एशियन लाईफको नयाँ योजनाः छोराछोरीको स्नातकसम्मको खर्च व्यहोर्ने, अग्रिम भुक्तानी पनि पाइने
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ‘बाल उच्च शिक्षा (अग्रिम भुक्तानी सावधिक)’ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले सन्तानको उच्च शिक्षाको लागी आवश्यक पर्ने खर्चको सहज व्यवस्थापन गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त योजना ल्याएको हो । उक्त नयाँ योजना कम्पनीका संचालक समिति अध्यक्ष दिपककुमार श्रेष्ठ, संचालक समिति सदस्यहरु सजल मास्के, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ र कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाईंले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । योजना अन्तर्गत नवजात शिशुदेखि १३ वर्ष उमेरसम्मको बालबालिकाको १ करोड रुपैयाँ बिमाङ्कसम्म जीवन बीमा गर्न सकिन्छ । बीमित बच्चाको उमेरको आधारमा कक्षा ११ देखि स्नातक तहसम्मको शिक्षण शुल्क व्यहोर्न सघाउ पुग्ने गरी किस्ताबन्दीरुपमा बीमांकको रकम भुक्तानी गरिने सुविधा भएकाले अभिभावकहरु यो बीमाको माध्यमबाट छोराछोरीको उच्च शिक्षाको लागी ढुक्क हुने इन्स्योरेन्सले जनाएको छ । त्यस्तै, बीमित बच्चा १६, १७, १८, १९ र २० वर्ष पुरा भएको दिनमा क्रमशः बीमांकको २५, १५, २५, २० र १५ प्रतिशत रकम भुक्तानी गरिनेछ । यो बाहेक बीमा अवधि समाप्तीमा बीमित बच्चालाई नियमानुसारको बोनस रकम समेत प्रदान गरिने इन्स्योरेन्सले जनाएको छ । यसबाहेक तोकिएको अवधि पुरा हुनुभन्दा अगाडी बीमितलाई रकम खाँचो परेको अवस्थामा बीमालेखको शर्तको अधिनमा रही १२ महिना अघि नै अग्रिम भुुक्तानी रकम प्राप्त गर्न सकिने सुविधा समेत रहेको कम्पनीले जानकारी गराएको छ । यो बीमा योजनामा बीमा अवधिभित्र बीमित बच्चाको मृत्यु भएमा बीमाङ्कको २५ प्रतिशत रकम तत्काल भुक्तानी दिइनेछ । बीमाङ्कको ७५ प्रतिशत रकम र मृत्यु हुँदासम्मको आर्जित बोनश एकमुष्ठ रकम बीमा अवधि समाप्ती भएपछि भुक्तानी दिइनेछ । यसरी रकम भुक्तानी गर्दा अग्रिम भुक्तानी गरिएको रकम कट्टा गरिने छैन । यस बीमा योजना अन्तर्गत दुर्घटना मृत्यु लाभ र वार्षिक शैक्षिक सुविधा समेत रोज्न सकिने इन्स्योरेन्सले जानकारी गराएको छ ।
हिमालयन रिले रेमिट्यान्सपछिको बढी विदेशी मुद्रा भित्र्याउँछः शेखर गोल्छा (भिडियोसहित)
यतिबेला हिमालयन रिइन्स्योरेन्स कम्पनीले बीमा बजार तताएको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई सम्भव भएसम्म नेपाली पुनर्बीमा कम्पनीहरुमा नै पुर्नबीमा गराउन निर्देशन दिएपछि यसको पक्ष र विपक्षमा विचारहरु सार्वजनिक भैरहेका छन् । कतिपयले बीमा समितिको निर्देशनले बीमा क्षेत्रलाई ठूलो जोखिममा पारेको बताइरहेका छन् भने कतिपयले नयाँ व्यवस्थाको कारण पुनर्बीमा मार्फत विदेशीले ठूलो मात्राको विदेशी मुद्रा देशभित्रै रहने बताइरहेका छन् । आलोचकहरुले बीमा समितिको पछिल्लो निर्देशन हिमालयन रिइन्स्योरेन्सलाई फाइदा हुने गरी जारी गरेको भन्दै बीमा समितिको आलोचना पनि गरिरहेको छन् । वास्तविकता के हो त ? उक्त कम्पनीको अध्यक्ष शेखर गोल्छासँग हामीले सोधेका छौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई कसरी अगाडि बढाउने योजनामा