प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् । उनले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गाेपनियताकाे सपथ ग्रहण पनि गरेका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त गरेको हो । बुधबार बसेकाे कम्पनीको सञ्चालक समितिको १२१ औं बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै बैठकले यसअघिका अध्यक्ष डा. आत्माराम घिमिरेको राजीनामा सोही मितिदेखि लागू हुने गरी स्वीकृत समेत गरेको छ । त्यस्तै, गत फागुन २२ गते कम्पनीको सल्लाहकारको रुपमा सन्तोष प्रसाईं नियुक्त भएका थिए । त्यसपछि प्रमुख कार्यकारी अधिकृत नारायण पाैडेलले पदबाट राजीनामा दिएका थिए ।
चार नयाँ बीमा कम्पनीका कारण ६ बैंक वित्तीय संस्थाको १ अर्ब नाफा प्रोभिजनमा
काठमाडौं । चार वटा नयाँ बीमा कम्पनीका कारण अहिले संचालनमा रहेका मध्ये ६ वटा बैंक तथा वित्तीय संस्थाले करिब १ अर्ब रुपैयाँ प्रोभिन गर्नुपर्ने भएको छ । तीन वटा वाणिज्य बैंक, दुई विकास बैंक र एक फाइनान्सले नयाँ बीमा कम्पनीमा लगानी गरेकै कारण सो थप रकम प्रोभिजन गर्नुपर्ने भएको हो । अहिले संचालनमा रहेकामध्ये ४ वटा जीवन बीमा कम्पनीले समयमै साधारण सेयर (आईपीओ) जारी नगरेका कारण ती कम्पनीमा लगानी गरेका बैंक तथा वित्तीय संस्थाले लगानी बराबरकै रकम प्रोभिजन गर्नु परेको हो । अहिले संचालनमा रहेका महालक्ष्मी लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ, आईएमई लाइफ, रिलायवल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गरिसकेका छैनन् । यसमध्ये सन नेपाल लाइफ बाहेकका कम्पनीले आईपीओ जारी नगर्दा विभिन्न बैंक तथा वित्तीय संस्थालाई तनाब भएको हो । सन नेपाल लाइफमा बैंक तथा वित्तीय संस्थाहरुको खासै लगानी छैन । ग्लोबल आईएमई बैंक, मेगा बैंक, एनएमबि बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक र गुडविल फाइनान्सले नयाँ ४ वटा बीमा कम्पनीमा लगानी गरेको भएपनि संचालनमा आएको ३ वर्षसम्म ती कम्पनीले आईपीओ जारी गरेका छैनन् । संचालनमा आएको ३ वर्षसम्म पनि आईपीओ जारी नगरेको कम्पनीमा गरेको लगानी शतप्रतिशत नै लगानी समायोजन कोषमा जम्मा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यी कम्पनीले नयाँ इन्स्योरेन्समा लगानी गरेको ३ वर्षभित्रमा पनि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत नभएकोले उक्त लगानी बराबरको रकम प्रोभिजनिङ गर्नुपर्ने भएको हो । ‘धितोपत्र विनिमय बजारमा सुचिकृत भइनसकेको संगठित संस्थाको सेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्र उक्त सेयर तथा डिवेञ्चर सुचिकृत नभएको खण्डमा लगानी भए बराबरको रकम संचित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नु पर्नेछ । त्यस्तो कोषमा रहेको रकम सेयर तथा डिवेञ्चर सुचिकृत नभएसम्म उपयोग गर्न पाइने छैन,’ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरेको एकीकृत निर्देशनको निर्देशन नम्बर ८ मा उल्लेख छ । सो अनुसार केही बैंक तथा वित्तीय संस्थाहरुले भने बाध्य भएर उक्त कोषमा जम्मा गरिसकेका छन् भने केहीले भने चालु आवमा गर्नुपर्ने भएको हो । तर सो अवधिसम्ममा इन्स्योरेन्सले आईपीओ जारी गरेमा बैंक तथा वित्तीय संस्थाले लगानी समायोजन कोषमा रकम राख्नु पर्दैन । र, आईपीओ जारी गरिसकेपछि भने लगानी समायोजन कोषमा राखिएको रकम फिर्ता हुन्छ । यता सिटिजन लाइफ इन्स्योरेन्समा लगानी गरेको गुडविल फाइनान्सले भने लगानी बराबरको रकम प्रोभिजनिङ गरिसकेको छ । त्यस्तै, इन्स्योरेन्समा ३ करोड रुपैयाँ बराबरको लगानी गरेको संस्थालाई उक्त रकमले खासै असर नपर्ने फाइनान्सका सीईओ सरोजकाजी तुलाधर बताउँछन् । ‘हामीले सिटिजन लाइफ इन्स्योरेन्समा लगानी गरेको