सन नेपाल लाइफले ५ स्थानमा गर्यो बीमा जागरण अभियान, उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न ५ वटा कार्यालयमा बीमा जागरण अभियान सञ्चालन गरेको छ । इन्स्योरेन्सले सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । साथै, उत्त कार्यक्रममा बीमाको महत्व र दावी भुक्तानी कसरी गर्ने तथा जनमानसमा बीमाको प्रभावकारी भूमिकाको सम्बन्धमा विस्तार पूर्वक अभिकर्ताहरुलाई महाप्रबन्धक गौतमले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रमहरुको संयोजन बिर्तामोड शाखाको शाखा प्रबन्धक तुलसीनाथ पौडेलले गरेका थिए । देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

बीमा सम्बन्धी ज्ञानको अभावः कृषि बीमामा दिइएको अनुदान आएन प्रयोगमा

काठमाडौं । बीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बीमासम्बन्धी जानकारी नहुँदा कृषि बीमामा दिइएको अनुदान उपयोगमा नआएको बताएका छन् । महानगरपालिकाले गत आर्थिक वर्षमा कृषि बीमामा अनुदानका लागि छुट्याएको १५ लाख रुपैयाँ उपयोगमा नआएको बताएका हुन् । बीमा समितिले आयोजना गरेको बीरगञ्ज महानगरपालिकामा बीमासम्बन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । कार्यक्रममा सरावगीले बीमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय तहसँगको समन्वयमा बीमा समितिले वडा वडामा कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । साथै, उनले कृषि बीमामा २५ हजार रुपैयाँ छुटको दायरा बढाउनुपर्ने बताएका छन् । कृषि बीमा लागतमा मात्र आधारित नभई बाली काटेपछि समेतको सबै सुविधा सहित आएमा कृषि बीमाप्रति आकर्षण बढ्ने उल्लेख गरेका छन् । साथै, जोखिम विश्लेषण गरेर बीमाको प्रिमियम तोक्नु पर्ने र २५ हजार रुपैयाँ छुटको दायरा बढाउनुपर्ने विचार व्यक्त गरेका हुन् । साथै, उनले कृषि बीमाको प्रिमियममा अनुदान दिए जस्तै निजी सम्पत्ति बीमाको प्रिमियममा पनि सरकारले अनुदान दिनुपर्ने र अनलाइनबाट बीमा प्रिमियम संकलन तथा बीमा दाबी भुक्तानीको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । परम्परागत बीमालेखको सट्टामा हालको आवश्यकता अनुसारको बीमालेख ल्याउन, अतिरिक्त रकम नपाई काम नगर्ने बीमा सर्भेयरलाई कारवाही गर्न र शहरी क्षेत्रमा मात्र सीमित नभई गाउँ टोलसम्म बीमा कम्पनीहरु अनिवार्यरुपमा जाने व्यवस्था गर्न बीमा समितिसँग उनले आग्रह गरेका छन् । प्रमुख सरावगीले बीमासम्बन्धी नीति निर्माणमा महानगरपालिकालाई सहयोग गर्न र नगरपालिका महासंघका पदाधिकारीहरुसँग समेत बीमासम्बन्धी अन्तरक्रिया गर्न आग्रह गरे । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले देशमा बीमाको पहुँच विस्तारका लागि बीमासम्बन्धी विद्यमान व्यवस्थामा के कस्ता सुधार गर्नुपर्छ र बीमालेखमा कस्तो किसिमको परिमार्जन गर्नुपर्छ भन्ने सम्बन्धमा स्थानीय सरकारहरुबाट सुझाव लिने उद्देश्यले समेत कार्यक्रम आयोजना गरिएको बताए । अध्यक्ष सिलवालले जेष्ठ नागरिकहरुलाई समेत बीमाको दायरामा ल्याउन महानगरसँग आग्रह गर्दै बीमा नीति निर्माणमा सहयोग गर्न समिति तयार रहेको बताए । उनले कृषि तथा पशुपन्छी बीमालेखमा सरलीकृत गरिने जानकारी दिनुहुँदै बीमा कम्पनीहरुलाई झुक्याएर बीमा गर्न आकर्षित गर्ने खालका विज्ञापन नगर्न र कृषि तथा पशुपन्छी सहित सबै बीमाको दाबी भुक्तानी तत्काल गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिइएको बताए । साथै, बीमा कम्पनीहरुले गुणस्तरीय सेवा दिनुपर्ने आवश्यकता औंल्याउँदै नगरपालिका महासंघ र गाउँपालिका महासंघसँग पनि बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिने उनले बताए । कार्यक्रममा बीमा समितिका निर्देशक दिनेशकुमार लालले बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको दायरा विस्तारमा स्थानीय तहको भूमिका लगायतका विषय समेटिएको बीमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका वडा अध्यक्ष लगायत सहभागीहरुले बीमा कम्पनीहरुले प्रलोभन देखाएर बीमा गर्ने तर बीमा दाबी भुक्तानी नदिने गरेको, बीमा शिक्षाको अभाव भएको, धेरै कमिशन दिने धनी व्यक्तिको बीमा गराउन बीमा अभिकर्ता तथा एजेन्ट जाने तर न्यून आय भएका विपन्न बर्गलाई भने वास्ता नगर्ने गरेको गुनासो गरे । साथै, उनीहरुले जेष्ठ नागरिकका लागि बीमाको छुट्टै व्यवस्था गर्न, बीमालेखका सेवा शर्तलाई सरल एवम् छोटो बनाउन, स्वास्थ्य बीमामा देखिएका विसंगति हटाउन र वडा वडामा बीमासम्बन्धी चेतनामूलक कार्यक्रमहरु आयोजना गर्न आग्रह गरे । कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी, उपप्रमुख शान्ति कार्की, बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल, बीरगञ्ज महानगरपालिकाका वडा अध्यक्ष, सदस्य तथा प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरु, विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, शिक्षक, संचारकर्मी लगायत गरी ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

