प्रिमियर इन्स्योरेन्सको सभाले पारित गर्यो लाभांश

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । माघ २१ गते सम्पन्न इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । तर, माघ ४ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन् । १ अर्ब ७ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पुँजी बोनस सेयरपछि १ अर्ब २२ करोड रुपैयाँ पुग्ने छ । गत आर्थिक वर्षमा इन्स्योरेन्सले १ अर्ब ९० करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ भने ३४ करोड ७९ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । इन्स्योरेन्सको सभा कम्पनीको केन्द्रिय कार्यालयमा भिडियो कन्फरेन्स मार्फत भएको थियो । सभामा सञ्चालक समितिका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका हुन् ।

आईएमई जनरलको ४० प्रतिशत हकप्रदः कहिलेसम्मका सेयरधनीले पाउँछन् ?

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले आगामी फागुन १ गते बुक क्लोज गर्ने भएको छ । इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर जारी गर्न उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । यससँगै बुक क्लोजको अघिल्लो दिनसम्म अर्थात माघ २८ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रदमा आवेदन दिनसक्ने छन् । इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँ दरका ४६ लाख ३० हजार ३४४ कित्ता अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ छ । हकप्रदपछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ६२ करोड ५ लाख रुपैयाँ पुग्ने छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्न लागेको हो । गत भदौ १७ गते बोर्डसँग स्वीकृति मागेको आईएमई जनरल इन्स्योरेन्सले करिब ५ महिनापछि हकप्रदको लागि स्वीकृति पाएको हो ।

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, बढायो बोनसदर

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । माघ १८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा करिब बराबर हो । तर बोनसदर भने अघिल्लो आवको तुलनामा ३ प्रतिशत बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र ३.७८९४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ छ । १५ प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ ।