नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रसाईले दिए राजीनामा, संचालकसँग कुरा मिलेन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पदबाट राजीनामा दिएका छन् । उनले तिहार विदाकै अवधिमा हिजो (आइतबार) पदबाट राजीनामा दिएका हुन् । प्रसाईलाई ८ महिनाअघि ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो । बीमा समितिमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट प्रसाई समिति छोडेर नेपाल लाइफको डेपुटी प्रमुख कार्यकारी अधिकृत बनेर आएका थिए । करिब १ वर्ष डेपुटी प्रमुख कार्यकारी अधिकृत बनेपछि प्रसाईलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत बनेका थिए । संचालक समितिमा कुरा नमिलेपछि उनले राजीनामा दिएका बताइएको छ । गत भदौमा संचालक समितिका केही पदाधिकारीसँग उनको विवाद भएको थियो । सो विवादयता संचालक समितिले उनलाई हटाउने तयारी गरेको थियो भने उनले पनि पदबाट बाहिरिन खोजेका थिए । संचालक समिति र व्यवस्थापनबीच रणनीतिक विषयमा फरक अवधारणा आएपछि आफूले राजीनामा दिएको प्रसाईले बताए । ‘त्यस्तो धेरै केही समस्या होइन, संचालक समिति र व्यवस्थापनबीच रणनीतिक विषयमा फरक मत भयो, यस्तो भएपछि म बाहिरिँदा नै उत्तम हुन्छ भन्ने लागेर मैले हिजो राजीनामा दिएको हूँ,’ प्रसाईले विकासन्युजसँग भने । प्रसाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा भएपनि सेल्स कमिटीमा भने थिएनन् । उनलाई संचालक समितिले सेल्स हेर्नु पर्दैन भनेर अन्य जिम्मेवारी दिएको थियो । प्रसाईको कार्यकालमा कम्पनीले सेयर बजारमा लगानी गरेर १ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । नेपाल लाइफका केही पुराना प्रडक्ट बन्द गरेर नयाँ प्रडक्ट ल्याउने योजनामा प्रसाई थिए ।

एशियन लाईफ इन्स्योरेन्सको भुरीगाउँ शाखा उद्घाटन

काठमाडाैं । एशियन लाईफ इन्स्योरेन्सले बर्दियाको भुरीगाउँमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नती गरी कम्पनीको ४४ औं शाखाको रुपमा बुधबारदेखि संचालनमा ल्याएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरेका थिए । यस कम्पनीको कूल ४४ वटा शाखा र १०४ वटा उपशाखा संचालनमा रहेका छन् । आ.व. २०७८/७९ को असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष करिब २७ अर्ब ७५ करोड रहेको छ । कम्पनीले आ.व.२०७८/७९ को असोज मसान्तसम्ममा १ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ ।

मालिका र बेलबारीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कार्तिक १५ गते एकै दिन विभिन्न ३ स्थानमा युवासँग महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम संचालन गरेको छ । मोरङको बेलबारीस्थित बेलबारी अपांग सेवा संघ मोरङको भवनमा संचालित कार्यक्रममा २३ जना अपांङ युवाहरुको सहभागिता रहेको थियो । कम्पनीका उपक्षेत्रिय प्रमुख हिरा निरौलाले तालिम दिएका थिए । यस्तै म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं. ७ मा रहेको किसानी माध्यमिक विद्यालय बिमका प्लस टु का विद्यार्थीहरुलाई ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रममा सहभागि गराइएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष हर्कमान जुग्जालीको अध्यक्षतामा संचालित बीमा जागरण कार्यक्रममा ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागि विद्यार्थीहरुलाई कम्पनीका क्षेत्रिय प्रमुख जमुना आचार्यले तालिम दिएका थिए । त्यसैगरी सोही दिन दिउँसो किसानी मावि प्राविधिक शिक्षालयमा पनि युवासँग महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम संचालन गरिएको थियो । प्राविधिक क्षेत्रका ८२ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख जमुना आचार्यले बीमा बारेको तालिम प्रदान गरेकी थिइन् ।