पनौती नगरपालिका ६ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा
काभ्रेपलाञ्चोक । पनौती नगरपालिकामा ६०० विपन्न परिवारको निःशुल्क बीमा गरिएको छ । नगरले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’अन्तर्गत ६०० परिवारको निःशुल्क बीमा गरेको हो । आर्थिक अभावका कारण कुनैपनि नागरिक स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरभित्रका विपन्न नागरिकको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको जनाइएको छ । नागरिकको स्वास्थ्यको रक्षा गर्नु नगरको दायित्व रहेकाले यस वर्षदेखि विपन्न नागरिकको स्वास्थ्य बीमा थालिएको नगरप्रमुख भीम न्यौपानेले बताए । उनका अनुसार उक्त बीमा कार्यक्रमबाट करिब तीन हजार नागरिक लाभान्वित हुनेछन् । वडा कार्यालयले विपन्न परिवार पहिचान गरी सिफारिस गरेको आधारमा बीमा गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । हाल प्रति वडा ५० परिवारका दरले सिफारिस गरिएको छ । बिमित परिवारले आउँदो फागुन १ गतेदेखि धुलिखेल अस्पताल र बनेपास्थित रेयुकाई एइको मासुनागा आँखा अस्पतालबाट सेवा लिनसक्ने जनाइएको छ । स्थानीय नागरिक, सहकारी संस्था र नगरको सहकार्यमा अन्य आर्थिक अवस्था कमजोर भएका करिब चार हजार परिवारको स्वास्थ्य बीमा गर्ने नगरको योजना छ । नागरिक र सहकारीको ३३/३३ प्रतिशत तथा नगरको ३४ प्रतिशत रकमबाट उक्त परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । रासस
बीमा कम्पनीहरुले आफुखुशी सीईओको तलब घटाउन नपाउने
काठमाडौं । बीमा व्यवसाय सञ्चालन गर्ने बीमा कम्पनीहरुले अब आफुखुशी प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब घटाउन नपाउने भएका छन् । जीवन तथा निर्जीवन दुबै प्रकारका व्यवसाय गर्ने कम्पनीहरुले अब समितिको स्वीकृति बिना आफ्ना सीईओको तलब तथा भत्ता घटाउन नपाउने भएका हुन् । समितिले बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन, २०७४ संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । २०७४ असोज १८ गते समितिबाट स्वीकृत भएको उक्त मार्गदर्शन समितिले २०७८ पुस २६ गते संशोधन गरेको हो । यो मार्गनिर्देशिका अनुसार कम्पनीले कार्यकारी प्रमुखलाई दिन तलब, भत्ता तथा अन्य सुविधा चार भागमा विभाजन गरेको छ । त्यसमध्येको एक अर्थात मार्गनिर्देशनको दफा ४ मा रहेको निश्चित वार्षिक तलब तथा भत्तामा भने समितिले केही परिमार्जन गरेको हो । उक्त संशोधित दफामा ‘बीमकले प्रमुख कार्यकारी अधिकृतको पुनः नियुक्ति गर्दा वा यस उपदफा बमोजिम गणना गरिएको निश्चित वार्षिक तलबभत्ता रकम यसअघि प्रदान गरिएको वार्षिक तलब तथा भत्ताभन्दा कम हुन आएमा समितिको स्वीकृति लिई अघि प्रदान गरिएको तलबभत्ता रकमसम्म प्रदान गर्न सकिनेछ’ भन्ने उल्लेख छ । उक्त मार्गनिर्देशन अनुसार जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीका सीईओले विगत तीन आर्थिक वर्षको औषत कर्मचारी खर्चको ६ प्रतिशतसम्म भक्ता पाउने व्यवस्था छ । अर्को, जीवन र निर्जीवन बीमा व्यवासाय गर्ने कम्पनीको सीईओले कम्पनीको विगत तीन आर्थिक वर्षहरुको अन्तको औषत कूल सम्पत्तिको क्रमशः ०.१ प्रतिशत र ०.५ प्रतिशतसम्म निश्चित वार्षिक तलब तथा भत्ता पाउने मापदण्ड रहेको छ । तर यी दुई मापदण्डबाट गणना गर्दा जुनबाट कम आउँछ सोही अनुसारको तलबभत्ता निर्धारण गरिने व्यस्था रहेको छ । र, यही सीमाभित्र रहि कम्पनीहरुले समितिको पूर्वस्वीकृति लिएर मात्रै सीईओको तलब तथा भत्ता थपघट गर्न पाउने समितिले जनाएको छ ।
बीमा कम्पनीहरुलाई बोनस तथा हकप्रदबाट मात्रै पुँजी पुर्याउन कठिन, कसको कति पुग्छ ?
