सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सबैले ओम हस्पिटलमा विशेष छुट पाउने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भएका सबैले ओम हस्पिटलमा विशेष छुट पाउने भएका छन् । कम्पनीसंग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीले ओम हस्पिटलमा स्वास्थ्य सम्वन्धि आवश्यक सेवा लिँदा विशेष छुट पाउने भएका हुन् । उक्त स्वास्थ्य सेवा सम्बन्धमा इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौता भएको छ । इन्स्योरेन्सले सिटिजन केयर सुविधा अन्तर्गत ओम हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौता अनुसार सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् । कम्पनीसंग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी स्वास्थ्य सम्वन्धि आवश्यक सहयोग पुग्ने उद्देश्यले कम्पनीले उक्त सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, अस्पतालका व्यवसाय विकास व्यवस्थापक बिनोद अधिकारी र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो । यस सम्झौताले कम्पनीसँग आबद्ध भएका सबै लाभान्वित हुने कम्पनीको विश्वास छ । र, आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसँग सहकार्य गर्दै जाने इन्स्योरेन्सको योजना छ ।
नेपाल लाइफको सिनियर डिसिओमा प्रवीण रमण पराजुली नियुक्त
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । पराजुलीले पुस २५ गते आइतबारबाट सिनियर डिसिओको कार्यभार सम्हालेका छन् । पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए । संस्थागत सुशासनलाई प्राथमिकतामा राखि कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको बताउँदै यसलाई अवसर र त्यो भन्दा बढी चुनौतीको रुपमा लिएको बताए । ‘अब मैले नेपाल लाइफको नम्बर १ कम्पनीको छवीलाई हरेक सुचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको छ,’ पराजुलीले बताए । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा सिइओ थिए ।
निर्जीवन बीमा कम्पनीहरुले नगद लाभांश नदिने
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले यो वर्ष नगद लाभांश नदिने भएका छन् । नियामक निकाय बीमा समितिले नगद लाभांश वितरण गर्न रोक लगाएसँगै कम्पनीहरुले यो वर्ष सेयरधनीलाई नगद लाभांश नदिने भएका हुन् । समितिले कोरोना बीमाको दाबी भुक्तानी नभएसम्म कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाएको हो । यससँगै सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले नगद लाभांश वितरण गर्न नपाएपनि बोनस सेयर भने वितरण गर्न पाउने छन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुलाई कोरोना बीमाको दाबी भुक्तानी नगरेसम्म नगद लाभांश वितरण नगर्न निर्देशन दिएको बताएका छन् । ‘कोरोना बीमा पोलिसी ल्याएको दुई वर्ष नाघिसक्यो, बीमितिले अहिलेसम्म भुक्तानी पाएका छैनन्, यस्तो अवस्थामा नगद लाभांश वितरण गर्न उचित हुँदैन, त्यसैले उक्त रकम भुक्तानी नभएसम्म कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिइएको हो,’ कार्यकारी निर्देशक पौडेलले भने । समितिको पछिल्लो तथ्यांक अनुसार १ लाख ५९ हजार २२५ वटा दाबी वापत १४ अर्ब ९३ करोड ६६ लाख रुपैयाँ बराबरको दाबी परेको छ । त्यसमध्ये पुल मार्फत ३ अर्ब ५० करोड रुपैयाँ र बीमा कम्पनीहरुबाट १ अर्ब २८ करोड ७८ लाख रुपैयाँ गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । र, बाँकी रहेको १० अर्ब १५ करोड १४ लाख रुपैयाँ बराबरको दाबी अझै भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ । कार्यकारी निर्देशक पौडेलले लामो समयदेखि बीमितको दावी भुक्तानी दिन नसकेको अवस्थामा नगद लाभांश दिनु उचित नहुने भएर लाभांशमा रोक लगाइएको बताए । साथै, सेयरधनीले यो वर्ष लाभांश नपाउँदा खासै असर नपर्ने समेत उनले बताएका छन् । ‘अहिलेको अवस्थामा लाभांशभन्दा पनि दावी भुक्तानी महत्वपूर्ण हो, यो वर्ष सेयरधनीले नगद नपाउँदा केही पनि हुने होइन, त्यसैले हामीले लाभांशभन्दा पनि दावी भुक्तानीलाई प्राथमिकतामा राखेर यो निर्देशन दिएका हौं,’ उनले विकासन्युजसँग भने । कम्पनीहरुलाई बलियो बनाउन समेत यो निर्देशन दिइएको पौडेल बताउँछन् । यद्पि समितिले हालसम्म कम्पनीहरुलाई लिखित रुपमा भने निर्देशन दिएको छैन । कम्पनीहरुको प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत गरेपछि मात्रै वितरण गर्न बाटो खुल्ने छ । त्यसैले समितिले लिखित नभई मौखिक रुपमै निर्देशन दिएपनि निर्जीवन बीमा कम्पनीहरुले यो कार्यान्वयनमा ल्याउनै पर्ने देखिन्छ । ‘कम्पनीहरुले सेयरधनीलाई नगद लाभांश भन्दा बोनस सेयर दिए भने आफै बलियो हुँदै जान्छन्, त्यहि उद्देश्यले पनि कम्पनीहरुलाई यो वर्ष नगद लाभांश नदिनु भनेर मौखिक रुपमा भनेका छौं,’ विकासन्युजसँग बोल्दै उनले भने । साथै, समितिले यसअघि भुकम्पको बेलामा पनि कम्पनीहरुको नगद लाभांशमा रोक लगाएको थियो । २ कम्पनीले गरे लाभांश घोषणा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १८ वटा नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएका छन् । जसमध्ये २ कम्पनीले मात्रै गत वर्षको लाभांश घोषणा गरेका छन् । हालसम्म हिमालयन जनरल र प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरिसकेका छन् । जसमध्ये हिमालयन जनरलले ६.६५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सले ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिसकेको छ । बीमा समितिले भने हालसम्म स्वीकृति दिएको छैन ।