बिएण्डसीद्वारा विपन्नलाई निःशुल्क बीमा
झापा । पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बीएण्डसी मेडिकल कलेजले मानवीय सेवाका गतिविधिलाई तीव्रता दिएको छ । आफ्नो सामाजिक उत्तरदायित्तत्वअन्तर्गत अस्पतालले पछिल्लो समय निःशुल्क स्वास्थ्य बीमा, विपन्न समुदायमा खानेपानी तथा खेतीपातिका लागि कल वितरण तथा विद्यालय भवन निर्माणमा सहयोगी हात अगाडि बढाइराखेको छ । यसैक्रममा अस्पतालले गत सोमबार बाह्रदशी गाउँपालिकाकाको वडा नम्बर १ देखि ७ सम्मका एक हजार ५०० भन्दा बढी विपन्न परिवारको निःशुल्क बीमा गरिदिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त बीमा कार्यक्रममा आर्थिक अभावकै कारण आवद्ध हुन नसकेका ती गरिब परिवारलाई कार्यक्रममा आबद्ध हुन लाग्ने शुल्क तीन हजार ५०० अस्पतालले सहयोग गरिदिएको हो । यसबाट ती नागरिकले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पताललबाट दुई लाखसम्मको सेवा निःशुल्क पाउने जनाइएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गर्दै भने, ‘स्वास्थ्य उपचारको अभावका अकालमा कोहीले मृत्युवरण गर्नुपर्दैन । स्वास्थ्य सेवाको सहज पहुँचका लागि म सहयोग गर्न सधैं तयार छु । बीमा भएपछि दुई लाखसम्मको सेवा बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पताललबाट उपलब्ध हुनेछ । झापाको कर्णाली भनेर चिनिएको बाह्रदशीका नागरिकका लागि आफूले सेवा गर्न पाएकोमा म खुसी छु ।’ प्रदेशसभा सदस्य वसन्त बानियाँले संविधान प्रदत्त स्वास्थ्यका अधिकार कार्यान्वयन गर्न राज्यले नसकिरहेका अवस्थामा समाजसेवी प्रसाईंको मानवीय सेवा उदाहरणीय रहेको बताए । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा वीरेन्द्र यादवले विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका साथसाथै महिलाका लागि निःशुल्क क्यान्सर ‘स्क्रिनिङ’कार्यक्रम जारी रहेको जानकारी दिए । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा विपन्न नागरिकको स्वास्थ्य, शैक्षिक तथा आर्थिक जीवनस्तर माथि उकास्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत बर्सेनि १० करोड खर्च गर्ने जनाएको छ । कार्यकारी निर्देशक प्रसाईंले हालै कचनकवल गाउँपालिका-४ केचनामा खानेपानी तथा खेतीपातीका लागि आवश्यक २०० कल वितरण गरेको थियो । यसबाट ती गाउँका १०० अतिविपन्न मुस्लिम समुदायलाई ठूलो सहयोग मिलेको जनाइएको छ । जिल्लाकै हल्दिबारी र कचनकलवका अतिविपन्न तीन हजार परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने अस्पताले तयारी गर्दैछ । रासस
लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा गल्फ टुर्नामेन्ट हुँदै, विजेतालाई १५ विधामा पुरस्कार
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा ‘ओपन गल्फ टुर्नामेन्ट २०२२’ हुने भएको छ । कोरोना संक्रमणको कारणले गत दुई वर्षदेखि हुन नसकेको उक्त गल्फ टुर्नामेन्ट आगामी चैत ११ गतेदेखि हुन लागेको हो । इन्स्योरेन्सले बुधबार एक पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता दुई दिनसम्म हुने जानकारी गराएको हो । प्रतियोगिता चैत ११ गते र चैत १२ गते त्रिभुवन विमानस्थल परिसरस्थित रोयर नेपाल गल्फ कोर्समा हुने छ । उक्त प्रतियोगिता बिहान ८ बजेदेखि सुरु हुनेछ । जसमा १२० जना खेलाडीहरू सहभागी हुने इन्स्योरेन्सले जनाएको छ । महिला पुरुष दुवै सहभागी हुन पाउने उक्त प्रतियोगितामा १० जना महिला र बाँकी पुरुष खेलाडी हुने आयोजकले जनाएको छ । त्यसमध्ये ९ देखि १४ वर्षसम्मका १६ जना जुनियर खेलाडी हुने छन् भने १८ वर्षभन्दा माथिका स:शुल्क खेल्न पाइने उक्त प्रतियोगिताको लागि इच्छुक तथा योग्यता पुगेका खेलाडीले बिहीबार(चैत १० गते) सम्ममा नाम दर्ता गराइसक्नु पर्ने हुन्छ । रोयल नेपाल गल्फका कोषाध्यक्ष मधुर शिन्याका अनुसार उक्त प्रतियोगितामा रोयल नेपाल गल्फका सदस्य, इन्स्योरेन्स र गैर सदस्य अतिथिहरु योग्य हुनेछन् । साथै, उक्त प्रतियोगितामा सहभागी विजेता खेलाडीहरुलाई विभिन्न १५ विधाका पुरस्कार वितरण गरिने छ । जसमा नगद पुरस्कारको व्यवस्था भने छैन । यो एमाच्योर गल्फ टुरनामेन्ट भएकोले नगद पुरस्कारको व्यवस्था नरहेको कोषाध्यक्ष शिन्याले बताए । इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत खेलकुद विकासको लागि उक्त प्रतियोगिताको प्रायोजन गरेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एनपी प्रधानले बताए । कम्पनीले यसअघि पनि दुई पटक सन् २०१८ र २०१९ मा गल्फ टुरनामेन्टको प्रायोजन गरेको थियो । त्यसपछि कोराना संक्रमणका कारण सन् २०२० र २०२१ मा भने कार्यक्रम हुन नसकेकोले बताउँदै पुनः यसलाई निरन्तरता दिइएको सीईओ प्रधानले बताए ।
बोनस सेयरको लागि सिद्धार्थ इन्स्योरेन्सले तोक्यो बुक क्लोज
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आगामी चैत १७ गते बुक क्लोज गर्न लागेको छ । इन्स्योरेन्सले लाभांश तथा साधारण सभाको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनी आगामी चैत ३० गते २०औं वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभा सो दिन बिहान साढे १० बजे काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभा कक्षमा हुँदै छ । सभाले सञ्चालक समितिको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । यससँगै चैत १६ गतेसम्म कायम सेयरधनीले इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने छन् । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ छ । १५ प्रतिशत बोनसपछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ ।