सीआईटीलाई अर्थमन्त्रीको सुझाव : पैसा बैंकमा राखेर ब्याज खाने काम बन्द गर्नुस्
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले लगानी योग्य रकम बैंक तथा वित्तीय संस्थामा राखेर ब्याज खाने प्रवृतिको अन्त्य हुनुपर्ने बताएका छन् । कोषको ३२औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले नागरिक लगानी कोष (सीआईटी) को लगानी योग्य रकम बैंकमा नभई राष्ट्रिय पूर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताएका हुन् । कोषका अनुसार हाल संस्थाको एक खर्ब ५ अर्ब रुपैयाँ बैंकमा डिपोजिट रहेको छ । जुन रकम कोषमार्फत नभई लगानी योग्य क्षेत्रबाट बैंकिङ्ग प्रणालीमा पठाउनु पर्ने अर्थमन्त्रीले बताएका छन् । ‘आजको दिनमा कोषको एक खर्ब लगानीयोग्य रकम रहेछ, तर आज बैंकको व्याजमा हामी चलिरहेका छौं, यसको अन्त्य गर्नुपर्छ, बैंकमा जाओस् तर लगानी गरेको क्षेत्रमार्फत जाओस्, कोषमार्फत होइन, कोष मार्फत बैंकको मात्र व्याज खाइराखियो भने कुनै उपलब्धि हुँदैन,’ शर्माले भने । पैसा कहाँ हराएको छ, खोज्दै छु : अर्थमन्त्री शर्मा साथै, लगानी भित्र्याउन अर्थमन्त्रालयले विभिन्न उपायहरू गरिरहेको बताउँदै मन्त्री शर्माले राष्ट्रका ठूल ठूला पूर्वाधार क्षेत्रमा लगानी गर्न चाहिने सयौं अर्ब पुँजी जुटाउन डेभलपमेन्ट फण्डहरुको आवश्यक रहेको बताएका छन् । जसको लागि मन्त्रालयले डाइरेक्ट इन्भेष्टमेन्ट फण्डहरुको विकास गरिरहेको उनले जानकारी गराए । उनका अनुसार विदेशमा रहेका नेपालीहरुको समेत लगानीको वातावरण बनाउन सञ्चित लगानी कोष निर्माण गर्ने तयारी भइरहेको छ । उनीहरुको पुँजीलाई राम्रो रिटर्नहुने योजनाहरुमा लगानी गरिदिने तर्फ मन्त्रालयको ध्यान गइरहेको छ । त्यसैगरी, डेभलपमेन्ट लट्रीहरुको बारेमा पनि छलफल भइरहेको मन्त्री शर्माले बताए । विभिन्न क्षेत्रमा छरिएर रहेको पुँजीलाई केन्द्रित गरेर लगानी मार्फत देशमा रोजगारी, आर्थिक वृद्धि गर्नुपर्ने आवश्यकता छ । त्यसको लागि नागरिक लगानी कोष जस्ता अन्य संस्थाहरुको आवश्यकता रहेको मन्त्री शर्माको भनाई छ । कोष जस्तै संस्थाहरुले सृजना गरेको रकमलाई प्रभावकारी बनाउनुपर्ने भन्दै मन्त्री शर्माले अहिले मुलुकलाई १७/२० खर्बको लगानी जुटाउन आवश्यक रहेको बताए । उनले मुलुकको स्तारोन्नतीको लागि उक्त रकम आवश्यक भएकोमा जोड दिए । नेपाल वायु सेवा निगमलाई कोषले प्रवाह गरेको ऋणको सम्बन्धमा मन्त्री शर्माले सरकारले जमानत बसेर लिएको ऋणको जिम्मेवारी सरकारले नै पुरा गर्ने भन्दै यसको लागि सम्बन्धित संस्थालाई पनि जिम्मेवार बनाउनु सरकारको कर्तव्य भएको बताए । आयातमा भएको बृद्धिले शोधनान्तर स्थितिमा समस्या आएको भन्दै अर्थमन्त्री शर्माले उत्पादनमा लगानी गर्दै निर्यातलाई सन्तुलित बनाउनु पर्ने बताए । