लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा
काठमाडौं । एनएजली इन्स्योरेन्स कम्पनीले आगामी चैत १७ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान साढे १० बजे बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा सोह्रौं वार्षिक साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको लाभांश प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशित बोनस बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ छ । प्रस्तावित १० प्रतिशत लाभांश पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ नाघ्ने छ । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने २ जनालाई सञ्चालकको निर्वाचन गर्दै छ । त्यस्तै, सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी चैत ६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै चैत ५ गतेसम्म कायम सेयरधनीले इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने छन् ।
परिसंघद्वारा विभिन्न १५ महिलालाई सम्मान, उपासना पौडेलदेखि बैंकर खुञ्जेलीसम्म सम्मानित
काठमाडौं । नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय रहेका महिलाहरूलाई सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा परिसंघले आफ्नो क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका रेणु शर्मा, कमला उप्रेती, उमा तामाङ, शर्मिला श्रेष्ठ, प्रकृति भट्टराई बस्नेत, प्रतिमा थापा, अलिशा श्रेष्ठ, निलम पाण्डे, अनुपमा खुँजेली, उपासना पौडेल, आँचल कुँवर, सुमिति शाक्य, गीता श्रेष्ठ, सोना खातिक र महिलाबाट नेतृत्व प्रदान भएको गोरख काली गुल्मलाई सम्मान गरेको हो । परिसंघले महिलालाई अघि बढ्न उत्प्रेरित गर्न सहयोग गर्ने पुरुषहरूलाई पनि सम्मान गरेको छ। परिसंघले महिलाहरूलाई प्रोत्साहन गर्ने प्रभुराम भण्डारी, शम्भु धमला, अभयशंकर श्रेष्ठ, डम्बर खनाल, बिक्रम श्रेष्ठ, दिनेशबहादुर श्रेष्ठ, अमिरप्रताप राणा, ललितकुमार लोहिया, डा रवीन्द्र खुँजेली, द्विराज शर्मा, अरुणध्वज अधिकारी, इयान ओक्ले वाल, निर्वाण चौधरी र प्रनेश शर्मालाई सम्मान गरेको हाे । कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधान सिंहले नयाँ पुस्तालाई उद्यमशीलतातर्फ प्रोत्साहन गर्न आग्रह गरिन् । उनले लैंगिक समतामूलक समाज निर्माणका लागि सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताइन् । उनले संस्थागत सामाजिक उत्तरदायित्वको रकम महिला सशक्तीकरण र महिला उद्यमशीलता विकासमा लगाउन व्यावसायिक संस्थाहरूलाई आग्रह गरिन् । यस्तै कार्यक्रममा परिसंघका कार्यबाहक अध्यक्ष निर्वाण चौधरीले महिलाहरूलाई अर्थतन्त्रको मूलप्रवाहमा ल्याउँदै दीगो आर्थिक विकासको आधार तयार गर्नुपर्ने बताए । दक्षिण एसियामा नेपालले महिलाहरूलाई वित्तीय पहुँच विस्तारमा उल्लेखनीय काम गरिरहेको पनि उनले बताए । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस मंगलबार मनाइँदैछ ।
जनरल इन्स्योरेन्सको अर्धवार्षिक मार्केटिंग कन्फेरेन्स सम्पन्न
काठमाडौं । जनरल इन्स्योरेन्सको अर्धवार्षिक मार्केटिंग कन्फेरेन्स २०७८ सम्पन्न भएको छ । इन्स्योरेन्सको पोखराको होटेल एल्लो प्यागोडामा फागुन १९,२० र २१ गते कन्फेरेन्स सम्पन्न भएको हो । कम्पनीका बजार विभागका कर्मचारीहरु, उच्च व्यवस्थापक तथा संचालक सदस्यहरु सहभागी रहेको उक्त कन्फरेन्समा शाखा कार्यलयहरुको विगत वर्षहरुको समिक्षा, कार्यप्रगति, समस्या र त्यसका समाधान र आगामी बर्षका रणनितिक योजना हरु पनि छलफल भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ट शाखा र उत्कृष्ट बजार कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।