सानिमा लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ४.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ४.२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । चैत २९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । जसलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको साधारण सभाले पारित गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । ४.२ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८४ करोड रुपैयाँ नाघ्ने छ ।
बैशाख २३ गते साधारण सभा गर्दै युनियन लाइफ इन्स्योरेन्स
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ बैशाख २३ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान साढे १० बजे रुपन्देहीको भैरहवास्थित टाइगर प्लोस रिसोर्टमा आफ्नो चौथो वार्षिक साधारण सभा गर्ने भएको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्न लागेको हो । उक्त सभाले सञ्चालकहरुको निर्वाचनदेखि लिएर अन्य जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्तिको विशेष प्रस्तावलाई अनुमोदन गर्दै छ । सभाले सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट ४ जना र साधारण सेयरधनीबाट २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने छ । साथै, प्रमुख कार्यकारी अधिकृत र विज्ञ सञ्चालकको नियुक्ति अनुमोदन गर्ने समान्य प्रस्ताव रहेको छ । त्यस्तै, विशेष प्रस्ताव अन्तर्गत सभाले सामूहिक लगानी कोष सञ्चालन गर्ने र सोको स्थापनार्थ प्रबन्धपत्रमा उद्देश्य थप गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने जनाएको छ । र, अन्य जीवन बीमा कम्पनीसँग आपसमा मर्जर तथा प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने कम्पनीको विशेष प्रस्ताव छ । सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी बैशाख १३ गते एकदिन बुक क्लोज गर्दै छ । यससँगै बैशाख १२ गतेसम्म कायम सेयरधनीहरु मात्रै उक्त सभामा भाग लिन पाउने छन् ।
कोरोना बीमाको दाबी एकमुष्ठरुपमै भुक्तानी हुन्छ : अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने बताएका छन् । अध्यक्ष सिलवालले अर्थमन्त्री कोरोना बीमाको समस्या समाधान गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै एकमुष्ठरुपमा नै समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् । समितिको कार्यालयमा चैत २९ गते आयोजित नव वर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा अर्थमन्त्री र अर्थ मन्त्रालयका सचिव लगायत पदाधिकारीहरुसँग निरन्तर छलफल गर्नुका साथै बीमा समितिबाट विकल्प सहितको प्रस्ताव पठाइएको उल्लेख गरे । अध्यक्ष सिलवालले चालू आर्थिक वर्षमा बीमा दाबी फछ्र्यौट उल्लेखनीयरुपले बढेको र बीमा दाबी भुक्तानीका सम्बन्धमा बीमा समितिमा परेका उजूरीहरुमाथि छानविन गरी शीघ्र किनारा लगाउने काम भइरहेको बताए । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नै बीमाको दायरा विस्तारमा सरकारले चालू आर्थिक वर्षका लागि लिएको ३३.३३ प्रतिशतको लक्ष्यभन्दा पनि बढेर ३५ प्रतिशत नाघेको समितिले जनाएको छ । गत आर्थिक वर्षको फागुन मसान्तसम्म २६.३० प्रतिशत रहेको बीमाको पहुँच चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा बढेर ३५.४४ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको र यो अझै बढ्दै जाने बताए । कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिले समग्र बीमा क्षेत्रमा सुशासन कायम गर्नका लागि जोड दिँदै आएको बताए । त्यस्तै, बीमा समितिका निर्देशक दिनेशकुमार लालले समितिले विगतमा नभएका धेरै काम गएको एक वर्षमा नै सम्पन्न गरेको विचार व्यक्त गरे । बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले संचालन गरेको कार्यक्रममा बीमा समिति कर्मचारी युनियनका अध्यक्ष पूर्णबहादुर थापा र बीमा समिति कर्मचारी सङ्गठनका अध्यक्ष पदमप्रसाद सोडारीले मन्तव्य व्यक्त गरेका थिए ।