टाेखामा स्वास्थ्य बीमा सदस्यता दर्ता सुरु
काठमाडौं । टोखा नगरपालिकामा स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा सोमबारदेखि स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरिएको छ । यसअघि ‘मेयर दीर्घायु कार्यक्रम’ सुरु गरेको टोखाले स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आफ्नो स्वास्थ्य बीमा दर्ता गरी कार्यक्रमको शुभारम्भ गरे । सो अवसरमा नगरप्रमुख अधिकारीले नगरवासीलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको जानकारी दिए । उनले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन सबै नगरवासीलाई आग्रहसमेत गर्नुभयो । टोखाले नगरवासीलाई छिटोछरितो र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नगरप्रमुख अधिकारीको भनाइ छ । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरवासीलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्वास्थ्य बीमा दर्ता कार्यक्रम सुरु गरिएको जानकारी दिए । सो कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिलप्रसाद जोशी, विभिन्न वडाका वडाअध्यक्ष एवं जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रभु लाइफबाट बाहिरिए पौडेल, प्रसाई सीईओ बन्दै
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । आफ्नो ४ वर्षे कार्यकाल पुग्न १ वर्षभन्दा बढी समय बाँकी छदै पौडेलले पदबाट राजीनामा दिएका हुन् । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएका पौडेललाई प्रभु लाइफले २०७६ साल साउन १ गतेदेखि ४ वर्षको लागि सीईओमा नियुक्ति दिएको थियो । पौडेलले दिएको राजनीतिमा संचालक समितिले फागुन १८ गते स्वीकृत गरिसकेको छ । उनको राजीनामा चैतदेखि लागू हुनेछ । कम्पनी संचालक समितिले चार्टर्ड एकाउन्टेन्ट सन्तोष प्रसाईलाई कन्सल्ट्याण्टको रुपमा भित्र्याएको छ । प्रसाईलाई सीईओ बनाउने गरी कन्सल्ट्याण्ट बनाएर भित्र्याएको महसुस गरेर पौडेलले राजीनामा दिएका हुन् । प्रसाईलाई चैत ७ गतेदेखि लागू हुने गरी कन्सल्ट्याण्टका रुपमा कम्पनीमा नियुक्ति दिइएको छ । प्रसाई नेपाल लाइफ इन्स्यारेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतबाट बीचमै राजीनामा दिएर बसेका सीए हुन् । उनले नेपाल लाइफ छोडेको ६ महिना आगामी बैशाख २२ गते पूरा हुँदैछ । कुनै कम्पनीको प्रमुख कार्यकारी अधिकृतले जिम्मेवारीबाट अलग भएको ६ महिना पछि मात्रै अर्काे कम्पनीको सोही पदमा जान पाउने नीतिगत व्यवस्था बीमा समितिले गरेको छ । समितिको सो व्यवस्थाको कारण प्रसाईलाई तत्काल सीईओ बनाएर प्रभु लाइफमा भित्र्याउन नसक्ने अवस्था सिर्जना भएपछि कन्सल्ट्याण्टको रुपमा भित्र्याइएको र कुलिङ पिरियड सकिएपछि सीईओ बनाइने स्रोतले जानकारी दियो ।
हिमालयन जनरल इन्स्योरेन्सको लाभांश पारित, चुक्ता पुँजी १ अर्ब १७ करोड पुग्यो
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको लाभांश पारित भएको छ । कम्पनीको २८ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनश सेयर र त्यस वापत लाग्ने कर प्रयोजनका लागी नगद लाभांस पारित गरेको हो । २८ औं वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वित्तिय विवरण, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र र नियमावलीमा संसोधन पारित गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको खुद प्रिमियम तर्फ ६.४० प्रतिशतले वृद्धि भयो भने बीमा कोष ५६ करोड १९ लाखबाट बढेर ६१ करोड ७० लाख पुगेको छ । यसका साथै कम्पनीको रिटेन्ड अर्निङ्ग ७ करोड ८० लाखबाट बढेर ८ करोड ३० लाख पुग्न सफल भएको छ । चालु वर्षको बोनश समेत गरी हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड पुगेको छ । सभाले कुल प्रिमियम आम्दानी १ अर्ब ८ करोड रहेको हालको अवस्थालाई वृद्धि गर्न तथा कम्पनी विस्तार गर्नका निमित्त यथोचित मर्जर प्रस्तावलाई निरन्तरता दिने जनाएको छ ।