३९ बीमा कम्पनीले उठाए ७३ अर्ब बढी प्रिमियम, कसको कति ? (सूचीसहित)

काठमाडौं । हाल बीमा क्षेत्रको व्यवसाय १९ प्रतिशतले बढेको छ । २०७७ मंसिरको तुलनामा बीमा कम्पनीहरुले २०७८ मंसिर महिनासम्ममा आफ्नो व्यवसाय १८.८७ प्रतिशत अर्थात ११ अर्ब ६२ करोड रुपैयाँले बढाउन सफल भएका हुन् । बीमा समितिका अनुसार जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्दै आएका ३९ कम्पनीले २०७८ मंसिर महिनासम्ममा ७३ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जुन एक वर्ष अघि अर्थात २०७७ मंसिर महिनासम्ममा ६१ अर्ब ६० करोड रुपैयाँ थियो । जसमध्ये जीवन बीमा व्यवसाय गर्दै आएका १९ कम्पनीले चालु आर्थिक वर्षको ५ महिनासम्ममा ५७ अर्ब ७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, निर्जीवन बीमा व्यवसाय गर्दै आएका २० कम्पनीले १५ अर्ब ४२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्न सफल भएका छन् । जीवन बीमा व्यवसाय सञ्चालन गर्नेमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी १५ अर्ब ४४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । र, महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैभन्दा कम ५४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । यता निर्जीवन बीमा व्यवसाय सञ्चालन गरेका कम्पनीमध्ये सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सले चालु आवको ५ महिनामा एक अर्ब ६७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, साढे १ अर्ब भन्दा कम र एक अर्ब भन्दा बढी प्रिमियम उठाउन ४ कम्पनी सफल भएका छन् । सगरमाथाले एक अर्ब ४५ करोड, नेको इन्स्योरेन्सले एक अर्ब ३० करोड, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब ११ करोड र एनएलजी इन्स्योरेन्सले एक अर्ब रुपैयाँ बढीको बीमाशुल्क आर्जन गरेका छन् । सानिमा जनरल इन्स्योरेन्सले भने सबैभन्दा कम बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत साउनदेखि मंसिर महिनासम्ममा ३७ करोड ४१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको समितिले जनाएको छ ।

बीमाको दर वृद्धि र नयाँ सर्तहरू सम्बन्धी निर्देशिका खारेज गर्न माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले बीमाको दर वृद्धि र नयाँ सर्तहरू सम्बन्धी निर्देशिका विकास विरोधी भएको भन्दै अविलम्ब खारेजीको माग गरेका छन् । पुष १७ सम्ममा निर्देशिका खारेज नभए १८ गतेबाट आन्दोलन थाल्ने चेतावनी महासंघ र इपान नेपालले दिएका छन् । महासंघ र इपान नेपालको संयुक्त प्रतिनिधिमण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटी यस सम्बन्धमा ज्ञापन पत्र बुझाएको छ । साथै बिमा समितिमा पनि आजै ज्ञापन पत्र बुझाइएको महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिस्पर्धाबाट वस्तु तथा सेवाको मुल्य तोक्नुपर्ने विश्वव्यापी मान्यता विपरित बीमा कम्पनीहरूको नियमनकारी निकाय बीमा समितिले गत असोज ६ गते सबै निर्जिवन बीमा कम्पनीहरूको लागि भनेर जारी गरेको निर्देशिकाप्रति महासंघ र इपानले कडा आपत्ति जनाएका छन् । यस प्रकृतिको निर्देशिकाबाट बीमाको आधारभूत अवधारणा नै औपचारिकतामा सीमित गराउने कार्य भएको हुँदा, निर्देशिका बीमाको सिद्घान्त विपरित रहेको महासंघ र इपानको ठहर छ । निर्देशिका निजी क्षेत्रलाई निरुत्साहित गर्दै नेपालको आर्थिक समृद्धिको महाअभियानमा गम्भीररूपले बाधा उत्पन्न गर्ने दुस्प्रयासका रुपमा आएको ज्ञापन पत्रमा उल्लेख छ । ‘सरोकारवाला निकायहरूसँग कुनै छलफल नगरी हचुवा र लहडको भरमा अत्याधिक प्रिमियम बृद्धि गरी जारी गरिएको निर्देशिकाले नेपालको उर्जा क्षेत्र र निर्माण उद्योग लगायत विभिन्न निजी क्षेत्र चौपट हुने निश्चित प्राय रहेको छ ’ ज्ञापन पत्रमा लेखिएको छ । एकतर्फी रुपमा प्रिमियम बढाउनुका साथै एक्सेस भ्यालुमा गरिएको अत्याधिक वृद्धिले बीमा कम्पनीहरूले ठगी गर्ने र स्वार्थलाई सर्बोपरी हुने गरी जारी गरिएको यस निर्देशिकाले व्यवसायीक लागतलाई पनि उच्च बनाएको ज्ञापन पत्रमा उल्लेख छ । यसबाट नेपाली वस्तु तथा सेवाको उत्पादन लागत बढ्न गई प्रतिस्पर्धात्मक क्षमता समेत ह्रास आउने महासंघ र इपानको दाबी छ । विगत ३० वर्षदेखि कुनै दाबी भुक्तानी नै नभएको चोरी डकैती विमामा समेत अत्याधिक प्रिमियम बढाउने निर्णयले व्यवसायिक जगतमा गम्भीर नकारात्मक असर परेको ज्ञापन पत्रमा जनाइएको छ । निर्देशिकामा विमित बीमाको प्रिमियम शुल्क भुक्तानी गरे पनि विमितले विमकबाट क्षतिपूिर्र्त दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न अव्यवहारिक सर्तहरु राखिएको महासंघले जनाएको छ । यसले अहिले नै विमितले विमा वापतको दावी भुक्तानी नपाइरहेको अवस्थामा अबका दिनमा प्रिमियम मात्रै तिर्नुपर्ने तर दावी भुक्तानी नपाउने भएर विमक र विमितबीचमा चर्को बैमनश्यता र तनाब उत्पन्न गर्ने ज्ञापनपत्रमा उल्लेख छ । यसैगरी खरिद सम्झौता गर्दा बीमा गर्नुपर्ने प्रावधान बमोजिम साबिकमा बीमाको प्रिमियम शुल्क खुल्ला बजार नीति अनुसार बीमा कम्पनीहरूले प्रतिस्पर्धा गर्दै आएकोमा हाल बिमा समितिको समेत संलग्नतामा बीमा कम्पनीहरूले कार्टेलिङ गर्ने गरी विगतको दररेटभन्दा ५ देखि ८ गुणा वृद्धि गरी बढी शुल्क तिर्न बाध्य पारिएकोले यसबाट निर्माण लागत बढ्न गई आर्थिकभार पर्ने गरी अनावश्यक बीमा शुल्क लिने गरेको पाइएको हुँदा समितिले बिमा शुल्कको लागि न्युनतम तोकेको दररेटलाई खारेज गरी स्वच्छ प्रतिस्पर्धा हुने गरी अधिकतम दररेट कायम गरी बिमा शुल्क लिने मापदण्ड कायम गर्नका लागि ज्ञापन पत्रमा माग गरिएको छ । साथै एक्सेस भ्यालुमा समेत पहिलाको तुलनामा नियमन गर्न आवश्यक भएको हुँदा अस्वस्थ प्रतिस्पर्धा समेत रोक्न एक्सेस भ्यालुमा पनि विगतको जस्तै न्यूनतम दररेट तोक्ने मापदण्ड बनाउनु पर्ने व्यहोेरा जानकारी गराउँदै यस सम्बन्धी हालसम्म पनि कुनै निर्णय नगरिएको हुँदा यथाशक्य चाँडो हाल वृद्धि गरिएको बीमा शुल्क दररेटमा भएको वृद्धि घटाई दिने व्यवस्थाका लागि जोडदार माग गरिएको छ । प्रतिनिधिण्डलमा महासंघका अध्यक्ष रवि सिंह, उपाध्यक्ष टेकबहादुर सेठी, महासचिव रोशन दाहाल, कार्यालय प्रंमुख प्रेमसिंह ऐर सहित इपानका अध्यक्ष कृष्णप्रसाद आचार्य, उपाध्यक्ष गणेश कार्की, सचिव बलराम खतिवडा र सदस्य उत्तम ब्लोन लामा रहेका थिए ।

