पुँजी वृद्धिले बीमामा उछाल : बढी कारोबार गर्नेमा अधिकांश बीमा कम्पनी, ४ वटामा लाग्यो सर्किट
काठमाडौं । आइतबारको सेयर बजारमा बीमा कम्पनीमा उछाल देखिएको छ । कम्पनीहरुको पुँजी वृद्धिको निर्णयसँगै बजारमा निर्जीवन र जीवन बीमा दुबै कम्पनीमा चमक देखिएको हो । यससँगै कारोबार खुलेको केही समयैमा अधिकांश कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भइरहेको छ । ११ बजेर १६ मिनेट जाँदासम्म ४ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भइसकेको छ । जसमध्ये सानिमा जनरल इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य १०/१० प्रतिशतले बढेका छन् । त्यस्तै, अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको सेयर मूल्य क्रमशः ९.८७ र ९.६५ प्रतिशतले बढेर प्रतिकित्ता ७६८ र ६५८ रुपैयाँमा कारोबार भइरहेको छ । बढी कारोबार गर्नेको अग्रस्थानमा सबै बीमा कम्पनीहरु रहेका छन् । जसमध्ये गुराँस लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार भइरहेको छ । कारोबार खुला भएको ३० मिनेट नबित्दै कम्पनीको ६ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ ।
जीवन बीमाको पुँजी वृद्धि : ५ अर्बको पुँजी जुटाउन कसले कति हकप्रद सेयर जारी गर्नुपर्ला ?
काठमाडौं । निर्जीवन जस्तै जीवन बीमा कम्पनीले पनि चुक्ता पुँजी वृद्धि गर्नुपर्ने भएको छ । नियामक निकाय बीमा समितिका अनुसार जीवन बीमा कम्पनीले न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्ने भएको हो । हालसम्म जीवन बीमा कम्पनीहरुको न्यूनतम पुँजी २ अर्ब रुपैयाँ तोकिएको थियो । समितिको नयाँ निर्देशनसँगै नेपाल लाइफ इन्स्योरेन्सबाहेक अन्य कम्पनीहरुले २०७९ चैत मसान्तसम्म कम्तीमा पनि ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्नेछ । नेपाल लाइफको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी अर्थात ८ अर्ब २० करोड ७८ लाख रुपैयाँभन्दा बढी भएकाले कम्पनीलाई पुँजी वृद्धिको लागि दबाव छैन । बाँकी रहेका कम्पनीमध्ये सबैभन्दा बढी दवाव राष्ट्रिय बीमा संस्थानलाई छ । जीवन बीमा कम्पनीमध्ये ५ वटा कम्पनीले आइपीओ जारी गर्न बाँकी छ । जसमा महालक्ष्मी, सिटिजन्स, सन नेपाल, रिलायबल र आईएमई लाइफ इन्स्योरेन्सहरु हुन् । उनीहरुले हाल आईपीओ निष्काशन गर्ने प्रकृयामा रहेका छन् । आईपीओ निष्काशन गर्न बाहेक राष्ट्रिय बीमा संस्थानसहित ७ वटा कम्पनीको पुँजी शतप्रतिशतभन्दा बढीले वृद्धि गर्नुपर्ने छ । सानिमा र प्रभु लाइफले १५०/१५० प्रतिशत, गुराँसले १३९.९०, रिलायन्सले १३८.१० र यूनियन लाइफले १३२.५६ प्रतिशत हकप्रदमार्फत पुँजी बढाउन सक्नेछन् । अन्य कम्पनीको तुलनामा नेश्नल लाइफ इन्स्योरेन्सलाई कम दबाव छ । इन्स्योरेन्सले हालको पुँजीमा २३.९१ प्रतिशत मात्रै वृद्धि गरे पुग्छ । सञ्चालनमा आएका नयाँ जीवन कम्पनीमध्ये ५ वटा आईपीओ मार्फत २ अर्ब रुपैयाँ पुँजी पुर्याउने प्रकृयामा थिए । तर, समितिको नयाँ निर्देशन अनुसार उनीहरुको आईपीओ निष्काशन प्रकृया लम्बिन सक्ने देखिएको छ । चुक्ता पुँजी ५ अर्ब पुर्याउनको लागि सो कम्पनीका प्रमोटरले ३ अर्ब ५० करोड रुपैयाँ लगानी अर्थात (चुक्ता पुँजीको ७० प्रतिशत रकम) गर्नुपर्छ । उनीहरुले आईपीओ जारी गर्नुभन्दा अघि पुँजी बढाउन संस्थापक तथा सर्वसाधारणको सेयर अनुपात मिलाउनु पर्ने भएकाले आईपीओको प्रकृया थप लम्बिन सक्ने भएको हो । हाल १८ वटा कम्पनीको चुक्ता पुँजी ४४ अर्ब ६५ करोड रुपैयाँ छ । नयाँ व्यवस्थाअनुसार कम्पनीहरुको कूल पुँजी न्यूनतम ९० अर्ब रुपैयाँ पुग्नुपर्छ । जसको लागि कम्पनीहरुले ४५ अर्ब ३४ लाख ६४ हजार रुपैयाँ पुँजी एक वर्षभित्र जुटाउनु पर्ने दवाव छ । यससँगै अब अधिकांश जीवन कम्पनीहरुले हकप्रद मार्फत पुँजी बढाउन सक्ने सम्भावना बढी छ । यदि बोनस सेयर दिए भने उक्त हकप्रदको प्रतिशत घट्न आउने छ । तर, बोनस र हकप्रदबाट मात्रै पुँजी नबढ्ने अवस्थामा कम्पनीहरु एक आपसमा मर्ज तथा एक्विजिशनको प्रकृयामा पनि जान सक्नेछन् । तोकिएको समयमा तोकिएको अनुसारको चुक्ता पुँजी नपुगेमा फोर्स मर्जरमा लगिने समितिको निर्देशन छ । साथै, कम्पनीहरुले २०७९ वैशाख १० गतेभित्र आ-आफ्नो पुँजी वृद्धि योजना समितिमा पेश गरिसक्नु पर्ने छ । सम्बन्धित समाचार आईपीओ निकाल्न बाँकी ५ बीमा कम्पनीको पुँजी वृद्धि प्रक्रिया कसरी अघि बढ्छ ? निर्जीवन बीमा कम्पनीले मात्रै सवा २४ अर्ब बढी पुँजी थप्नुपर्ने, कुनलाई कति दबाव ? (सूचीसहित) बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाइयो, एक महिनाभित्रै योजना पेश गर्न निर्देशन
अभिकर्ता र कर्मचारीलाई तालिम दिन ‘नेपाल लाइफ पाठशाला’ सञ्चालनमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरी स्थित नेपाल लाइफ भवनमा स्थापना गरेको ‘नेपाल लाइफ पाठशाला’ नामक प्रशिक्षण कक्षको उद्घाटन गरेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले संयुक्त रुपमा उक्त प्रशिक्षण कक्षको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं बीमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाला एक उदाहरणीय कार्य भएको बताउँदै सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले अभिकर्ता तथा कर्मचारीहरुको व्यावसायिक दक्षता एवं क्षमता अभिबृद्धिका लागि नियमित प्रशिक्षणको आवश्यकता महशुस गरी प्रशिक्षण कक्षको स्थापना गरिएको बताए । आगामी दिनहरूमा यस पाठशालामा विज्ञ प्रशिक्षकहरूमार्फत अभिकर्ता र कर्मचारीहरुको लागि नियमित तालिम एवं सेमिनारहरु सञ्चालन गर्न कम्पनी व्यवस्थापनलाई सुझाव दिए ।