कृषि तथा पशुपन्छी बीमामा धमाधम अनुदान दिँदै पालिकाहरु, पिपराले थप २० प्रतिशत दिने
काठमाडौं । पछिल्लो समय विभिन्न गाउँपालिकाहरुले बीमा कार्यक्रममा बढी जोड दिन थालेका छन् । पालिकाहरुले कृषकहरुलाई जोड दिँदै कृषि तथा पशुपन्छी बीमामा थप अनुदान दिन थालेका हुन् । सो क्रममा मधेश प्रदेशको महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाले आफ्ना कृषकलाई थप २० प्रतिशित अनुदान दिने भएको छ । पिपरा गाउँपालिकाले हाल सरकारले दिएको अनुदानमा थप २० प्रतिशत अनुदान दिने निर्णय गरेको अध्यक्ष रामजानकी यादवले बताए । पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले कृषि तथा पशुपन्छी बीमामा आगामी साउन १ गतेदेखि नै लागू हुने गरी गाउँपालिकाले थप अनुदान उपलब्ध गराउने जानकारी दिए । ‘हाल सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कृषि तथा पशुपन्छी बीमामा बाँकी रहने २० प्रतिशतमा कति अनुदान दिने भन्ने सम्बन्धमा बोर्डबाट निर्णय गरेर साउन १ गतेदेखि नै उपलब्ध गराउने बताए । ’ अध्यक्ष यादवले बताए । उनले कृषि तथा पशुपन्छी बीमा गरेपछि क्षति भएमा बीमा दाबी पाउने सुनिश्चितता हुनुपर्नेमा जोड दिँदै कृषकले गाउँमा नै बीमा गर्न पाउने गरी बीमा कम्पनीहरूलाई खटाउन बीमा समितिसँग आग्रह गरे । मुखियापट्टी गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान दिने कार्यक्रमको सभापतित्व गर्दै बीमा समितिका निर्देशक दिनेशकुमार लालले बीमाको परिचय, बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र समाजमा पछि परेका समुदायलाई समेत बीमाको दायरामा ल्याउन स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी दिए । निर्देशक लालले गाउँ गाउँमा पुगेर कृषि तथा पशुपन्छी बीमा विस्तार गर्न बीमा समितिले जिल्ला समेत तोकेर विभिन्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको जानकारी गराए । त्यस्तै, तोकिएको समयमा बीमा दावी भुक्तानी नपाएमा वा बीमा सम्बन्धी कुनै समस्या परेमा समितिमा जानकारी दिन आग्रह गरे ।
एमडीआरटीका लागि रिलायन्स लाइफका दुई अभिकर्ता अमेरिका प्रस्थान
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्सका नमीता न्यौपाने एवं कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् । उनीहरु मिलिनियम डलर राउण्ड टेवल २०२२ को बार्षिक सभामा भाग लिन अमेरिका गएका हुन् । यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्ताहरुमध्ये २ जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको कम्पनीले जनाएको छ । बीमा क्षेत्रमा लागेको केही बर्षमै एकपछि अर्को सफलता प्राप्त गर्दै गइरहेका अभिकर्ता लिडर दुबैलाई रिलायन्स लाइफ इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । सो कार्यक्रममा दुबै लिडरलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै राष्ट्रिय भावनाको प्रतिक राष्ट्रिय झण्डा समेत हस्तान्तरण गरिएको थियो । आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले अमेरिकामा हुने सो कार्यक्रम तथा भ्रमण क्रममा सिकेका कुरालाई देशमा कार्यरत अन्य बीमा माझ प्रस्तुत गरेर बीमा क्षेत्रको विकासमा योगदान दिन दुबै लिडरलाई अनुरोध गरे । बीमाकर्मी नमीता न्योपानेले आफु सदैव बीमा क्षेत्रको बिकासमा लागिरहने बताउँदै यस्तो मौका श्रृजना हुने वातावरण प्रदान गरेकोमा कम्पनीप्रति धन्यवाद दिइन् । रिलायन्स लाइफका अग्रणी अभिकर्ता नमीता न्यौपाने यसअघि पनि ३ पटक एमडीआरटी तथा सीओटीको रुपमा सो कार्यक्रममा छनौट भइसकेकी थिइन् । त्यस्तै, अभिकर्ता कमल दाहाल दोश्रो पटक सो कार्यक्रममा छनौट भएका हुन् । सक्रिय सामाजिक अभियन्ता न्यौपाने तथा सहकारीकर्मी समेत रहेका दाहाल नेपाली बीमा क्षेत्रका उत्कृष्ट अभिकर्ता तथा धेरै बीमाकर्मीका प्रेरणाको श्रोत रहेको कम्पनीले जनाएको छ ।
बीमितको मृत्युदरको तथ्याङ्क अद्यावधिक गर्न बीमा कम्पनीलाई निर्देशन
काठमाडौं । बीमा समितिले बीमितको मृत्युदरको तथ्याङक अद्यावधिक गर्न बीमा कम्पनीलाई निर्देशन दिएको छ । जीवन बीमालेखसँग सम्बन्धित नेपाली बीमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीहरुलाई सो निर्देशन दिएका हुन् । वि.सं. २०६६ सालमा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली बीमितको मृत्युदर तालिका, २०६६ लाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले गरिएको प्रारम्भिक अध्ययनका बारेमा छलफल गरी सुझावहरु लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अध्यक्ष सिलवालले बीमाप्रतिको विश्वास बढाउँदै बीमा व्यवसायलाई विस्तार गर्न र बीमितको हितको रक्षा गर्न समेत यस किसिमका अध्ययन आवश्यक रहेको उल्लेख गरे । अध्यक्ष सिलवालले वि.सं. २०६६ सालमा बीमितको मृत्युदर तालिका तयारी भई कार्यान्वयनमा रहेको र यस अवधिमा दुई पटक राष्ट्रिय जनगणना समेत भई औषत मृत्युदर सम्बन्धी तथ्याङ्क सार्वजनिक भइसकेको बताए । साथै, बीमितको मृत्युदर र तालिकालाई समयसापेक्ष परिमार्जन गर्नु आवश्यक रहेको उनले औंल्याए । बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले नेपाली बीमितको मृत्युदर तालिकालाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले यससम्बन्धी प्रारम्भिक अध्ययन गरिएको जानकारी दिए । जीवन बीमक संघ नेपालका उपाध्यक्ष पोषकराज पौडेलले बीमा समितिले बीमितको मृत्युदर तालिका परिमार्जन गर्न लागेबाट उपयुक्त बीमाशुल्क निर्धारणका साथै समग्र जीवन बीमा व्यवसायको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । बीमा समितिका परामर्शदाता बीमाङ्की प्रेक्षा माथेमाले बीमितको मृत्युदर अनुसन्धान संयन्त्र र बीमाङ्की विज्ञान विषयमा अध्ययरत विद्यार्थीहरु रुस्तम लवाजुले विभिन्न देशका बीमितको मृत्युदर तालिका तथा मुलुक पौडेल र सागर निरौलाले बीमितको मृत्युदर तालिकाका लागि आवश्यक तथ्याङ्क सम्बन्धी विषयमा प्रस्तुति गरेका थिए ।