हुनुहुन्छ ? हिमालयन रिन्स्योरेन्स कम्पनी अहिले नेपालमा थप एउटा पुनर्बीमा कम्पनीका रुपमा स्थापना भएको छ । पहिले नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी मात्रै थियो । नेपालमा अर्को पुनर्बीमा कम्पनीको आवश्यकता महसुस गरेर नै हामीले हिमालयन रिन्स्योरेन्सलाई सञ्चालनमा ल्यायौं । अहिले वार्षिक २३ अर्ब रुपैयाँ नेपालबाट बाहिरिरहेको छ । सोधान्तर स्थिती गम्भीर रुपमा घटिरहेको छ । यस्तो अवस्थामा हामीले विदेशी मुद्रालाई बचाउन सक्ने हरेक उपायलाई प्रोत्साहन गर्नु पर्ने अवस्था छ । सोही कारणले पनि हिमालयन रिइन्स्योरेन्स नेपाली बजारमा आएको हाे । बीमा समितिले पनि विभिन्न प्रक्रियाबाट हामीलाई लाइसेन्स दियो । अहिले काम पनि सुरु गरिसकेका छौं । यो कम्पनीको व्यवस्थापन टीममा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त व्यक्ति आउनु भएको छ । उहाँहरुले नै यो कम्पनीको नेतृत्व गरिरहनु भएको छ । हामी कम्पनीका रुपमा नयाँ भएपनि अनुभवका आधारमा पूरानो कम्पनी भएका छौं । हाम्रो व्यवस्थापनमा १०/१५ वर्ष अनुभव भएका व्यक्तिहरु हुनुहुन्छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले नै पुनर्बीमामा ३०/४० वर्ष काम गरेको अनुभव छ । वार्षिक बाहिरिरहेको २३ अर्ब रुपैयाँलाई रोक्नको लागि यस्ता कम्पनीहरुले महत्वपूर्ण काम गर्न सक्छन् भन्ने हाम्रो बुझाई छ । हामीले बाहिरको पुनर्बीमा विजनेस गर्नको लागि प्रयास गरिरहेका छौं । हाम्रो टीम अनुभवी छ । भारत लगायतका देशबाट हामी विजनेश ल्याउन सक्छौं । र नेपालको सोधान्तर घाटाको अवस्थालाई कम गर्न सक्छौं । हामीले ठूलो लक्ष्य लिएका छौं ।हामीले लक्ष्य लिए अनुसारको काम गर्न सक्यौं भने रेमिट्यान्सपछि बढी विदेशी मुद्रा नेपाल ल्याउन सहयोग गर्ने कम्पनी हिमालयन रिइन्स्योरेन्स बन्न सक्छ । कन्ट्री रेरिटङ बिनै विदेशबाट विजनेस ल्याउन सम्भव छ, रेटिङ पाउन सहज छ ? कन्ट्री रेटिङ नपाउनु हाम्रो पनि कमजोरी छ । कन्ट्री रेटिङ बिना विजनेस अगाडि बढाउन चुनौति नै हुन्छ । तर, मलाई आशा छ, हामी चाँडै नै कन्ट्री रेटिङ पनि पाउँछौं । हिमालयन रिइन्स्योरेन्सले रेटिङको प्रक्रिया थालिसकेको छ । जनवरीसम्म हामी रेटिङ पाउन सक्छौं । गत साता मात्रै बीमा समितिले बीमा कम्पनीहरुलाई नेपालको पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गर्नु भनेर निर्देशन दियो, त्यसको हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई कत्तिको असर पर्छ ? यो बीमा समितिको निर्णय हो । उनीहरुले आफ्नै किसिमबाट यो निर्णय गरेका होलान् । जस्तै, मैले तपाईंलाई वार्षिक २३ अर्ब रुपैयाँ विदेश जान्छ भन्ने जुन कुरा गरेँ । उनीहरुले पनि यो विषयलाई मनन् गरे होलान् । नेपालमा भएको सम्पूर्ण बीमा कम्पनीहरुको बीमा गर्ने क्षमता दुई पुनर्बीमा कम्पनीमा मात्रै छैन । यो हाम्रो देशका लागि राम्रो विषय पनि होइन। भारत बंगलादेशमा पनि यस्तो अभ्यास छ । यो विषयको विज्ञ भने म पक्कै पनि होइन । बीमा समितिको निर्देशनपछि बिमकहरुले यसको विरोध गरिरहेका छन्, उनीहरु पुनर्बीमा भनेको जोखिम विविधिकरण गर्ने व्यवसाय हो, यस्तो निर्णय गर्दा जोखिम केन्द्रिकृत हुन्छ र महाविपत्ति आउँदा बीमा उद्योगलाई नै थेग्न नसक्ने अवस्था आउँछ भन्ने छ, यसलाई तपाईं कसरी सम्बोधन गर्नुहुन्छ ? अहिले नेपालमा दुइटा मात्रै पुनर्बीमा कम्पनी छन् । उनीहरुले पनि जोखिम विविधिकरणको लागि पुनर्बीमा गर्न बाहिर नै जाने हो ।