प्रभु इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । प्रभु इन्स्योरेन्सले सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । साथै, इन्स्योरेन्सले कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित ११.५८ प्रतिशत लाभांश(करसहित) अघिल्लो वर्षको तुलनामा बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश(करसहित) वितरण गरेको थियो । इन्स्योरेन्सको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब १६ करोड रुपैयाँ छ । ११ प्रतिशत बोनस पारित पश्चात संस्थाको चुक्ता पुँजी एक अर्ब २८ करोड रुपैयाँ पुग्ने छ ।
४१ वटै कम्पनीलाई बीमा समितिको ५ बुँदे निर्देशन
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सञ्चालनमा रहेका ४१ वटा बीमा कम्पनीलाई विभिन्न ५ बुँदे निर्देशन दिएको छ । समितिले कोरोना महामारी तीव्र रुपमा फैलिएसँगै सञ्चालित कम्पनीहरुलाई संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न तथा गराउन एकमुष्ट रुपमा निर्देशन दिएको हो । समितिले नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै देहाय बमोजिम हुने गरी कार्यालय सञ्चालन गर्न विभिन्न ५ बुँदे अनुसारको व्यवस्था गर्न सबै बीमा कम्पनीहरुलाई आग्रह गरेको हो । जसअन्तर्गत कम्पनीहरुले कार्यालयमा उपस्थित कर्मचारी तथा सेवा ग्राहीहरुमा कोभिड संक्रमण जोखिमलाई कम गर्न भौतिक दुरी कायम गरी कार्य गर्ने वातावरण मिलाउनु पर्ने छ । त्यस्तै, कार्यालयमा उपस्थित कर्मचारी तथा सेवाग्राहीहरुलाई आवश्यक मास्क तथा सेनिटाइजरको व्यवस्था गर्ने र सञ्चालन गरिने कुनै पनि कार्यक्रममा बढिमा २५ जनासम्म मात्र उपस्थित हुने गरी भौतिक दुरी कायम राखेर सञ्चालन गर्न समितिले निर्देशन दिएको छ । त्यसैगरी, तालिम तथा गोष्ठी जस्ता कार्यक्रमहरु सम्भव भएसम्म भर्चुअल माध्यमबाट सञ्चालन गराउन र कोरोना विरुद्धको खोप लगाउन बाँकी रहेका कर्मचारीहरुलाई अनिवार्य रुपमा खोप लगाउने व्यवस्था मिलाउन समितिले ४१ वटै कम्पनीलाई निर्देशन दिएको हो । समितिले पुस २९ गते पत्र जारी गर्दै ४१ वटै कम्पनीलाई उक्त निर्देशन दिएको हो ।
जीवन बीमा कम्पनीहरुले पनि नगद लाभांश नदिने
काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका जीवन बीमा कम्पनीहरुले पनि नगद लाभांश वितरण नगर्ने भएका छन् । नियामक निकाय बीमा समितिले नगद लाभांश वितरणमा रोक लगाएसँगै उनीहरुले नगद लाभांश वितरण नगर्ने भएका हुन् । नियामक निकाय बीमा समितिले निर्जीवनलाई जस्तै जीवन बीमा कम्पनीलाई पनि रोक लगाएको हो । समितिले कम्पनीलाई थप बलियो बनाउन जीवन बीमा व्यवसाय गर्दै आएका १९ वटै इन्स्योरेन्सलाई उक्त निर्देशन दिएको हो । कम्पनीले भविष्यमा जोखिममा आधारित पुँजी कायम गर्नुपर्ने, आइपर्नसक्ने थप जोखिम बहन गर्न पुँजीकोषलाई सबल बनाउन सो निर्देशन दिइएको इन्स्योरेन्सका निर्देशक दिनेशकुमार लालले जनाएका छन् । उनका अनुसार जीवन बीमा कम्पनीहरुले अर्को व्यवस्था नभएसम्मको लागि बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि बाहेकको नगद लाभांश वितरण गर्न नपाउने भएका छन् । यद्दपि जीवन र निर्जीवन दुबै कम्पनीले बोनस सेयर भने जारी गर्न पाउने छन् । सम्बन्धित समाचार निर्जीवन बीमा कम्पनीहरुले नगद लाभांश नदिने