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक भएको बताएका छन् । सेयर बजारमा लगानी कोषको भुमिका महत्वपुर्ण हुने भन्दै कोषसंग सहकार्य गर्न बोर्ड तयार रहेको उनको भनाई थियो । कार्यक्रमलाई स्वागत गर्दै कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले अहिले विभिन्न १२ वटा कार्यक्रममा करीव ८ लाख भन्दा बढी सहभागीहरुलाई आबद्ध गराई आफ्नो सेवा देशभर पुर्याइरहेको बताए । कोषको चुक्ता पुँजी ३ अर्ब २७ करोड रुपैया पुगेको छ भने चालु आर्थिक बर्षको पुस मसान्तसम्म कोषको खुद मौज्दात रकम १ खर्ब ८४ अर्ब ९० करोड रुपैया रहेको छ । यो अवधिमा कोषले १ खर्ब ८३ अर्ब ९१ करोड लगानी गरेको छ । कोषले लगानी गर्दा सुरक्षित र उच्च प्रतिफल मुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने बिषयलाई कोषले उच्च प्राथमिकता दिएको पनि कार्यकारी निर्देशक नेपालले बताए । कोषले पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने उदेश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भई संचालनमा आइसकेको छ । कम्पनीमा कोषको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ भने पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुटयाइएको छ । नागरिक स्टक डिलर नेपालको पहिलो स्टक डिलर कम्पनीको रुपमा रहेको पनि नेपालले बताए । कोषका विभिन्न कार्यहरुलाई थप व्यवस्थित गर्न कार्यविधिलाई कार्यान्वयनमा ल्याइसकेको उनको भनाई थियो । कार्यकारी निर्देशक नेपालले कोषले आवास कर्जा बापत सहभागीलाई १५ वर्षको सुरु तलबमानको रकम वा ८० लाख रुपैया मध्ये जुन कम हुन्छ सो बराबरको रकम प्रदान गर्ने कार्य सुरु गरी सकेको धारणा राखे । उनले कोषका कार्यक्रममा पति, पत्नि दुवै सहभागी भएको भए आवास कर्जा सिमालाई १ करोड रुपैयाँ सम्म सुबिधा प्रदान गर्ने कार्य सुरु गरीसकेको जानकारी दिए । सो अवसरमा कोषका संचालक इश्वरीप्रसाद अर्यालले कोषमा सिमित जनशक्ति रहेपनि संचालन देखी कोष नाफामा गएको बताउँदै कोषले सिमित क्षेत्रमा रहेको लगानीको अवधारणलाई विस्तार गर्नुपर्ने बताए । त्यसैगरी, कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष देव गुरागाइले नागरिक पेन्सन योजनालाई बजेटमा समावेश गर्नुपर्ने, बजेट मार्फत कर छुटको सिमा बढाउनुपर्ने, कोष सरहकै अन्य संघ संस्थाले पाउने सुविधा कर्मचारीले पाउनुपर्ने धारणा राखेका थिए । उक्त विषयमा बोल्दै अर्थमन्त्री शर्माले सरकारले कर छुटमा सबैलाई समान व्यवहार गर्नुपर्ने बताए । ‘अर्थमन्त्रालय भनेको सबैको अभिभावक हो, त्यसैले उसले आफ्नो सन्ततिलाई अभाव पनि नहोस्, बढी पनि नहोस् भन्नेमा ध्यान दिनुपर्छ, त्यसो गरिएन भने अभिभावको भूमिका पुरा हुँदैन, जुन नीति ल्याइने छ,’ उनले भने । साथै, कोष बलियो बनाउनको लागि युनियनयका कर्मचारीहरुको पनि एकीकृत भएर लाग्नु पर्ने उनको सुझाव छ । उक्त वार्षिकोत्सवको अवसरमा कोषले २० वर्ष सेवा पुगेका र उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेको थियो ।
सेयरमा ननलाइफ इन्स्योरेन्सको लगानी : जनरल र प्रिमियरले शतप्रतिशत बढाउँदा अन्यले कति ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासमा एक अर्ब ६६ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेका छन् । जुन अघिल्लो त्रैमासको तुलनामा ३३.१७ प्रतिशतले कम हो । