प्रभु लाइफ इन्सोरेन्सले बोलायो साधारण सभा
काठमाडौं । प्रभु लाइफ इन्सोरेन्सले आगामी चैत्र ६ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सो दिन बिहान ११ बजे र्याडिसन होटलमा चौथो वार्षिक साधारण सभा बोलाएको हो । सभामा भाग लिनका लागि प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीले आगामी चैत्र २ गते भित्र नाम दर्ता गराइ सक्नुपर्नेछ । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने छ । त्यस्तै , चालु आर्थिक वर्षको लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमित तोक्ने सम्बन्धमा सभाले छलफल गर्ने छ ।
वोमी र सूर्यदय लघुवित्तलाई मर्जर स्विकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त र सूर्यदय लघुवित्त वित्तिय संस्थालाई मर्जरको लागि अन्तिम स्विकृति प्रदान गरेको छ । राष्ट्र बैंकले वोमी लघुवित्त र सूर्यदय लघुवित्त वित्तिय संस्थालाई मर्जरको लागि फागुन १२ गते अन्तिम स्विकृति प्रदान गरेको हो । स्याङ्जाको पुतलीबजारमा केन्द्रीय कार्यालय रहेको सूर्योदय र काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको वोमी लघुवित्तबीच मर्जरपछि संस्थाको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था हुने बताइएको छ ।
एलआईसी नेपालकाे २१.०५२ प्रतिशत लाभांश पारित
काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल २१.०५२ प्रतिशत लाभांश पारित गरेकाे छ । कम्पनीकाे ९ औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनश सेयर र १.०५२ प्रतिशत नगद लाभांश पाउने छन् । एलआईसीले आ.व.२०७६/७७ मा कूल १,५०,६२९ नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशूल्क आम्दानी बापत ३७५२.९७ करोड आर्जन गर्न सफल भएको र उक्त आ.व. को अन्त्यमा ७,६४,३७८ बीमालेखहरूमा सेवा प्रदान गरिरहेको जानकारी दिएकाे छ । २०७७ आषाढ मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष २४.१७ प्रतिशतले बढेर ६६८४९.६९ मिलियन भएकाे छ जुन अहिलेसम्मकै उच्च बिन्दु हाे । कम्पनीको गत आर्थिक वर्षमा लगानीबाट हुने आम्दानी १६.११ प्रतिशतले बढेको थियो । त्यसैगरी साधारण सभाले कम्पनीको केही संस्थापक शेयरधनीहरुको आफ्नो स्वामित्वमा भएको कूल १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गरी कम्पनीको संस्थापक शेयर र सर्वसाधारणको अनुपात ७०:३० कायम गर्ने प्रस्तावलाई सर्वसहमतिले पारित गरेको छ ।