बीमा कम्पनीका संस्थागत सेयरधनीले सेयर किनबेच गर्न पाउने

काठमाडौं । अब बीमा कम्पनीका संस्थागत सेयरधनीले सेयर किनबेच गर्न पाउने भएका छन् । उनीहरुले बीमा समितिको स्वीकृति लिएर सम्बन्धित कम्पनीको सेयर तथा ऋणपत्र किनबेच गर्न पाउने भएका हुन् । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ संशोधन गर्दै उक्त व्यवस्था गरेको छ । उक्त निर्देशिकामा भएको बीमकको हित विपरीत कार्य गर्न नहुने बुँदालाई केही परिमार्जन गर्दै समितिले ‘कुनै पनि कम्पनीको सञ्चालक पदमा संस्थागत प्रतिनिधित्व भएको सञ्चालकको हकमा सञ्चालक नियुक्ति गर्ने संस्थागत सेयरधनीले बीमा समितिको स्वीकृति लिई खरिद बिक्री गर्न बाधा पर्ने छैन’ भनिएको छ । यसअघि सञ्चालकले पदमा रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही सोही कम्पनीको कुनै पनि प्रकारको सेयर, डिबेञ्चर खरीद बिक्री गर्न नपाउने व्यवस्था थियो । संशोधित निर्देशिका अनुसार कम्पनीले प्रत्येक पाँच वर्षमा आफ्नो विस्तृत लेखापरीक्षणको प्रतिवेदनको एकप्रति बीमा समितिमा पेश गर्नुपर्ने छ । साथै, समितिमा पेश गरिएको उक्त प्रतिवेदनका सम्बन्धमा समितिले आवश्यक निर्देशन पनि दिन सक्नेछ । यसअघि कम्पनीले तयार पारेको लेखापरीक्षणको प्रतिवेदनको तीन प्रति तयार गरे मात्रै पुग्ने थियो, समितिमा पेश गरिराख्नु पर्दैनथ्यो । त्यस्तै, समितिले वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गर्नुपर्ने छुट्टै व्यवस्था गरेको छ । यससँगै अब कम्पनीले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गरी सञ्चालक समितिबाट स्वीकृत गराउनु पर्नेछ । उक्त नीति तथा कार्यक्रम र बजेट स्वीकृत भएको मितिले १५ दिनभित्र बीमा समितिमा पेश गर्नुपर्ने छ । त्यस्तै, वार्षिक नीति तथा कार्यक्रम र बजेटको सञ्चालक समितिले त्रैमासिक रुपमा समीक्षा गुर्नपर्ने छ । र, समिक्षा भएको मितिले ७ दिनभित्र बीमा समिति समक्ष पेश गर्नुपर्ने छ । समितिले कम्पनीको कार्यकारी प्रमुख तथा विभागीय प्रमुख नियुक्ति गर्ने व्यवस्थामा थप एक बुँदे निर्देशन थपेको छ । जसमा कुनै पनि कम्पनीले सीईओ पद रिक्त भएको अवस्थामा रिक्त भएको मितिले तीन महिनाभित्र नियुक्त गरिसक्नुपर्ने निर्देशन छ । समितिले बीमा गर्न नपाइने व्यवस्थामा केही परिमार्जन गरी जीवन बीमा गर्न पाउनेको सीमा डबलले वृद्धि गरेको छ । यसअघि २५ लाख रुपैयाँसम्म रहेको बीमांकको सीमा अहिले बढाएर ५० लाख रुपैयाँ पुर्याइएको छ । यससँगै जीवन बीमा व्यवसाय गर्ने कम्पनीले ५० लाख रुपैयाँसम्मको बीमांकको सीमाभित्र रही जीवन बीमा गर्न पाउने छन् । कम्पनी आफैले व्यहोर्ने दायित्वको, कम्पनीको संस्थापक, सञ्चालक परामर्शदाता, सल्लाहकार, लेखापरीक्षक, कर्मचारी वा निजको एकाघरको परिवारको सदस्य, कम्पनीको वित्तीय स्वार्थ भएका संस्था, व्यक्ति वा निजको एकाघरको परिवारको सदस्य, कम्पनीको सञ्चालक नियुक्त गर्ने अधिकार पाएको कम्पनी, सञ्चालकको वित्तीय स्वार्थ भएको वा सञ्चालक भएको कुनै पनि फर्म, कम्पनी वा संस्था निजको परिवारको सदस्यको भने कुनै पनि सम्पत्ति वा दायित्वको बीमा गर्न पाइने छैन । यहि प्रतिवन्धात्मक व्यवस्थामा जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले ५० लाख रुपैयाँसम्मको बीमा गराउन पाइने सीमा कायम गरिएको हो । त्यसैगरी, अब जीवन बीमा कम्पनीका अभिकर्ताले कम्पनीको व्यवसाय प्रवद्र्धन गर्न नगद र घर तथा जग्गा कर्जा बाहेक अन्य किसिमका कर्जा पाउने भएका छन् । तर, उक्त कर्जाको लागि सञ्चालक समितिको स्वीकृति लिनुपर्ने संशोधित निर्देशनमा जनाइएको छ । समितिले गत २०७८ माघ १६ गते उक्त निर्देशिका पहिलो पटक संशोधन गरेको हो । जुन तत्काल लागू हुनेछ ।

