पुँजी साढे २ अर्ब पुर्याउने प्रस्तावसहित आईएमई जनरलले डाक्यो वार्षिक साधारण सभा
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले आगामी बैशाख ९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान १० बजे काठमाडौंको लैनचौरस्थित लैनचौर बैंक्वेट्समा आफ्नो २६औं वार्षिक साधारण सभा डाकेको हो । सभाले कम्पनीको अधिकृत पुँजी वृद्धिगरी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ४२ लाख ६४ हजार ७९० रुपैयाँ बराबरको नगद लाभांश प्रस्तावलाई सभाले पारित गर्दै छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ छ । ७ प्रतिशत बोनस पारित भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड रुपैयाँ नाघ्ने छ । कम्पनीले सभामा जाने प्रयोजनको लागि २०७८ चैत २५ गतेदेखि २०७९ बैशाख ९ गतेसम्म बुक क्लोज गर्दै छ । यससँगै २०७९ बैशाख ८ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् । सम्बन्धित समाचार आईएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा
हिमाल सफाइ अभियानमा नेपाल लाइफको साथ
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ । बिहीबार एक कार्यक्रमबीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो । नेपालमा पर्वतारोहणका लागि खुला हिमालहरुमा फोहोरका कारणले हुन गएको सौन्दर्य ह्रासलाई कम गर्न यो अभियान जारी छ । नेपाली सेनाका सहायक रथी हिमांशु खड्काले सरकारी निकाय, गैरसरकारी संघ/संस्था, पब्लिक कम्पनी तथा निजी क्षेत्रहरुको सफा हिमाल अभियानमा साथ पाउनु खुसीको कुरा भएको बताए । उनले नेपाल लाइफले सामाजिक उत्तरदायित्वलाई सफा हिमाल अभियान नै छनौट गरी यसको स्टेकहोल्डर बन्नु प्रशंसनीय भएको बताए । नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले विश्वमानचित्रमा नेपालको उचाइको गौरवलाई स्वच्छ र सफा हिमालले सुन्दर देशका रुपमा परिचय कायम गर्न सहयोग गर्ने कुरालाई मनन गर्दै नेपाली सेनासँग हिमाल सफाइ अभियानमा हातेमालो गरेको प्रष्ट्याए ।
एनएलजी इन्स्योरेन्सको लाभांश पारित, सञ्चालकमा शाह र थापा निर्विरोध
काठमाडौं । एनएलजी इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । चैत १७ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले प्रस्तावित १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गरेको हो । १० प्रतिशत बोनस सेयर पारितसँगै कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सभाले सञ्चालक समितिमा दुई जनालाई निर्विरोध निर्वाचित गरेको छ । सभाले सर्वसाधारण लगानीकर्ताबाट प्रतिनिधित्व गर्ने शालिनी राणा शाह र डा. भरत कुमार थापालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब १२ करोड रुपैयाँ कूल बीमाशुल्क र ६८ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै, सोही वर्षमा इन्स्योरेन्सले साढे २० करोड रुपैयाँ बराबरको खुद नाफा गरेको थियो । इन्स्योरेन्सको कूल लगानीसँगै कूल कारोबार रकम पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको कूल लगानी ११ प्रतिशतले बढेको छ भने कारोबार रकम १७.७३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको १६औं वार्षिक साधारण सभा चैत १७ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्विटमा भएको थियो ।