सिटिजन लाइफको सीईओमा पुनः पोषकराज पौडेल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः पोषकराज पौडेल नियुक्त भएका छन् । आगामी ४ वर्षको लागि बीमा समितिले पौडेललाई सीइओमा निरन्तरता दिन स्वीकृती दिएको हो । सीईओ पौडेलको पहिलो कार्यकाल यही पुस महिनादेखि सकिँदै छ । चार वर्ष अवधिको पहिलो कार्यकालमा इन्स्योरेन्सलाई एक उचाईमा पुर्याउन सफल भएकोले नै सञ्चालक समितिले उनको कार्यकाल थप्ने निर्णय गरेको थियाे । पौडेलले गत २०७४ साल माघदेखि सिटिजन लाइफको सीईओको कार्यभार सम्हालेका हुन् ।

हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बढ्यो बोनसदर

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २१ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ६.५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद (कर प्रयोजनको लागि ) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा बढी हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद गरी ६.७५ प्रतिशत लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ छ । प्रस्तावित ६.५ प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब १७ करोड रुपैयाँ नाघ्ने छ ।

धमाधम एनपीआईमा जोडिँदै इन्स्योरेन्स कम्पनी, आईएमई जनरल पनि आवद्ध

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच(एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)मा जोडिएको छ । कम्पनी आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न उक्त प्रणालीमा आवद्ध हुन सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनपीआईमा जोडिएसँगै कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल-आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सकिने छ । यसले आइएमई जनरल इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ । यी सबै कारोबारहरु सोझै बीमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् । यसरी एनपीआईमा जोडिए पछि आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने छ । एनपीआईसँग गरिने उक्त इन्टिग्रेसनमा आइएमई जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रा. लि.को पनि महत्वपूर्ण भूमिका रहेको छ जसले आइएमई जनरल इन्स्योरेन्स लगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ । आइएमई जनरल इन्स्योरेन्स लगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइन मार्फत कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन् । साथै ९ जीवन तथा निर्जीवन बीमा कम्पनीहरु यस अघि नै एनपीआईमा आबद्ध रहेका छन् । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरीएको एनपीआई सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक वित्तीइ संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायतका ७० गैर/बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आवद्ध छन् ।