मार्केट लिडर नेपाल लाइफ र शिखरले कति दिए सेयरधनीलाई लाभांश ?
काठमाडौं । नेपाली बीमा बजारमा दुई कम्पनीले लिड गर्दै आएका छन् । हालसम्म जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स र निर्जीवन बीमा व्यवसायतर्फ शिखर इन्स्योरेन्सले लिड गरिरहेका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको तथ्याङ्क अनुसार उनीहरु अन्य कम्पनीहरु भन्दा धेरै नै अगाडि देखिन्छन् । दोश्रो बजारमा पनि यिनीहरुको स्थान राम्रै छ । पछिल्लो कारोबारमा शिखरको सेयर मूल्य प्रतिकित्ता १ हजार ७ सय १७ रुपैयाँ र नेपाल लाइफको प्रतिकित्ता १ हजार ६ सय २९ रुपैयाँ रहेको छ । बीमा समितिको गत असोजसम्मको तथ्याङ्क अनुसार निर्जीवन बीमा व्यवसायमै लिड गरिरहेको शिखर इन्स्योरेन्सले एक अर्ब बढी बीमाशुल्क संकलन गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमै सो मात्राको बीमाशुल्क आर्जन गर्न सफल भएको छ । जुन शिखरसँग निकट प्रतिस्पर्धीको रुपमा रहेको सगरमाथा इन्स्योरेन्सको भन्दा १० करोड रुपैयाँले बढी हो । उता नेपाल लाईफले चालु आवको तीन महिनामै २ अर्ब २८ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन नेपाल लाइफको निकट प्रतिस्पर्धीको रुपमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको तुलनामा ४८ करोड रुपैयाँले बढी हो । छुट्टा छुट्टै व्यवसायमा लिड गरेका यी दुई कम्पनी बीमाशुल्कमा मात्रै होइन, अधिकांश शीर्षकमा नै अग्रस्थानमा रहेका छन् । यी दुबै कम्पनीले सेयरधनीलाई दिएको लाभांश इतिहास कस्तो छ भनेर विश्लेषण गर्ने प्रयास गरिएको छ । शिखरको हालसम्मको लाभांश इतिहास शिखर इन्स्योरेन्सले निर्जीवन बीमा व्यवसाय गर्दै आएको १७ वर्ष पुगेको छ । देशमा बीमा सेवा उपलब्ध गराई आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यसहित कम्पनीले २०६१ साल कात्तिक २६ गतेदेखि निर्जीवन बीमा व्यवसाय सञ्चालन गरेको हो । सञ्चालनमा आएको दुई वर्षपछि अर्थात आर्थिक वर्ष २०६३/६४ बाटै कम्पनीले सेयरधनीलाई लाभांश वितरण गर्न शुरु गरेको हो । लाभांश वितरण गर्न शुरु गरेदेखि १५ वर्ष यताको लाभांश इतिहास हेर्दा कम्पनीले सेयरधनीलाई १० वर्षको लाभांश खुवाउन सफल भएको देखिन्छ । यो अवधिमा कम्पनीले न्यूनतम ७.५० प्रतिशतदेखि र अधिकतम ६० प्रतिशतसम्म लाभांश वितरण गरेको छ । कम्पनीका सेयरधनीले पहिलो पटक आर्थिक वर्ष २०६३/६४ को नाफाबाट लाभांश पाएका थिए । उनीहरुले कम्पनीको पहिलो लाभांश स्वरुप ७.५० प्रतिशत लाभांश पाएको देखिन्छ । त्यसपछि कम्पनीले आर्थिक वर्ष २०६४/६५ को नाफाबाट भने सेयरधनीलाई लाभांश वितरण गरेको देखिएन । कम्पनीको लाभांश इतिहास अनुसार इन्स्योरेन्सले आर्थिक वर्ष २०६५/६६ र आर्थिक वर्ष २०६६/६७ को नाफाबाट सेयरधनीलाई क्रमशः १३.५० र १२.६३ प्रतिशत लाभांश वितरण गरेको रहेछ । जुन पहिलो वर्षको तुलनामा बढी हो । त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०६७/६८ को लाभांश वितरण गर्न भने सकेन । त्यसपछि भने कम्पनीले ६ वर्षसम्म लगातार सेयरधनीलाई लाभांश वितरण गरेको थियो । इतिहासलाई केलाउँदा कम्पनीले आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७३/७४ सम्म त्यसयताकै उच्च लाभांश वितरण गरेको देखिन्छ । सोही आवमध्ये कम्पनीले सबैभन्दा बढी आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई ६० प्रतिशत लाभांश वितरण गरेको छ । जुन कम्पनीले हालसम्म वितरण गरेको मध्येकै उच्च हो । त्यसपछि पुनः दुई वर्ष कम्पनीले सेयरधनीलाई लाभांश खुवाउन सकेन । आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ को लाभांश नबाढेको कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लाभांश घटाएको देखिन्छ । कम्पनीले उक्त आवको नाफाबाट भने सेयरधनीलाई २७.