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले कम्पनीहरुलाई पुँजी वृद्धिमा जोड दिँदै आएको छ । समितिले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम साढे २ देखि ३ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँको पुँजी पुर्याउन अनौपचारिक रुपमा निर्देशन दिइसकेको छ । कम्पनीहरुको पुँजी आधार बलियो बनाएर कम्पनी बलियो बनाउन पुँजी बृद्धि गर्न लागिएको समितिको भनाई छ । समितिले अनौपचारिक रुपमा कम्पनीहरुलाई बोनस दिएर या हकप्रद सेयर जारी गरेर भएपनि पुँजी बढाउन दवाव दिइरहेको हो । तर, कम्पनीहरुलाई बोनस र हकप्रद सेयर जारीबाट पुँजी पुर्याउन धौधौं पर्ने देखिएको छ । अधिकांश कम्पनीहरुको प्रस्तावित बोनस सेयर अनुसार उनीहरुको पुँजी समितिले तोकेको अनुसार पुग्न धेरै कठिन छ । समितिकै कारण उनीहरुलाई पुँजी बढाउनमा भने केही राहात पनि मिलेको छ । समितिले नगद लाभांशमा रोक लगाएसँगै कम्पनीहरु बोनस सेयरमा केन्द्रित भएकाले उनीहरुको चुक्ता पुँजी बढ्नमा केही राहात मिल्ने देखिन्छ । हालसम्म १६ वटा बीमा कम्पनीहरुले बोनस/हकप्रद सेयर घोषणा गरेका छन् । जसमा ९ वटा निर्जीवन बीमा र ७ वटा जीवन बीमा कम्पनीहरु रहेका छन् । ९ निर्जीवन बीमा कम्पनीमध्ये शिखर र आईएमई जनरल इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएका छन् भने बाँकीले बोनस सेयर वितरण गर्ने घोषणा गरिसकेका छन् । तर शिखर र आईएमई जनरलले अघिल्लो वर्षको नाफाबाट लाभांश वितरण गर्न पनि सक्नेछन्, हालसम्म घोषणा भने गरिसकेका छैनन् । प्रिमियर इन्स्योरेन्सले भने आर्थिक वर्ष २०७७/७८ को लाभांश प्रस्ताव गरि पारित समेत गरिसकेको छ । माघ २१ गते सम्पन्न प्रिमियरको वार्षिक साधारणसभाले प्रस्तावित १४.२५ प्रतिशत अर्थात १५ करोड ३१ लाख रुपैयाँ बराबरको बोनस सेयर पारित गरेको हो । यससँगै सो कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । शिखरको ३० प्रतिशत हकप्रदपछि चुक्तापुँजी २ अर्ब २७ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, आईएमई जनरलको ४० प्रतिशत हकप्रदपछि चुक्तापुँजी १ अर्ब ६१ करोड रुपैयाँ पुग्ने छ । १५ प्रतिशत बोनस घोषणा गरेको नेको इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ७४ करोड रुपैयाँ, प्रभुको ११ प्रतिशत बोनसपछि १ अर्ब २८ करोड, सिद्धार्थको १५ प्रतिशतपछि १ अर्ब २८ करोड र हिमालयन जनरलको ६.६५ प्रतिशत बोनसपछि १ अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल, एभरेष्ट, सगरमाथा, प्रुडेन्सियल, यूनाइटेड, जनरल, नेशनल इन्स्योरेन्सले हालसम्म वार्षिक साधारणसभा डाकेका छैनन् । त्यसैले यिनीहरुले बोनस तथा हकप्रद सेयर प्रस्ताव गर्ने सम्भावना भने अझै छ । यता अजोड र आईएमई जनरल इन्स्योरेन्सले भने यसपाली सेयरधनीको हात खाली बनाएका छन् । अजोडले बोनस तथा हकप्रद सेयर प्रस्ताव बिनै आगामी फागुन ६ गते आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ । त्यस्तै, सानिमा जनरल इन्स्योरेन्सले पुस ३० गते नै गतवर्षको सभा सम्पन्न गरिसकेको छ । यता जीवन बीमा कम्पनीमा लाभांश घोषणा गरेकामध्ये नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सको भने साधारणसभा हुन बाँकी नै छ । अब यी कम्पनीको सभाले पारित गरेपछि नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब १९ करोड रुपैयाँ र नेशनल लाइफको ४ अर्ब ३ करोड रुपैयाँ चुक्तापुँजी पुग्ने छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनले २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई फागुन ११ गते हुने इन्स्योरेन्सको वार्षिक साधारणसभामा पेश गरिदैछ । ज्योति लाइफले १० प्रतिशत बोनस प्रस्ताव गरेको छ । प्रस्तावित बोनसपछि ज्योतिको चुक्तापुँजी २ अर्ब २४ करोड रुपैयाँ पुग्ने छ । ज्योतिले प्रस्तावित १० प्रतिशत बोनस सेयर पारित गर्न आगामी फागुन ६ गते चौथो वार्षिक साधारणसभा डाकेको छ । एशियन लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । प्रस्तावित २५ प्रतिशत बोनस पछि एशियन लाइफको चुक्तापुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, १२.७ प्रतिशत बोनस सेयर घोषणा गरेको सूर्या लाइफ र १५ प्रतिशत बोनस सेयर घोषणा गरेको प्राइम लाइफको लाभांश पारित भएको छ । यससँगै यी दुई कम्पनीको चुक्तापुँजी क्रमशः २ अर्ब ५४ करोड र २ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यता रिलायन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले भने बोनस र हकप्रद मार्फत पुँजी वृद्धि गर्ने योजनामा नरहेको देखिएको छ । किनभने यीदुई कम्पनीले बोनस र हकप्रद प्रस्ताव बिनै आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् । रिलायन्स लाइफको सभाले भने सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) मात्रै वितरण गर्ने प्रस्तावलाई पारित गरेको थियो । त्यस्तै, महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी माघ २७ गते चौथो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले उक्त सभामा बोनस, नगद लगायत हकप्रद कुनैको पनि प्रस्ताव लगेको छैन ।