नेपाल लाइफको प्रस्तावित लाभांश पारित, लगानी विस्तार गर्दै जाने कम्पनीको नीति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । चैत २१ गते सम्पन्न कम्पनीको २१औं वार्षिक साधारणसभाले प्रस्तावित १४.०७४ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, सेयरधनीले चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७४ प्रतिशत नगद लाभांश पाउनेछन् । यससँगै, प्रस्तावित बोनसपश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । जुन जीवन बीमा क्षेत्रकै सर्वाधिक चुक्ता पुँजी हो । सभामा अध्यक्ष गोविन्द लाल संघईले समीक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हासिल गर्न सफल भएको बताए । साथै, २१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि आगामी दिनहरुमा अगाडि बढ्ने अध्यक्ष संघईले प्रतिवद्धता गरेका छन् । सभामा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताए । त्यसैगरी, सम्पत्ति र दायित्वबीच सन्तुलन कायम गर्न पुँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानीका लागि ठोस कार्य गर्ने लक्ष्यकासाथ कम्पनी अगाडि बढेको जानकारी गराए । सभाले संस्थापक सेयरधनीका तर्फबाट चार जना संचालकमा निर्विरोध निर्वाचित गरेको छ । जसमा गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान रहेका छन् । त्यस्तै, साधारण सभा सम्पन्न पश्चात् बसेको संचालक समितिको ३३६औं बैठकले नव निर्वाचित संचालक गोविन्द लाल संघईलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । हाल कम्पनीको लगानी १ अर्ब ३३ खर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १२४ अर्ब ८४ करोड रुपैयाँ र सेयरधनी कोष ९ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । हाल कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकका लागि २ सय २ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । त्यस्तै, कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि ३० लाख भन्दा बढी बीमितहरु रहेका छन् । साथै, ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्राइम लाइफमा निर्मल दाहालको प्रवेश, असारपछि सीईओ बन्दै

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा निर्मल दाहाल नियुक्त भएका छन् । चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कम्पनीको सिनियर डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । दाहाल यसअघि यूकेएडले सपोर्ट गरेको गैर सरकारी संस्था सक्षममा कार्यरत थिए । जहाँ उनी ‘सक्षम एक्सेस टु फाइनान्स’ नामक प्रोग्रामको टीम लिडर थिए । सक्षममा सात वर्ष काम गरेका दाहालले दुई दिन अघि मात्र सक्षम छोडेको जनाएका थिए । सक्षममा जोडिनुपूर्व उनी लक्ष्मी बैंकमा कार्यरत थिए । शंकरदेव क्यापसबाट एमबीए गरेका दाहालले हिमालयन बैंकबाट बैकिङ करिअर शुरु गरेका थिए । प्राइम लाइफ इन्स्योरेन्सले दाहाललाई तीन महिनापछि सीईओ बनाउने गरी सिनियर डेपुटी सीइओमा नियुक्त गरिएको एक सञ्चालकले विकासन्युजलाई जानकारी दिए । उक्त कम्पनीका वर्तमान सीईओ मनोज कुमार भट्टराईको कार्यकाल आगामी असारमा सकिदैछ । भट्टराई २०७४ असारदेखि कम्पनीको सीईओ पदमा कार्यरत छन् ।

जीवन बीमा कम्पनीले उठाए ९२ अर्ब बढी प्रिमियम, सिटिजन र प्राइमबीच ‘नेक टु नेक’ प्रतिस्पर्धा (सूचीसहित)

काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका लाइफ इन्स्योरेन्सहरुले ९२ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको ८ महिनामै ९२ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको बीमाशुल्क उठाएका हुन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अनुसार सञ्चालनमा रहेका १९ वटाले कम्पनीले १ करोड ११ लाख ७९ हजार ७२८ वटा बीमालेख संख्या जारी गरी सो मात्राको प्रिमियम संकलन गरेका हुन् । जसमध्ये सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । समीक्षा अवधिमा नेपाल लाइफले ८ लाख ५९ हजार ६०४ वटा बीमालेख जारी गरी २३ अर्ब ९३ करोड १२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, बढी बीमालेख संकलन गर्नेको दोश्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । जसले ८ महिनामै ११ अर्ब ११ करोड ७७ लाख रुपैयाँ बराबरको प्रिमियम उठाउन सफल भएको छ । ३ देखि ४ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्नेमा ४ कम्पनी छन् । मेटलाइफ, सिटिजन, प्राइम र सूर्या लाइफ इन्स्योरेन्सले ३ अर्बदेखि माथि र ४ अर्बभन्दा कम प्रिमियम उठाएका छन् । जसमध्ये बीमाशुल्कको आधारमा दुई कम्पनी (सिटिजन र प्राइम लाइफ) बीच ‘नेक टु नेक’ प्रतिस्पर्धा देखिएको छ । तर प्राइमभन्दा सिटिजन अगाडि छ । समीक्षा अवधिमा सिटिजनले ३ अर्ब ४८ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने प्राइम लाइफले पनि ३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । यता बीमालेख संख्याको आधारमा पनि सिटिजन लाइफ अगाडि नै देखिन्छ । प्राइमले १ लाख ६२ हजार ७१३ वटा बीमालेख जारी गर्दा सिटिजनले ८ लाख ९६ हजार २८४ वटा बीमालेख जारी गरेको समितिले जनाएको छ । कुनको कति ? (सूचीसहित) त्यसैगरी, दुईदेखि तीन अर्ब रुपैयाँ बराबरको प्रिमियम उठाउनेमा ५ कम्पनी छन् । जसमा सन नेपाल, रिलायबल नेपाल, ज्योति, आईएमई र गुराँस लाइफ हुन् । त्यस्तै, १९ कम्पनीमध्ये १८ वटा कम्पनी अर्ब क्लबमा सजिलै प्रवेश गरिसकेका छन् । तर महालक्ष्मी लाइफ इन्स्योरेन्स भने करोड क्लबमै छ । समीक्षा अवधिमा कम्पनीले ३२ हजार २२३ वटा बीमालेख जारी गरी ९३ करोड २९ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । महालक्ष्मी लाइफ नयाँ बीमा कम्पनी हो । हाल कम्पनी आईपीओ जारी गरेर पब्लिकमा जाने प्रकृयामा छ । कम्पनीले आगामी असारसम्ममा आईपीओ जारी गरिसक्ने समेत जानकारी गराएको छ ।