रकम प्रोभिजनिङ गरिसकेका छौं, प्रोभिजनिङ गर्दा नाफा त घटिहाल्छ, तर गुडविललाई ३ करोडले खासै असर पर्दैन,’ सीईओ तुलाधरले भने । त्यस्तै, महालक्ष्मी विकास बैंकले पौने ५ करोड रुपैयाँ महालक्ष्मी लाइफ इन्स्योरेन्समा लगानी गरेको छ । बैंकले भने हालसम्म उक्त रकम कोषमा राख्नु नपरेको बैंकका सीईओ बोधराज पोखरेलले बताए । ‘गत वर्षसम्ममा लगानी समायोजन कोषमा राख्न आवश्यक थिएन, अब सेयर जारी भएन भने चाहि राख्नु पर्छ, तर अब आईपीओ आउने प्रकृयामा भएकोले राख्नु पर्दैन होला,’ सीईओ पोखरेलले विकासन्युजसँग भने । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी २०७५ साल माघ २७ गतेदेखि सञ्चालनमा आएको हो । २०७८ माघदेखि कम्पनी सञ्चालनमा आएको तीन वर्ष पूरा भएको छ । अब कम्पनीले यो वर्षपनि आईपीओ जारी गरेन भने उक्त रकम कम्पनीको नाफाबाट रिजर्भमा बस्ने र पछि सेयर जारी भएपछि लाभांश बाड्न पाइने सीईओ पोखरेलले बताए । ज्योति विकास बैंकले पनि महालक्ष्मी लाइफ इन्स्योरेन्समा १५ करोड रुपैयाँ बराबरको लगानी गरेको छ । तर कम्पनीले हालसम्म कोषमा रकम नराखेको र अब पनि राख्न जरुरी नभएको बैंकका सीईओ श्रीचन्द्र भट्ट बताउँछन् । ‘इन्स्योरेन्सले आईपीओ जारी गर्ने भइसकेको छ, हामीले चिठ्ठी पाइसकेका छौं, त्यसैले उक्त कोषमा रकम राख्न जरुरी छैन,’ सीईओ श्रीचन्द्र भट्टले भने । सम्बन्धित समाचार चार बीमा कम्पनीले आईपीओ ननिकाल्दा ६ बैंक तथा वित्तीय संस्था तनावमा एकै वर्षमा डबलभन्दा बढी पुँजी वृद्धि गर्न सजिलो छैन बीमा कम्पनीहरु मर्जर/एक्वीजीसनमा जानै पर्ने, हकप्रद जारी गरेर मात्रै पुँजी पुर्याउन नदिइने बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाइयो, एक महिनाभित्रै योजना पेश गर्न निर्देशन निर्जीवन बीमा कम्पनीले मात्रै सवा २४ अर्ब बढी पुँजी थप्नुपर्ने, कुनलाई कति दवाव ? (सूचीसहित) आईपीओ निकाल्न बाँकी ५ बीमा कम्पनीको पुँजी वृद्धि प्रक्रिया कसरी अघि बढ्छ ? जीवन बीमाको पुँजी वृद्धि : ५ अर्बको पुँजी जुटाउन कसले कति हकप्रद सेयर जारी गर्नुपर्ला ?
लुम्बिनी जनरलको प्रायोजनमा सम्पन्न गल्फ प्रतियोगिताको उपाधि सशीविक्रम र तारालाई
काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा सम्पन्न पुरुष गलफ प्रतियोगिताको उपाधि नेपाली सेनाका भूतवूर्व कर्णेल सशीविक्रम सिंहले जितेका छन् । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा दुईदिने ओपेन गल्फ प्रतियोगितामा महिलातर्फ उपाधि तारा कार्की चित्रकारले जितेकी छन् । लुम्बिनी जनरल इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत दुई दिने ओपन गल्फ टुर्नामेन्टको प्रायोजन गरेको हो प्रतियागितामा पुरुषतर्फको फर्स्ट रनर अप अतिरिक्त प्रहरी महानिरिक्षक हरिबहादुर पाल भए । त्यस्तै ग्रस विनरमा सुरुज श्रेष्ठ, सिनियर विनरमा मेजर जनरल विजय मोक्तान, सिनियर फर्स्ट रनरअपमा सनप्रसाद प्रधान र होल इन वान होल नम्बर ६ को उपाधि जयवीर आचार्यले जितेका छन् । त्यस्तै महिलातर्फको फर्स्ट रनर अपको उपाधि रेखा घिमिरेले जितेकी छन् । जुनियर विनर गर्ल्सको उपाधि इष्टेना टण्डन, जुनियर महिला फर्स्ट रनर अपको उपाधि अन्वद्या मल्लले जितेकी छन् । उक्त प्रतियोगितामा १०० जना खेलाडीहरू सहभागी थिए । सहभागी विजेता खेलाडीहरूलाई विभिन्न १६ विद्यामा पुरस्कार तथा पदकहरू वितरण गरिएको छ । समापनका अवसरमा आयोजित पुरस्कार वितरण समारोहमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीअध्यक्ष मनोहर दास मुलले अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त रहेको गल्फ प्रतियोगिताको माध्यमबाट खेलकुदको विकासमा योगदान गर्ने उद्देश्यले सन् २०१८ र २०१९ मा पनि प्रायोजन गरेको जानकारी दिए ।