नेपाल लाइफको नयाँ बोनसदर: बीमितले अधिकतम ८२ रुपैयाँ पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा समितिले स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो । समितिले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिको लेखाजोखा दर दायित्व मूल्याङ्कन बीमांकीय प्रतिवेदन स्वीकृत गरेपछि बोनस दर सार्वजनिक गरिएको इन्स्योरेन्सले जनाएको छ । यससँगै कम्पनीले प्रतिहजार बीमाङ्कमा वार्षिक न्युनतम ५६ रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँसम्म बोनसदर वितरण गर्ने भएको छ । कम्पनीले आफ्ना विभिन्न बीमा योजनाको बोनसदर सार्वजनिक गरेको हो । इन्स्योरेन्सले सावधिक (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी र जीवन साथी) योजनामा प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँ बोनसदर तोकेको छ । यी योजनाका १०, ११ देखि १५ र १६ देखि २० वर्ष अवधिका बीमितलाई प्रतिहजार ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको लागि ७० रुपैयाँ र २६ र ३० वर्ष वा ३० भन्दा माथि अवधिको लागि प्रतिहजार ८२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । त्यस्तै, सवाधिक तथा आजीवन (जीवन साहारा) दुबै योजनामा पनि न्यूनतम ६० देखि अधिकतम ८२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । २० वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको लागि ७० रुपैयाँ र २६ वा सो भन्दा माथिको वर्षको लागि प्रतिहजार ८२ रुपैयाँ बोनस दर तोकिएको छ । त्यसैगरी, अग्रिम भुक्तानी (जीवन सम्बृद्धि) योजनाको १५ वर्षे अवधिको ५६ रुपैयाँ र २० वर्ष अवधिको लागि प्रतिहजार ५८ रुपैयाँ बोनसदर तोकिएको छ । त्यसैगरी, अग्रिम भुक्तानी सावधिक योजनाका सबै बीमितिले ६० रुपैयाँ बोनसदर पाउने भएका छन् । यो योजनामा धन वर्षा-१५, धन वर्षा-२०, नौलो जीवन सम्बृद्धि, नौलो धन वर्षा, जीवन उन्नती, जीवन शान्ति, छोराछोरी र सदाबहार जीवन योजना पर्ने छन् । साथै, यो नयाँ बोनसदर बीमा समितिबाट अर्को व्यवस्था नभएसम्मको लागि लागू हुने इन्स्योरेन्सले जनाएको छ ।

हिमालयन जनरल इन्स्योरेन्सको सीईओ बन्दै विजयबहादुर शाह

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विजयबहादुर शाह नियुक्त हुने भएका छन् । इन्स्योरेन्सका सीईओ सुशील बज्राचार्य बाहिरिने भएसँगै उक्त पदमा शाहलाई नियुक्त गरिने प्रकृया अघि बढेको हो । सीईओ बज्राचार्य फागुनदेखि इन्स्योरेन्सबाट बाहिरिन लागेका हुन् । २०७६ साउन १ गते ४ वर्षको लागि नियुक्त भएका बज्राचार्य डेढ वर्ष अघि नै इन्स्योरेन्सको उक्त पदबाट बाहिरन लागेका हुन् । माघ ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आपसी सहमतिमा करार संशोधन गरी उनको कार्यकाल २०७८ माघ मसान्तसम्मको लागि मात्रै कायम गर्ने निर्णय गरेको हो । यससँगै फागुनबाट रिक्त हुन लागेका हिमालयन जनरल इन्स्योरेन्सको सीईओ पदमा शाहलाई नियुक्त गरिने श्रोतले जनाएको छ । शाह यसअघि नेपाल इन्स्योरेन्सको सीईओ थिए । आफ्नो ४ वर्षे कार्यकाल सफलता पूर्वक पुरा गरी उनी गत साउन ९ गते नेपाल इन्स्योरेन्सबाट बाहिरिएका थिए। उक्त कम्पनीबाट बिदा भएको ६ महिना अर्थात आफ्नो कुलिङ् पिरियड सकिएसँगै शाह हिमालयन जनरल इन्स्योरेन्समा आवद्ध हुन लागेका श्रोतले जनाएको छ । कुशल व्यवसायिक व्यवस्थापक रहेका शाहको बीमा क्षेत्रमा लामो अनुभव रहेको छ । उनको नेतृत्वमा विभिन्न कम्पनीले राम्रो फड्को मारेको देखिन्छ । नेपाल इन्स्योरेन्समा आवद्ध हुनुअघि शाह एनएलजी इन्स्योरेन्सको सीईओ थिए । उनले त्यहाँ मात्रै ८ वर्ष अर्थात दुई कार्यकाल सफलतापूर्वक बिताएका थिए । त्यसभन्दा अघि नेशनल इन्भेष्टमेन्ट एण्ड क्यापिटल मार्केटमा पनि सीईओ पद सम्हालेका शाह नेपाल बीमक संघको पूर्वअध्यक्ष समेत हुन् । उनले बीमाक संघको दुई पटकसम्म अध्यक्ष पद सम्हालेका हुन् । वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट शाहले गोर्खा ब्रुअरी, सूर्य टोवाको, राष्ट्रिय प्रकृति संरक्षणकोष लगायतका कार्यालयमा काम गरिसकेका छन् । उनी विकासशील देशहरुका बीमा कम्पनी र नियमनकारी निकायको साझा संस्था एआईआरडीसीको अध्यक्ष समेत हुन् । उर्जाशील शाह नेपाल व्यवस्थापन संघबाट २०१४ मा वर्षको उत्कृष्ट व्यवस्थापकबाट सम्मानित समेत भएका थिए । ३५ वर्षभन्दा बढीको कार्यानुभव भएका शाह देशमा कार्यरत बीमा कम्पनीको साझा संघ नेपाल बीमक संघलाई संस्थागत गरी २ कार्यकाल अध्यक्ष भैसकेका छन् ।