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा दुई अर्ब ४९ करोड २८ लाख रुपैयाँ सेयर लगानी गरेका कम्पनीहरुले दोस्रो त्रैमासमा भने ८२ करोड ३० लाख रुपैयाँले घटाएका हुन् । बीमा समितिका अनुसार सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीमध्ये १७ कम्पनीले सूचीकृत कम्पनीको सेयरमा सो मात्राको लगानी गरेका हुन् । दि ओरियण्टल र नेशनल इन्स्योरेन्सले भने चालु आर्थिक वर्षमा सूचीकृत कम्पनीको सेयरमा लगानी नगरेको समितिले जनाएको छ । लगानी गरेका कम्पनीमध्ये अधिकांशले बढाएका छन् । जसमध्ये जनरल र प्रिमियर इन्स्योरेन्सले शतप्रतिशत अर्थात १०० प्रतिशतभन्दा बढीले बढाएका छन् । त्यसमा पनि सबैभन्दा बढी जनरल इन्स्योरेन्सले १३२.८१ प्रतिशत र प्रिमियर इन्स्योरेन्सले १०६.२४ प्रतिशतले लगानी वृद्धि गरेका छन् । पहिलो त्रैमासमा ४६ लाख ८७ हजार रुपैयाँ मात्रै लगानी गरेको जनरल इन्स्योरेन्सले दोस्रो त्रैमासमा एक करोड नौ लाख रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सले दोस्रो त्रैमास (अर्थात कातिकदेखि पुस) मा ३१ करोड २० लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो त्रैमास (साउनदेखि असोज) मा १५ करोड १२ लाख रुपैयाँ मात्रै गरेको थियो । सूचीकृत कम्पनीको सेयरमा नेपाल इन्स्योरेन्सको लगानी भने पहिलो र दोस्रो त्रैमासमा बराबर रहेको छ । पहिलो त्रैमासमा ११ करोड ३७ लाख रुपैयाँ लगानी गरेको कम्पनीले दोस्रो त्रैमासमा पनि सो मात्राको लगानी गरेको पाइएको छ । त्यस्तै, पहिलो त्रैमासमा लगानी गरेकाले दोस्रो त्रैमासमा लगानी गरेका छैनन् भने पहिलोमा नगरेकाले दोस्रो त्रैमासमा भने गरेका छन् । पहिलो त्रैमासमा ८५ करोड ९५ लाख रुपैयाँ लगानी गरेको राष्ट्रिय बीमा कम्पनीले दोस्रो त्रैमासमा भने कति पनि लगानी गरेको छैन । उता पहिलो त्रैमासमा सूचीकृत कम्पनीको सेयरमा लगानी गर्दै नगरेको सानिमा इन्स्योरेन्सले भने दोस्रो त्रैमासमा ३४ लाख रुपैयाँ गरेको छ । पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा लगानी बढाउने कम्पनीमा जनरल र प्रिमियर इन्स्योरेन्ससहित ७ कम्पनीले बढाएका छन् । जसमा नेको, लुम्बिनी जनरल, हिमालयन जनरल, एभरेष्ट, आईएमई जनरल र प्रभु इन्स्योरेन्स छन् । त्यस्तै, शिखर, सिद्धार्थ, सगरमाथा, एनएलजी, प्रुडेन्सियल, युनाइटेड र अजोड इन्स्योरेन्सले भने सूचीकृत कम्पनीको सेयरमा कम लगानी गरेका छन् । यीमध्ये अजोड इन्स्योरेन्सले सबैभन्दा बढी प्रतिशतले घटाएको छ । इन्स्योरेन्सले पहिलो त्रैमासको तुलनामा ६१.४१ प्रतिशतले घटाएर चार करोड ६१ लाख रुपैयाँ मात्रै लगानी गरेको छ । त्यस्तै, सबैभन्दा कम प्रतिशतले घटाउने भने सगरमाथा इन्स्योरेन्स छ । पहिलो त्रैमासमा २० करोड २९ लाख रुपैयाँ लगानी गरेको कम्पनीले दोस्रोमा १९ करोड ६३ लाख रुपैयाँ मात्रै गरेको छ । जुन ३.२७ प्रतिशतले घटी हो । निर्जीवन बीमा कम्पनीको तुलनामा जीवन बीमा कम्पनीको सेयर लगानी भने बढीले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको औसत लगानीदर ३३.०७ प्रतिशतले घटेको छ भने जीवन बीमा कम्पनीहरुको ४५.८५ प्रतिशतले घटेको छ । जीवन बीमा कम्पनीको सेयर लगानी घट्यो, कसको कति ? समग्रमा बीमा व्यवसाय (जीवन र निर्जीवन) बाट कूल १० अर्ब १६ करोड रुपैयाँ (सूचीकृत कम्पनीको) सेयरमा लगानी भएको छ । जुन पहिलो त्रैमासको तुलनामा ४४.