तनहुँमा शून्य लागतमा पशुधन बीमा

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले किसानको शून्य लागतमा पशुधन बीमा गरिदिएको छ । सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत रकम व्यहोर्ने गरी पशुधनको बीमा गरिएको हो । पशु बीमाको प्रिमियमका लागि ४० लाख विनियोजन गरिएको सो कार्यालयले जनाएको छ । व्यावसायिक रुपमा पशु फार्म सञ्चालन गरेका किसानको दुई लाखसम्मको बीमा गरिएको कार्यालयका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । पशुपालन गर्दा कतिपय अवस्थामा वस्तुले हानेर फार्म सञ्चालकको मृत्यु हुने गरेकोले किसानको समेत बीमा गरिएको उनले बताए । गत आर्थिक वर्ष सङ्घीय सरकारबाट ७५ प्रतिशत र गण्डकी प्रदेश सरकारबाट २५ प्रतिशत बीमाका लागि सहयोग प्राप्त भएकोे थियो । गतवर्ष एक हजार पाँच सय एघार किसानले ४५ लाख बराबरको प्रिमियम लिएका थिए । कार्यालय प्रमुख श्रेष्ठले भने,’यस वर्षको साउनदेखि हालसम्म दुई सय किसानले पशु बीमा गराएका छन्, पछिल्लो समय बीमातर्फ किसानको आर्कषण बढ्दै गएको पाइन्छ ।’ पशुपालक किसानमा बीमा गर्नुपर्छ भन्ने चेतना आएको छ । कुनै वर्ष किसानले पशुको बीमा नगर्दा विनियोजित बजेट पनि फ्रिज भएर फिर्ता भएको थियो । गतवर्ष स्रोह हजार ६२९ पशुको बीमा गराउँदा ४० करोड २० लाख बीमाङ्क रकम बराबरको पशुधन बीमा भएको थियो । यसरी पशुधन बीमा गराउँदा कुनै कारणले पशुको मृत्यु भएमा ९० प्रतिशतसम्म किसानले क्षतिपूर्ति पाउने भएकोले ठूलो क्षति हुनबाट जोगाउन सकिने हुँदा पशुधन बीमालाई प्राथामिकतामा राखिएको हो । मासु, अण्डा र दूधमा जिल्ला आत्मनिर्भर भई बाह्य जिल्लामा निर्यातसमेत गर्न थालिसकेको बताइएको छ । दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत किसानलाई प्रतिलिटर दूधमा साढे दुई रुपैयाँ अनुदान दिन थालिएको छ । रासस

हिमालयन जनरलका नवनियुक्त सीईओले आईतबारदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहले आईतबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । गत बुधबार कम्पनीको सीईओ पदमा नियुक्त भएका सीईओ शाहले आगामी आइतबार अर्थात फागुन १ गतेदेखि कार्यभार सम्हाल्न लागेका हुन् । गत माघ २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सीईओ सुशील बज्राचार्यलाई बिदाइ गर्दै शाहलाई नयाँ सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार नवनियुक्त सीईओले फागुन १ गतेदेखि कार्यभार सम्हाल्ने बताएको छ । यता सीईओ शाहले पनि आइतबारदेखि कम्पनीमा हाजिर हुने विकासन्युजलाई जानकारी गराएका छन् । शाहको नियुक्ति स्वीकृतिको लागि कम्पनीले गत बुधबार नै बीमा समितिमा पत्र समेत पठाइसकेको छ । तर, बीमा समितिले भने हालसम्म स्वीकृति दिइसकेको छैन र स्वीकृति दिने प्रकृयामै रहेको समिति श्रोतले बतायो । कम्पनीका तत्कालिन सीईओ बज्राचार्यले डेढ वर्ष अघि नै कम्पनीबाट बाहिरिएका हुन् । २०७६ साउन १ गते ४ वर्षको लागि नियुक्त भएका बज्राचार्य डेढ वर्ष अघि नै इन्स्योरेन्सको उक्त पदबाट बाहिरिएका हुन् । कम्पनीले आपसी सहमतिमा करार संशोधन गरी उनको कार्यकाल यही माघ मसान्तसम्मको लागि कायम गर्ने निर्णय गरेसँगै उनी कम्पनीबाट बिदा भएका हुन् । सम्बन्धित सामाग्री: को हुन् सीईओ शाह ?

महालक्ष्मी लाईफले सहायक कम्पनी ल्याउने, कार्ययोजना बनाउन भयो सहमति

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले सहायक कम्पनीले ल्याउने भएको छ । इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभामा कम्पनीको सहायक कम्पनी ल्याउने विषयमा छलफल भई आगामी साधारण सभामा विस्तृत कार्ययोजना ल्याउने सहमति भएको हो । त्यस्तै, सभाले सरकारको कोरोना कोषमा जम्मा गरेको रकमको अनुमोदन गरेको छ । इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभाले सरकारको कोरोना कोषमा जम्मा गरेको ७ लाख ५० हजार रुपैयाँ खर्चको अनुमोदन गरेको हो । इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा माघ २७ गते कमलपोखरी काठमाडौंमा सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए । त्यस्तै, सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पास गरेको छ । र,  स्वतन्त्र संचालक रविराज भट्टराईको नियुक्ति समेत अनुमोदन गरेको छ ।