बम्पर लाभांश घोषणा गरेको एशियन लाइफमा झुम्मिए लगानीकर्ता, बढ्यो सेयर मूल्य

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । कार्त्तिक ३० गते बेलुका बसेको संस्थाको सञ्चालक समितिले सेयरधनीलाई २७ प्रतिशत लाभांश घोषणा गरेको हो । उच्च लाभांश घोषणा गरेसँगै कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ । बजारमा कम्पनीको उच्च कारोबार भएको छ । कारोबार खुलेको ३० मिनेटमै कम्पनीको १० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । त्यस्तै, इन्स्योरेन्सको सेयर मूल्य ५४ रुपैयाँले बढेर प्रतिकित्ता १३४८ रुपैयाँ पुगेको छ । जुन मंगलबारको तुलनामा ४.२१ प्रतिशतले बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ नाघ्ने छ । प्रस्तावित २७ प्रतिशत लाभांश आर्थिक वर्ष २०७०/७१ यताकै उच्च हो । कम्पनीले आर्थिक वर्ष २०७०।७१ को नाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २१.०५ प्रतिशत र आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आइएमई जनरल इन्स्योरन्सले नाफासँगै बीमाशुल्क पनि बढायो

काठमाडौं । आइएमई जनरल इन्स्योरन्सको खुद नाफा २२.७९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ३ महिना अर्थात असोज मसान्तसम्ममा ३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आव २०७७/७८ को सो अवधिमा ४ करोड ३५ लाख लाख रुपैयाँ आर्जन गर्न सफल भएको हो । जुन रकमको आधारमा ८० लाख ८५ हजार रुपैयाँले बढी हो । समीक्षा अवधिमा कम्पनीले १६ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५७ लाख ५२ हजार रुपैयाँ बढी हो । कम्पनीले अघिल्लो आवको असोज मसान्तसम्ममा १५ करोड ८० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । चुक्ता पुँजी एक अर्ब १५ रुपैयाँ भएको यस कम्पनीको जगेडा कोषमा २५ करोड ८३ लाख रुपैयाँ बढी छ । अघिल्लो वर्ष उक्त कोषमा २२ करोड ७८ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, बीमा कोषको रकम २९.४४ प्रतिशतले बढेर ४८ करोड ४६ लाख रुपैयाँ पुगेको छ । हालसम्म कम्पनीले ३१ हजार ६२० वटा बीमालेख जारी गरी कूल ३७ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, १ हजार २९९ वटा दाबीबाट कूल १९ करोड १६ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १५.०५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६४.१९ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २४४ रुपैयाँ र पीई अनुपात ६८.४४ गुणा रहेको छ ।

आईएमई लाइफको प्रिमियम ५० प्रतिशत र बीमाकोष ९४ प्रतिशतले बढ्यो

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ५० प्रतिशत बढी बीमाशुल्क (प्रिमियम) संकलन गरेको छ । गत आवको पहिलो तीन महिनामा ५२ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको इन्स्योरेन्सले चालु आवको सो अवधिमा ७९ करोड २४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्न सफल भएको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा सामान्य बढेर ४ करोड ३६ लाख रुपैयाँ पुगेको छ । हाल संस्थाको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । जगेडा कोषमा ५१ करोड ७० लाख र जीवन बीमा कोषमा ३ अर्ब ३७ करोड रुपैयाँ छ । जुन गत आवको असोज मसान्तको तुलनामा क्रमशः २९.५७ र ९४.९७ प्रतिशतले बढेको छ ।