०९ प्रतिशतले घटी हो । बीमा कम्पनीहरूले पहिलो त्रैमासमा १८ अर्ब १८ करोड रुपैयाँ लगानी सेयरमा गरेका थिए । सामान्यतः बजारमा बढी जोखिम देखेकाले लगानी घटाएको र कम जोखिम देखेकाले लगानी बढाएको बुझिन्छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरूले सेयर बजारमा गर्दै आएका लगानी घट्नुले उनीहरूले उक्त क्षेत्रमा जोखिम देखेर बाहिरिएका हुन सक्ने बताएका छन् । ‘हामीले कम्पनीहरूलाई लगानी निर्देशिका २०७५ अनुसारकै सीमाभित्र रहेर लगानी गर्न खुला छोडिदिएका छौं, हाल त्यसमा कडाइ तथा परिमार्जन केही पनि गरिएको छैन, कम्पनीहरूले बजारमा रिक्स देखे होला, त्यसैले पनि बजारमा कम लगानी गरेका होलान्,’ प्रवक्तासमेत रहेका पौडेलले विकासन्युजसँग भने । यस्तो छ लगानी व्यवस्था कम्पनीले समितिको निर्देशन अनुसार नै सेयर बजारमा लगानी गर्दै आएका छन् । बीमा समितिले बीमा कम्पनीहरूलाई सूचीकृत कम्पनीको सेयरमा अधिकतम १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ । र, समितिको बीमकको लगानी निर्देशिका, २०७५ अनुसार बीमा कम्पनीहरूले घरजग्गा, सेयर बजारलगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् जसको लागि समितिले लगानी सीमासहित लगानीको शर्त पनि तोकिदिएको छ । सो अनुसार कम्पनीहरूले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न पाउने भएका हुन् । उनीहरूले कूल टेक्निकल रिजर्भको दश प्रतिशतसम्म लगानी गर्न पाउने छन् । तर, सेयर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी हुने गरी लगानी गर्न नपाइने शर्त राखिएको छ । कम्पनीहरुले साधारण सेयरमा मात्रै नभई नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा पनि २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । तर, लगानी गरिने कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी हुन नपाइने शर्त तोकिएको छ । यससँगै विनिमय बजारमा सूचीकृत कम्पनीको सुरक्षित डिबेन्चर, नागरिक लगानी कोष तथा म्युचुअल फण्डको लगानी योजनाहरूमा पनि बीमा कम्पनीहरूले लगानी गर्न पाउने व्यवस्था छ ।
१८ सय विद्यार्थीसँग सिटिजन लाइफ, दियो बीमा शिक्षा
काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रदेश न ३, ४ र ५ मा ‘विद्यार्थीसँग बीमा’ कार्यक्रम सञ्चालन गरेको छ । इन्स्योरेन्सले उक्त कार्यक्रममा विभिन्न स्कुल कलेजका करिब १८ सय विद्यार्थीलाई बीमाबारे जानकारी दिएकाे थियाे । विद्यार्थीले बीमाबारे ज्ञान हासिल गरेमा यस प्रति उनीहरुको आकर्षण बढ्ने र दीर्घकालीन रुपमा जनशक्ति अभावलाई पूर्ति गर्न कोशेढुङा सावित हुने कम्पनीले बताएकाे छ । यसअघि पनि सिटिजन लाइफले यो जागरण अभियानलाई निरन्तर रुपमा गर्दै आइरहेकोमा आज एकैदिन २० वटा कलेजमा गई सो अभियान सञ्चालन गरेको भने यो पहिलो पटक हो । व्यावसायिकतामा समेत अब्बल प्रदर्शन गर्दै यस कम्पनीले यस आर्थिक वर्षको माघसम्म आइपुग्दा १९ वटै कम्पनीमा आफूलाई टप ३ मा उभ्याउन सफल भएको छ । भोलिका दिनहरूमा समाजलाई बीमासम्बन्धी सकारात्मक प्रभाव पार्ने थप नविनतम कार्यक्रमहरू गर्ने योजना रहेको कम्पनीले जनाएकाे छ ।