सेयर बजार एक महिनायताकै उच्च बिन्दुमा, बीमामा उछाल, २६ कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । पछिल्लो केही दिन यताको सेयर बजारमा दैनिक सुधार हुँदै आएको छ । आइतबारको सेयर बजारमा कारोबार रकम र नेप्से परिसूचक करिब एक महिना यताकै उच्च बिन्दुमा पुगेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७१.२० बिन्दुले बढेर २५९१.४२ बिन्दुसम्म पुगेको छ । जुन गत मंसिर १५ गते यताकै उच्च बिन्दु हो । सो दिनको परिसूचक २६३३.६६ बिन्दुमा थियो । आइतबारको बजारमा ५ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत मंसिर १२ गते यताकै उच्च हो । मंसिर १२ गतेको बजारमा भने ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा कुल २३१ वटा स्क्रीप्टको धितोपत्र कारोबार भएको थियो । जसमा उच्च कारोबार गर्नेको शीर्ष ५ स्थानमा नबिल बैंक, नेपाल लाइफ इन्स्योरेनन्स, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट र एनटीसी रहेका छन् । जसमध्ये नबिल बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ३२ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । र, सेयर मूल्य पनि बढेर प्रतिकित्ता १५२४ रुपैयाँ पुगेको छ । आइतबार २६ वटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमा अधिकांश कम्पनीहरु बीमा समूहका रहेका छन् । त्यस्तै, १५ वटा कम्पनीको सेयर कारोबार १० प्रतिशतले बढेर किनबेच भएको छ । आइतबारको कारोबारमा फाइनान्स र हाइड्रोपावर समूह ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेको छ । उकालो लाग्नेमध्ये जीवन बीमा कम्पनी सबैभन्दा बढी अंक अर्थात १३०२.३१ अंकले बढेको छ । जुन अघिल्लो कारोबारको तुलनामा करिब १० प्रतिशतले बढी हो । त्यस्तै, निर्जीवन बीमा समूह ९०७ अंकले बढेको छ । एकाएक जीवन बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, अधिकांशको सेयर मूल्य बढ्यो पछिल्लो समय बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सञ्चालित बीमा कम्पनीहरुको पुँजी बढाउन आवश्यक देखेसँगै दोश्रो बजारमा यी क्षेत्रका कम्पनीको सेयर मूल्यमा उछाल आएको हो । साथै, वाणिज्य बैंकहरुले लाभांश घोषणाको लहर सकाएसँगै लगानीकर्ताहरु लाभांश घोषणा गर्न बाँकी रहेका बीमा कम्पनीहरुमा झुम्मिएको बुझिन्छ । दोहोरो अंकले बढेको बजारमा भने गोर्खाज फाइनान्सको सेयर मूल्य सबैभन्दा बढीले घटेको छ । संस्थाको सेयर मूल्य ५.५७ प्रतिशत अर्थात ४७ रुपैयाँले घटेर प्रतिकित्ता ७९७ रुपैयाँमा झरेको छ ।