चन्द्रगढी र पोखरामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न
काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम चन्द्रगढी र पोखरामा सम्पन्न भएको छ । चन्द्रगढीकाे विरेन्द्र नमुना क्याम्पस र पाेखराकाे सरस्वती टीका माविमा कार्यक्रममा सम्पन्न भएकाे थियाे । चन्द्रगढीकाे कार्यक्रममा ५० भन्दा बढी र पाेखराकाे कार्यक्रममा १०० भन्दा बढी युवाहरु सहभागी थिए । कार्यक्रममा बीमाको महत्व तथा आवश्यकताबारे जानकारी दिइएकाे थियाे । पाेखरामा भएकाे कार्यक्रममा पाेखराका वडा नं ३३ का अध्यक्ष शिव प्रसाद आचार्यले बीमाले जीवन र परिवारको आर्थिक र पारिवारिक सुरक्षा प्रदान गर्ने हुँदा निश्चिन्त भएर बीमा कार्यमा लाग्न युवाहरुलाई आग्रह गरेका थिए ।
शिवम् सिमेन्टले निर्माणकर्मीकाे गरिदियाे ५ लाखकाे दुर्घटना बीमा
काठमाडौं । शिवम् सिमेन्टले देशका विभिन्न स्थानहरुमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अन्तर्क्रिया कार्यक्रममा कम्पनीले भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागि निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको छ । दैनिक निर्माण कार्यमा खटिने निर्माणकमीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुने भएकाले उक्त जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको जनाएकाे छ । यसकाे पहिलो चरण अन्तर्गत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजारभन्दा बढि निर्माणकर्मीहरुसँग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गराईसकेको कम्पनीले जानकारी दिएकाे छ । उक्त अन्तर्क्रिया कार्यक्रममा दक्ष एवंम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो । कार्यक्रममा सम्बन्धीत क्षेत्रका शिवम् सिमेन्टका वितरकहरु, उद्योगी, व्यवसायी लगायतका उपस्थिति रहेको थियो ।
काभ्रेमा स्वास्थ्य बीमा गर्ने १ लाख पुगे, उपचार गराउन जाँदा पर्दैनन् प्राथमिकतामा
बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाखको हारहारी पुगेको छ । स्वास्थ्य बीमा गर्ने नागरिकले उपचारको क्रममा स्वास्थ्य संस्था तथा अस्पतालबाट व्यहोर्नुपरेको विभिन्न उल्झन, झण्झटिलो व्यवस्था र उपचारका क्रममा स्वास्थ्य बीमा गर्नेलाई भन्दा अन्य बिरामीलाई पहिलो प्राथमिकता दिएको पाइएकाले बीमाप्रति चासो नदेखाएको नागरिकको गुनासो छ । सरकारले नागरिकको उपचारलाई थप सहज बनाउनका लागि उपलब्ध गराएको स्वास्थ्य बीमा कार्यक्रम ल्याएकामा बीमा गरेका नागरिकलाई प्राथकिता नदिएकोे भन्दै नवीकरणमा रुचि कम देखाएको पाइएको हो । जिल्लामा हालसम्ममा ९७ हजार ४३७ जनाले स्वास्थ्य बीमा गरिसकेको धुलिखेलस्थित स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालयले जनाएको छ । उक्त कार्यालयका दर्ता अधिकारी सरस्वती सिग्देल लुइँटेलका अनुसार धुलिखेल नगरपालिकामा २१ हजार छ, बनेपा नगरपालिकामा २२ हजार ६३, बेथानचोक गाउँपालिकामा एक हजार ७००, चौरीदेउराली गाउँपालिकामा एक हजार ४८६, खानीखोला गाउँपालिकामा ५५६, महाभारत गाउँपालिकामा ८८५, मण्डनदेउपुर नगरपालिकामा नौ हजार ५७६, नमोबुद्ध नगरपालिकामा पाँच हजार ३४६, पनौती नगरपालिकामा १५ हजार ९४६, पाँचखाल नगरपालिकामा १२ हजार ४०४, रोशी गाउँपालिकामा दुई हजार २२५, तेमाल गाउँपालिकामा एक हजार २७४ र भुम्लु गाउँपालिकामा तीन हजार २७० जनाले स्वास्थ्य बीमा गरिसकेका छन् । बीमा गरेकामध्ये करिब ७५ प्रतिशतले नवीकरण गरेको पाइएको र तीमध्ये पहिलो वर्षमा करिब ४५ प्रतिशतले मात्रै नवीकरण गरेकामा दोस्रो वर्षमा आइपुग्दा सङ्ख्या बढेर करिब ७५ प्रतिशत पुगेको उनले बताए । ‘बीमा गरेका नागरिकले तोकिएका अस्पतालमा उपचार गराउन जाँदा कहिले विवरण नमिलेको कारण देखाउँदै त कहिले विभिन्न बहाना बनाएर उपचारमा कम प्राथमिकता दिएको गुनासो गरेका थिए । त्यसलाई व्यवस्थित गर्न सम्बन्धित अस्पतलालमा आग्रह गरिएपछि सेवामा सुधार आएकाले नवीकरण गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको छ ।’ उनले भने, ‘अझैपनि त्यसलाई व्यवस्थित गर्दै जाने हो भने नवीकरण गर्नेको सङ्ख्यामा वृद्धि हुँदै जाने देखिन्छ ।’ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेपछि सङ्ख्या बढाउन सबै वडामा बीमा दर्ता सहयोगी खटिरहेका कार्यालयका दर्ता अधिकारी लुइँटेलको भनाइ थियो । बीमा गर्ने नागरिकका लागि जिल्लास्थित धुलिखेल अस्पताल र मेथिनकोट अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, मेथिनकोट प्राथमिक स्वास्थ्य केन्द्र र सुनथान प्राथमिक स्वास्थ्य केन्द्र तोकिएको छ । पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र तोकिए पनि विविध कारणले त्यहाँबाट सेवा दिन नसक्ने जानकारी आएको उनले बताए । बीमा गराउनका लागि जानकारी गराउने र र नवीकरण गर्नेको विवरण अध्यावधिक गरे अहिलेको सङ्ख्या अझ बढ्नसक्ने कार्यालयले जनाएको छ । रासस