प्रवेश गर्न सफल भएको छ । कम्पनीले तीन महिनामै १ अर्ब ३२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको हो । यो अवधिमा कम्पनीले ६७ हजार ०९७ वटा बीमालेख बिक्री गरिसकेको छ । त्यस्तै, सबैभन्दा बढी संख्यामा बीमालेख बिक्री गर्नेमा नेको इन्स्योरेन्स अगाडि रहेको छ । इन्स्योरेन्सले तीन महिनाभित्रमा ८१ हजार ५५६ वटा बीमालेख बिक्री गरी ८१ करोड २८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । कम्पनी बीमाशुल्कको आधारमा भने सधाझैं तेश्रो स्थानमा रहेको छ । त्यस्तै, सबैभन्दा बढी बीमाशुल्क आर्जनमा सगरमाथा इन्स्योरेन्स दोश्रो स्थानमा रहेको छ । इन्स्योरेन्सले ६६ हजार ९४० वटा बीमालेख जारी गरी ९० करोड ६७ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी, ६१ करोड देखि ६९ करोड रुपैयाँसम्म बीमाशुल्क आर्जन गर्नेमा सिद्धार्थ, एनएलजी र प्रिमियर इन्स्योरेन्स रहेका छन् । यी तीनले क्रमशः ६३ हजार, ५४ हजार र ३८ हजार वटा बीमालेख बिक्री गरिसकेका छन् । उता राष्ट्रिय बीमा कम्पनी र यूनाईटेड इन्स्योरेन्सबीच टक्कर रहेको छ । यी दुईले समीक्षा अवधिमा ४४ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् । जसमध्ये प्रिमियम संकलनमा राष्ट्रिय बीमा कम्पनी अलिकति अगाडि रहेको छ भने सबैभन्दा बढी बीमालेख बिक्री गर्नेमा यूनाईटेड इन्स्योरेन्स धेरैले अगाडि पर्न सफल भएको छ । कुनको कति ? त्यस्तै, ४० करोडभन्दा बढी प्रिमियम उठाउनेमा हिमालयन जनरल र अजोड इन्स्योरेन्स रहेका छन् । यी दुईले क्रमशः ४२ करोड ४६ लाख र ४१ करोड ४९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका समितिले जनाएको छ । समितिका अनुसार न्युनतम ३० करोड र अधिकतम ४० करोड रुपैयाँसम्म बीमाशुल्क आर्जन गर्नेमा ७ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । जसमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स र दी ओरियन्टल तथा नेपाल र एभरेष्ट इन्स्योरेन्सबीच टक्कर देखिएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र दी ओरियन्टलले क्रमशः ३६ करोड ३७ लाख र ३६ करोड २० लाख रुपैयाँ प्रिमियम उठाएका छन् । त्यसैगरी, ३४ करोड ९ लाख रुपैयाँ प्रिमियम उठाएको नेपाल इन्स्योरेन्सलाई टक्कर दिँदै एभरेष्ट इन्स्योरेन्सले ३४ करोड २ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । उता ३० करोड रुपैयाभन्दा कम बीमाशुल्क संकलन गर्नेमा तीन कम्पनी नेशनल, जनरल र सानिमा जनरल रहेका छन् । जसमध्ये सानिमा जनरल इन्स्योरेन्सले सबैभन्दा कम अर्थात २२ करोड ३७ लाख रुपैयाँ बराबरको मात्रै प्रिमियम उठाएको छ ।

गुराँस लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १६.९०६४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३४८.०९ रुपैयाँ कायम भएको छ । यससँगै सोमबारको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १३४८.०९ रुपैयाँबाटै शुरु भएको छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १५७६ रुपैयाँमा भएको थियो ।