अजोड इन्स्योरेन्सको आयोजनामा घुम्ती बीमा र अभिकर्ता तालिम सम्पन्न

रौतहट । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा चैत १९ देखि २१ गतेसम्म चन्द्रपुर नगरपालिका-१०, वरेडवामा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिका-१० का वडाध्यक्ष जयराम चौधरीको प्रमुख अतिथ्य तथा अर्गानिक दुग्ध विकास सहकारी संस्थाका सचिव रामलोचन चौधरीको उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड रौतहट शाखाका प्रमुख प्रभु चौधरीले गरेका थिए । यसैबीच, अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा चैत २२ देखि २४ गतेसम्म गते रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा कृषि तथा पशुपन्छि बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रममा २९ जना बीमा अभिकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेडको रौतहट शाखाका प्रमुख प्रभु चौधरीले गरेका थिए ।

स्वास्थ्य बीमा गर्ने जनसंख्या २० प्रतिशतमात्र

काठमाडौं । स्वास्थ्य सेवाको गुणस्तर र जनचेतनाको कारणले स्वास्थ्य बीमातर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको बताइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको बताएका हुन् । उनका अनुसार २०७२ सालमा कैलाली जिल्लाबाट सञ्चालन भएको स्वास्थ्य बीमा अहिलेसम्म ५३ लाख चार हजार २७० जनाले मात्र गरेका छन् । अर्थात् कूल जनसङ्ख्याको २०.०३ प्रतिशत जनसङ्ख्याले मात्र बीमा गरेका छन् । तीमध्ये २० लाख ८९ हजार ५९९ जना अर्थात (३९.३९ प्रतिशत) ले मात्र बीमा सेवा लिएका छन् । बीमितमध्ये ७० प्रतिशतले मात्र नवीकरण गरेका पाइएको छ । उनले कोरोना भाइरसको कारणले पनि बीमा कार्यक्रमलाई प्रभाव पारेकाले दुई वर्ष प्रभावकारी रूपमा काम गर्न नसकिएको स्पष्ट पारे । उनले स्वास्थ्य बीमा बोर्डलाई सरकारले कानुनी रूपमा स्वायत्त संस्थाको रुपमा परिभाषा गरे पनि व्यावहारिक रूपमा संस्था स्वायत्त हुन नसक्दा काममा समस्या भएको बताए । स्वायत्त संस्थाको रूपमा बोर्डलाई लैजानका लागि सरकारसँग ३७२ जनाको स्वीकृत दरबन्दी माग गरेको छ । तीन हजार ५०० रुपैयाँको वार्षिक बीमा गरेवापत एक लाख बराबरको स्वास्थ्य उपचार उपलब्ध हुन्छ । बोर्डले ४४१ सरकारी र निजी अस्पतालमासँग बीमा गरेवापतको स्वास्थ्य उपचारका लागि सम्झौता गरेको छ । बोर्डले बीमा कार्यक्रममार्फत अति गरिब, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, क्षयरोगी, अति अशक्त अपाङ्गता भएकालाई सरकारले नै बीमाको रकम उपलब्ध गराउने गरेको छ । नेपालमा अहिलेसम्म १५ लाख आठ हजार ५१४ बीमित परिवारले बीमा कार्यक्रममा सहभागी रहेका छन् । अति गरिब परिवारको चार लाख ८८ हजार चार जनाले, ज्येष्ठ नागरिक छ लाख ३४ हजार ७३५, एचआइभी सङ्क्रमित २५ हजार २८९ जना, अति अशक्त अपाङ्गता ९३ हजार ६२९ जना, कुष्ठरोग सङ्क्रमित दुई हजार ८४९, क्षयरोगी दुई हजार ४७४ जनाले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका छन् । रासस

प्रविधिमैत्री बन्दै स्वास्थ्य बीमा बोर्ड, सार्वजनिक गर्यो अनलाइन नवीकरण र मोबाइल एप सेवा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अनलाईन नवीकरणसँगै एचआईभी प्रोफाईल मोबाइल एप सेवा शुरु गर्ने भएको छ । बोर्डले छैठौं स्वास्थ्य बीमा दिवसको अवसरमा विभिन्न दुई वटा सेवा शुरु गर्न लागेको हो । सरकारको प्राथमिकता पाएको यो कार्यक्रमले पाँचौं वर्ष पुरा गरेको अवसरमा ‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने मूल नाराका साथ उक्त सेवाको शुभारम्भ गर्न लागेको हो । जसको शुभारम्भ स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चैत २५ गते शुक्रबार गर्दै छन् । बीमितलाई उनीहरुले लिएको सेवाको बारेमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले मोबाइल एप शुरु गरिएको र उनीहरु आफैले घरबाटै बीमाको नवीकरण गर्न सकुन् भन्ने उद्देश्यले अनलाईन नवीकरणको सेवा ल्याइएको बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए । बोर्डले २०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट औपचारिक रुपमा स्वास्थ्य बीमा सदस्यता दर्ता शुभारम्भ गरेको हो । सेवा शुरु गरेको ५ वर्षको अवधिमा कूल ७७ जिल्ला तथा ७४४ स्थानीय तहमा यो कार्यक्रम विस्तार भएको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०७६/०७९ मा बाँकी रहेका सबै स्थानीय तहमा कार्यक्रम बिस्तार गर्ने कार्य भैरहेको बोर्डले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रम मार्फत गरिब, विपन्न एवं सुगम क्षेत्रमा समेत सेवाको पहुँच पुगिरहेको बोर्डको दावी छ । तर बढ्दो सेवाग्राहीको चापका कारण केही सेवा प्रदायक संस्थामा व्यवस्थापन समस्या देखिएको र उक्त समस्याको समाधान गर्ने काम भइरहेको छ । हाल स्वास्थ्य बीमा कार्यक्रममा २०.३ प्रतिशत अर्थात ५३ लाख ४ हजार २७० जना कूल बीमित सदस्य छन् । जसमध्ये २० लाख ८९ हजारले मात्रै बीमा सेवा लिइरहेका छन् । त्यस्तै, बीमित परिवारको संख्या १५ लाख ८ हजार रहेको छ । बीमा बोर्डले हाल ७७ जिल्ला र ७४५ स्थानीय तहमा सेवा विस्तार गरिरहेको छ । सरकारी र निजी गरी ४४१ वटा संस्थाबाट सेवा लिएका कूल बीमितहरुमध्ये हाल ७० प्रतिशतले मात्रै नविकरण गरेका बोर्डले जानकारी गराएको छ ।