सबै जोखिम नेपालमा पनि राख्न सकिँदैन । हिमालयन रिन्स्योरेन्सले पनि विदेशका ठूला पुनर्बीमा कम्पनीहरुसँग नै विजनेस गर्ने हो । हामी सबैले बीमा कम्पनीको नीति निर्देशन अनुसार नै चल्नु पर्छ । हामीले धेरै जोखिम लिन सक्दैनौं । हामीले हामीमा भएको जोखिम पनि अन्य पुनर्बीमा कम्पनीहरुलाई हस्तान्तरण नै गर्नु पर्छ । जोखिम वहनका लागि पूँजी पनि हुर्नु पर्ने हुन्छ, हिमालयन रिइन्स्योरेन्सको १० अर्ब मात्रै पुँजी छ, पुँजी वृद्धिबारे कम्पनीले के सोचिरहेको छ ? हामीले आईपीओमा जाने योजना पनि बनाएका छौं । साधारणसभाले पनि आईपीओको लागि प्रक्रिया गर्न भनिसकेको छ । बीमा समितिबाट हामीले प्रारम्भिक स्वीकृति पाइकसेका छौं । स्वीकृतिका लागि धितोपत्र बोर्डमा पनि जानु पर्ने आवश्यकता छ । अन्य देशको कम्पनीको पूँजी र हाम्रो देशको बजार अनुसार हिमालयन रिन्स्योरेन्स कम्पनीको पूँजी अहिलेको लागि ठीकै छ जस्तो मलाई लाग्छ । अब पब्लिकमा गएपछि आवश्यक पर्यो भने प्रमोटरहरुले पनि पूँजी थप्न सक्नु हुन्छ । अहिले तपाईंहरुको प्रतिस्पर्धीका रुपमा नेपाल सरकारको स्वामित्वमा हरेको नेपाल पुनर्बीमा कम्पनी पनि छ, हिमालयन रिन्स्योरेनस कम्पनी पनि पुनर्बीमा गर्ने भनेर आएको छ, बजारमा जान केही जोखिम देख्नु भएको छ ? हामी प्रतिस्पर्धीभन्दा पनि समकक्षी हो । नेपाल पुनर्बीमा कम्पनीलाई हामीले प्रतिस्पर्धीका रुपमा हेरेका छैनौं। कसरी नेपाली बीमा बजारलाई बढाउने भन्ने उद्धेश्यका साथ हामी काम गर्छौं । विज्ञहरुका अनुसार बीमा कम्पनीहरुको लगानी पुनर्बीमा हुँदैन । हामी सबैका साझा उद्धेश्य भनेको नेपाली बीमा बजार बढाउने हो । जोखिम वहन गर्ने हो । चुनौति त जहाँ पनि हुन्छन् नै । बीमा कम्पनीहरुमा त्यसका प्रवद्र्धकहरुले लगानी गर्न पाइँदैन, तर, पुनर्बीमा कम्पनीमा प्रमोटरहरुले नै बीमा गर्ने गरेको पाइन्छ, यो अभ्यासलाई तपाईंले कसरी लिनु भएको छ ? अन्य देशहरुमा पाइँदैन । नेपालमा पनि यसको जोखिम विश्लेषण गर्न आवश्यक छ । यो अभ्यास गर्यो भने हाम्रो बीमा बजार बलियो हुन्छ कि कमजोर हुन्छ, त्यो विषय अध्ययन गर्न आवश्यक छ । तर,अन्य देशहरुमा पुनर्बीमा कम्पनीहरुमा बीमा कम्पनीहरुको लगानी हुँदैन । भिडियाे:
महालक्ष्मी लाईफकाे जर्नि टु सक्सेस कार्यक्रम सम्पन्न
काठमाडाैं । महालक्ष्मी लाईफले काठमाडाैमा जर्नि टु सक्सेस विषयमा एक दिने सेमिनार सम्पन्न गरेको छ । कार्यक्रममा बीमा व्यवसायलाई व्यवसायिक कसरी बनाउने, कारोबार गरिरहेता पनि सफलताको बाटोमा कसरी अगाडि बढ्ने र प्राप्त सफलतालाई निरन्तरता कसरी दिने विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा संचालन भएको उक्त सेमिनारमा उपत्यका भित्रका एघार शाखाहरुमा कार्यरत निश्चित व्यवसाय गरेका लिडर अभिकर्ताहरु सहभागी थिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सफल हुन चालेका कदम तथा भोगेका अनुभवहरु प्रस्तुत गरेर व्यवहारिक प्रशिक्षण दिएका थिए । कम्पनीका चिफ मार्केटिङ अफिसर प्रशान्तराज धमलाले बीमा व्यवसायको बजारीकरण बारेमा प्रशिक्षण दिएका थिए ।