बीमा कम्पनीहरु भन्छन्ः कम ट्यारिफमा बीमा गराउन सकिँदैन

काठमाडौं । बीमा कम्पनीहरुले कम ट्यारिफमा बीमा गराउन नसक्ने बताएका छन् । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले विज्ञप्ति जारी गर्दै कम ट्यारिफमा बीमा गराउन नसक्ने बताएका हुन् । नेपाल निर्माण व्यवसाय महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले बीमा समितिद्धारा जारी भएको न्यूनतम प्रिमियम दर फर नन ट्यारिफ इन्स्योरेन्स बिजनेस निर्देशिकालाई खारेज गर्न माग गरेका थिए । उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै पुष १७ गतेसम्ममा निर्देशिका खारेज नभए पुस १८ गतेबाट आन्दोलन थाल्ने चेतावनी समेत दिएका थिए । बीमाको दर वृद्धि र नयाँ सर्तहरू सम्बन्धी निर्देशिका खारेज गर्न माग तर, बीमा कम्पनीहरुले भने उक्त निर्देशिकाको खाका बनाइ उचित प्रिमियम दर तथा शर्तहरू निर्धारण गरी नियामक निकाय बीमा समितिमा सिफारिश गर्ने निर्णय गरेको छ । नेपाल बीमक संघको पहलमा विभिन्न चरणमा भएको छलफल र अध्ययन पश्चात न्यूनतम प्रिमियम दर फर नन ट्यारिफ इन्स्योरेन्स बिजनेसको खाका सहित बीमा समितिमा सिफारिश गर्ने निर्णय भएको हो । नेपालका पुनर्बीमा कम्पनी तथा सम्पुर्ण निर्जीवन बीमकहरू सहभागी भई संयुक्त अन्तर्क्रिया तथा छलफलबाट आएको सुझावहरू तथा बीमाको अन्तर्राष्ट्रिय मुल्य र मान्यताको आधारमा जोखिम अनुसार उचित प्रिमियम दर तथा शर्तहरू निर्धारण गरी बीमा समिति सिफारिश गर्ने निर्णय भएको बीमक संघले जानकारी गराएको छ । विगतमा कम ट्यारिफमा बीमा गर्दा देशको भौगोलिक जटिलता र वारम्वार भईरहने दैविप्रकोप, दुर्घटना जस्ता कारणले जोखिम बढेको संघको भनाई छ । विगतमा न्युनतम बीमा दर (ट्यारीफ) जारी नहुँदा जोखिमको आधारमा वास्तविक प्रिमियम दर निर्धारण नभई ज्यादै न्युन दर कायम भई बीमा कम्पनीबाट बीमा स्वीकार गर्दा उक्त जोखिम हस्तान्तरण गर्ने प्रकृया अन्तर्गत विदेशी पुनर्बीमकहरू जोखिम लिन तयार नभएको संघले जनाएको छ । साथै,  सो अवस्थामा परियोजना लगातयका बीमालेखहरूको जोखिमको शतप्रतिशत पुनर्बीमा सुरक्षण हुन अप्ठ्यारो भएको र उच्च स्तर भएको ख्याती प्राप्त विदेशी पुनर्बीमकहरू सहभागी नहुने अवस्थाले क्षतिको दाबी भुक्तानीमा समेत नकारात्मक असर परेकोले कम ट्यारिफमा बीमा गराउन नसकिने संघको भनाइ छ । उक्त सिफारिश नितान्त बीमितको सम्पतीलाई आवश्यक रक्षावरण गरि भविश्यमा हुन सक्ने क्षतिको पुर्ण रूपले समयमै भुक्तानी गर्न सक्ने मुल उद्देश्य साथ गरिएको हो संघले जनाएको छ । ‘बीमा शुल्क निर्धारण गर्दा जोखिमको मुल्याङ्कन, प्राप्त हुन सक्ने शुल्क, बीमा गरिएका सम्पत्तिबाट हुन सक्ने क्षति अन्तर्राष्ट्रिय बजार प्रचलन जस्ता आधारलाई ध्यानमा राखि बीमा शुल्क निर्धारण गरिएको हुन्छ । यसरी निर्धारण गरिएको बीमा शुल्क दर समय समयमा परिवर्तन हुनु स्वभाविक नै हो । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) संग विभिन्न चरणमा भएको छलफल र प्राप्त सुझावहरुलाई सम्बोधन भई समय समयमा परिमार्जन भईरहेको सबैलाई विदितै छ । हालको बीमादर कायम गर्न अन्तर्राष्ट्रिय बजारमा प्रचलनमा रहेको दर, राष्ट्रमा परेको क्षति, राष्ट्रमा संकलन हुन सक्ने बीमा शुल्क, राष्ट्रमा विद्यमान जोखिम जस्ता तथ्यहरुलाई समेत आधार लिई बीमा शुल्क निर्धारण गरिएको छ । यस व्यवस्थाले बीमा बजारको समस्टगत विकास तथा विमितको हकहितमा समेत टेवा पुग्ने विश्वास लिएका छौं,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बीमा समितिले २०७८ असोज ६ गते न्यूनतम प्रिमियम दर फर नन ट्यारिफ इन्स्योरेन्स बिजनेस निर्देशन जारी गरेको थियो ।