७६९ प्रतिशत मात्रै लाभांश खुवाएको छ । त्यस्तै, कम्पनीले हालसम्म गत आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरिसकेको छैन । नेपाल लाईफको १२ वर्षे लाभांश इतिहास नेपाल लाईफ इन्स्योरेन्सले २०५८ साल वैशाख २१ गतेदेखि जीवन बीमा व्यवसाय सञ्चालन गरेको हो । शिखरभन्दा जेठो यो इन्स्योरेन्सले जीवन बीमा व्यवसायमा २० वर्ष पार गरिसकेको छ । आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको कम्पनीको लाभांश इतिहास हेर्दा कम्पनीले अधिकांश वर्ष सेयरधनीलाई लाभांश बाढेको देखिन्छ । यो अवधिमा इन्स्योरेन्सले सेयरधनीलाई न्यूनतम २० प्रतिशत र अधिकतम १२६.३२ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । नेपाल लाइफले आर्थिक वर्ष २०६५/६६ मा न्यूनतम २० प्रतिशत लाभांश वितरण गरेको थियो भने आर्थिक वर्ष २०६८/६९ मा सबैभन्दा बढी १२६.३२ प्रतिशत लाभांश वितरण गरेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०६५/६६ मा लाभांश वितरण गरेको इन्स्योरेन्सले त्यसपछिको दुई आर्थिक वर्षको लाभांश नै वितरण गरेन । र, एकैपटक आर्थिक वर्षमा २०६८/६९ मा बम्पर लाभांश घोषणा गर्यो, जुन हालसम्मकै उच्च हो । त्यसपछि यताको दुई आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को भने कम्पनीले लाभांश घोषणा गरेको छैन ।
रिलायन्स लाइफले बीमाशुल्कसँगै खुद नाफामा गर्यो प्रगति, बलियो बनाउँदै बीमाकोष
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७३ करोड ५५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५८.१० प्रतिशतले बढी हो । इन्स्योरेन्सले गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा ४६ करोड ५२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ । गत वर्ष असोज मसान्तसम्म ३ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको इन्स्योरेन्सले चालु आवको सोही अवधिसम्म ४ करोड १५ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २६ करोड ३४ लाख रुपैयाँ र बीमा कोषमा ३ अर्ब २ करोड रुपैयाँ सञ्चित छ । जुन गत वर्षको तुलनामा क्रमशः ५२ र ११६.५१ प्रतिशतले बढी हो । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ७.९२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११३.९४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६३.४८ गुणा बढी छ । कम्पनीले यस अवधिमा ९१ हजार ९८९ वटा बीमालेख जारी गरेको छ । त्यस्तै, कम्पनीले १९१ वटा दावीबाट १६ करोड ७३ लाख रुपैयाँ बराबरको भुक्तानी गरिसकेको छ भने ४८ वटा दावीको ४३ लाख ४९ हजार रुपैयाँ बराबरको दावी भुक्तानी हुन बाँकी छ ।
राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोषबीच जीवन बीमा सम्झाैता
काठमाडौं । राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोषबीच जीवन बीमा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार राष्ट्रिय बीमा संस्थानले पाली सेनामा कार्यरत सकल दर्जाहरुलाई राष्ट्रिय वाणिज्य बैंकबाट प्रदान गरिने सहुलयितपूर्ण आवास कर्जाको सुरक्षण गर्ने बीमा सेवा प्रदान गर्ने छ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको समुपस्थितिमा सम्पन्न उक्त सम्झौतापत्रमा नेपाली सेनाका तर्फबाट सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्द कुमार अधिकारी र संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरेका थिए । उक्त बीमा सेवाले सेनालाई सहुलयितपूर्ण आवास कर्जाको सुरक्षण गरेर राहत पुर्याउने बीमा संस्थानले जनाएको छ ।