बैंक तथा बीमाको कार्यालयमा सेवा लिन जाँदै हुनुहुन्छ ? खोप कार्ड लिन भुलिएला नी !
काठमाडौं । सककारले आज (पुस ७ गते) बाट सार्वजनिक सेवा लिँदा खोप अनिवार्य गरेको छ । सरकारले सार्वजनिक निकायमा सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेसँगै अब बैंक तथा वित्तीय संस्थामा सेवा लिन जाँदा पनि खोप कार्ड अनिवार्य चाहिने भएको छ । अहिले अधिकांश बैंकहरुले आफ्ना ग्राहकहरुलाई सेवाको खोप कार्ड अनिवार्य भएको जानकारी दिइरहेका छन् । खोप कार्ड नभएकाहरुले सार्वजनिक निकायमा सेवा प्राप्त गर्न सक्ने छैनन् । तर, कार्ड नभएका र मोबाइलमा फोटो भएकाहरुले पनि सेवा पाउनेछन् । नेपाल इन्भेष्टमेन्ट बैंकले कोभिड विरुद्धको खोप कार्ड भएकालाई मात्र सेवा दिने बताइसकेकाे छ । बैंकले अति आवश्यक परेर बैंकमा जाने ग्राहकलाई पनि खोप कार्ड बिना प्रवेश गर्न नदिने जनाएकाे हाे । बैंकले माघ ७ गते एक सूचना जारी गर्दै आवश्यक परेर बैंकको कुनै पनि शाखा वा कार्यालयमा जाने ग्राहकलाई अनिवार्य खोप कार्ड ल्याउन आग्रह गरेको हो । साथै, सो ग्राहकको खोप कार्डको फोटो मोबाइलमा भए पनि प्रवेश गराउने बैंकले जानकारी गराएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजबाट सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । आजबाट भौतिक रुपमा उपस्थित भई गर्नु पर्ने कार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५ जना मात्र सहभागी हुने व्यवस्था पनि छ । कोरोना भाइरसकै कारणले अहिले अधिकांश बैंकहरुले आफ्ना शाखाहरु पनि बन्द गरेका छन् ।
अधिकारीको परिवारलाई बिमांक दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीमा बीमा गराएका व्यक्तिको असामयिक निधनभएपछि बीमा बापतको भुक्तानी प्रदान गरेको छ । कम्पनीले बिमित मनिता अधिकारी दबाडीको निधन भएपछि उनका श्रीमान रामशरण अधिकारीलाई बिमांक र बोनससहितको रकम भुक्तानी गरेको हो । मनिताले ५ लाख रुपैयाँ बिमांकको जीवन सहारा पोलिसी लिएकी थिइन् । पाँच लाख रुपैयाँ बिमांक बराबरको बीमा गराएको भएपनि बोनस सहित ५ लाख ९२ हजार ८५ रुपैयाँ प्रदान गरिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर दिवाकर खड्काले जानकारी दिए । बिमित मनिता अधिकारीको गत कात्तिक ६ गते निधन भएपछि उनका श्रीमानलाई गत पुस २६ गते रकम भुक्तानी गरिएको थियो ।
एकाएक दुई इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, तीन हाइड्रोमा लाग्यो सकारात्मक सर्किट
काठमाडौं । बिहीबारको बजारमा एकाएक दुई निर्जीवन बीमा कम्पनीमा इन्स्योरेन्समा लगानीकर्ताको आकर्षण देखिएको छ । बजारमा आईएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । नेपाल धितोपत्र बोर्डले लामो समयपछि गरेको निर्णयसँगै त्यसको प्रभाव दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा परेको हो । बोर्डले आईएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्स दुबैलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएसँगै लगानीकर्ताहरु यी कम्पनीको सेयरमा झुम्मिएका हुन् । बोर्डले अनुमति दिएसँगै आईएमई जनरल इन्स्योरेन्सको उच्च कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन २२ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बोर्डले कम्पनीलाई ४० प्रतिशतको हकप्रद सेयर जारी गर्न अनुमति दिएसँगै कम्पनीको सेयर कारोबार बढेको हो । आईएमई जनरलको सेयर कारोबार रकमसँगै सेयरमूल्य पनि बढेको छ । इन्स्योरेन्सको सेयर मूल्य एकैदिन ५० रुपैयाँले बढेर प्रतिकित्ता १२१७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ४.२८ प्रतिशतले बढी हो । त्यस्तै, बढी कारोबार गर्नेको तेश्रो स्थानमा शिखर इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको १७ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद जारी गर्न बोर्डको स्वीकृति पाएसँगै लगानीकर्ताहरु इन्स्योरेन्सको सेयरमा झुम्मिएका हुन् । त्यस्तै, शिखरको सेयर कारोबारसँगै सेयर मूल्य पनि बढेको छ । इन्स्योरेन्सको सेयर मूल्य ८६ रुपैयाँले बढेर प्रतिकित्ता २ हजार ९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ४.४७ प्रतिशतले बढी हो । दुई निर्जीवन बीमा कम्पनीले ९९ कराेड रूपैयाँकाे हकप्रद जारी गर्ने यता केही देखि उच्च कारोबार भइरहेको अपि पावर कम्पनी आज दोश्रो स्थानमा रहेको छ । कम्पनीको १८ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार भने प्रतिकित्ता ५५० रुपैयाँ भएको छ । त्यस्तै, बिहीबारको कूल कारोबार ५ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा २५ करोड रुपैयाँले घटी हो । अघिल्लो दिन अर्थात बुधबारको बजारमा ६ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबार घटेपनि सेयर मूल्य मापक नेप्से परिसूचक भने बढेको छ । गत दुई दिन निरन्तर घटेको बजार आज भने ३२.९६ अंकले बढेर २९३१.२६ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.१४ प्रतिशतले बढेको हो । बजारमा अधिकांश समूह बढेका छन् । जसमध्ये सबैभन्दा बढी बढ्नेमा जीवन बीमा समूह रहेको छ । जो ४६२ अंकले बढेर १६ हजार ६५४ बिन्दुमा पुगेको छ । यता बैंकिङ्ग र म्युचुअल फण्ड समूह भने सामान्य अंकले घटेका छन् । दोहोरो अंकले बढेको बजारमा तीन वटा हाइड्रो कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमा मध्य भोटेकोशी जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी रहेका छन् । यी मध्ये दुई कम्पनी मध्य भोटेकोशी र तेह्रथुम पावरको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ भने बुद्धभूमी नेपालको ९.९७ प्रतिशतले बढेको छ । यससँगै, यी तीन वटै कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५५०, ६३५ र ३१६ रुपैयाँमा भएको छ ।