गुराँस लाइफ इन्स्योरेन्सले दियाे काेराेना मृत्यु दावी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले इलाम शाखाले दुई बीमितको १२ लाख बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले इलाम नगरपालिका ९ का स्वर्गीय उमेश ढकाल र इलाम नगरपालिका ५ का स्वर्गीय फूर्वा तामाङ्गको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कोरोना संक्रमणको कारण उनीहरुको मृत्यु भएको थियो । इन्स्योरेन्स कम्पनीले ढकालको परिवारलाई ६ लाख ३० हजार ५ सय र तामाङको परिवारलाई ५ लाख ८२ हजार रुपैंयाँको चेक हस्तान्तरण गरेको छ । हालसम्म इलाम शाखाले एक करोड २० लाख रुपैंयाँ भन्दा बढीको मृत्यु दाबी भुक्तानी गरिसकेको छ ।  

बीमा समितिको सञ्चालकमा रिजाल नियुक्त

काठमाडौं । बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त भएका छन् । सरकारले उनलाई बीमितहरुको तर्फबाट समितिको सञ्चालकमा नियुक्त गरेको हो । समितिकाे सञ्चालकमा यसअघि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ रहेका थिए । उनले पदबाट राजीनामा दिएपछि रिक्त रहेकाे पदमा  सरकारले रिजाललाई सञ्चालककाे रुपमा नियुक्त गरेकाे हाे । उनले अर्थमन्त्रालयबाट आफु नियुक्त भएको पत्र प्राप्त गरिसकेको जानकारी दिए । स्थायी घर दाङ भएका रिजालले अर्थशास्ज्ञमा स्नातकोत्तर गरेका छन् भने अध्यापन पेशामा पनि उनी आवद्द छन् ।  उनले बीमा क्षेत्रको समसामियक नीति निर्माण गर्न आफ्नो विशेष भूमीका र सक्रियता रहने पनि जानकारी दिए ।

एनपीआईमा जोडिने पहिलो निर्जीवन बीमा कम्पनी बन्यो प्रिमियर इन्स्योरेन्स

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) पनि नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमा आवद्ध भएको छ । आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्ने उद्देश्यले कम्पनीले उक्त प्रणालीमा आवद्ध भएको हो । जसका लागि दुई कम्पनीबीच सम्झौता भएको छ । सम्झौता पत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात प्रिमियर इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिने पहिलो नन-लाईफ इन्स्योरेन्स कम्पनी बनेको छ । जसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल-आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी इन्स्योरेन्स दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यसले प्रिमियर इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् । यसरी एनपीआईमा जोडिए पछि प्रिमियर इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने छ । एनपीआईसँग गरिने उक्त इन्टिग्रेसनमा प्रिमियर इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रा. लि.को पनि महत्वपूर्ण भूमिका रहेको छ जसले प्रिमियर इन्स्योरेन्स लगायत १८ भन्दा बढी नन-लाईफ इन्स्योरेन्सलाई कोर प्रणाली प्रदान गर्दै आएको छ । प्रिमियर इन्स्योरेन्स लगायत ३० भन्दा बढी लाईफ तथा नन-लाईफ इन्स्योरेन्स कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइन मार्फत कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन् । साथै ७ लाईफ इन्स्योरेन्स कम्पनीहरु यस अघि नै एनपीआईमा आबद्ध रहेका छन् । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरीएको एनपीआई सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायतका ६८ गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । सन् १९९४ मा स्थापना गरिएको प्रिमियर इन्स्योरेन्स विभिन्न प्रतिस्थित व्यवसायिक समूहहरु तथा उद्योगपतिद्वारा स्थापना गरिएको आईएसओ सर्टिफाइड नन-लाईफ इन्स्योरेन्स कम्पनी हो । इन्स्योरेन्सले नयाँ र पृथक प्रोडक्टहरुद्वारा गुणास्तरीय सेवा प्रदान गर्दै आएको छ । साथै, एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ ।