अन्य कम्पनीको तुलनामा नेपाल लाइफको बिजनेस दोब्बर, सक्रिय बीमालेखमा रिलायबलले टप्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत जेठ मसान्तसम्ममा १ खर्ब १९ अर्ब ४७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार सञ्चालित १९ कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ) सम्ममा सो मात्राको प्रिमियम संकलन गरेका हुन् । र, उक्त रकम गत दुई महिना अर्थात चैत महिनाको तुलनामा भने १६.५१ प्रतिशतले बढी हो । गत चैत मसान्तमा जीवन बीमा कम्पनीहरुले कूल १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए । जेठसम्ममा सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स नै अग्रस्थानमा रहेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सले ३० अर्ब रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जसको सक्रिय बीमालेखको संख्या भने ८ लाख ६१ हजार ४८७ वटा रहेका छन् । त्यस्तै, १० अर्बभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा अन्य दुई कम्पनी रहेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेसनले १४ अर्ब ७९ करोड र नेशनल लाइफ इन्स्योरेन्सले १२ अर्ब ७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । र, सर्वाधिक बीमाशुल्क आर्जन गर्नेको सूचीमा क्रमशः दोश्रो र तेश्रोमा छन् । त्यस्तै, सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थाले ११ महिनामा ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । समीक्षा अवधिमा सबै कम्पनीहरु अर्बभन्दा बढीको बिजनेस गर्न सफल भएका छन् । जसमध्ये अधिकांश कम्पनीले ४ देखि ५ अर्बसम्मको बिजनेस गरेका नियामक निकाय बीमा समितिले जानकारी गराएको छ । कुनको कति ? समितिका अनुसार सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । समीक्षा अवधिमा महालक्ष्मीले १ अर्ब २८ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जसको सक्रिय बीमालेखको संख्या भने ३२ हजार ४७३ वटा रहेका छन् । सो संख्या पनि अन्य कम्पनीको तुलनामा थोरै नै हो । संक्रिय बीमालेखको आधारमा भने रिलायबल नेपाल लाइफ अगाडि देखिन्छ । ११ महिनाको अवधिमा रिलायबल नेपालको सक्रिय बीमालेखको संख्या ३६ लाख ४९ हजार २७९ वटा पुगेको छ । बीमालेखको आधारमा रिलायबलको निकट प्रतिस्पर्धीमा नेशनल लाइफ इन्स्योरेन्स छ । जसको सक्रिय बीमालेखको संख्या भने १४ लाख ४२ हजार ५५२ वटा रहेको छ ।

मंगलबार एशियन लाइफको सर्वाधिक कारोबार, जीवन बीमा समूह बाहेक सबै राताम्मे

काठमाडौं । सेयर बजार घट्ने क्रम जारी छ । मंगलबारको बजारमा पनि नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६१ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । पछिल्लो दुई दिनमै सेयर कारोबार ५२ प्रतिशतले घटिसकेको छ । गत आइतबार २ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार १ अर्ब ५ करोडमा सीमित भएको छ । मंगलबार सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारसँगै इन्स्योरेन्सको सेयर मूल्य पनि बढेको छ । इन्स्योरेन्सको सेयर मूल्य २७ रुपैयाँले बढेर प्रतिकित्ता ५७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) रहेको छ ।  कम्पनीको एकैदिन ५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, तेश्रोमा नागरिक लगानी कोष र चौथोमा नेपाल पुनर्बीमा कम्पनी रहेका छन् । यी दुईको क्रमशः ५ करोड ३४ लाख र ४ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । घटेको बजारमा पनि सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिनको तुलनामा संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८७१.७० रुपैयाँ पुगेको छ । बजारमा लाइफ इन्स्योरेन्स समूहबाहेक सबै समूह राताम्मे देखिएका छन् । जीवन बीमा समूह भने ९६.९० अंकले बढेको छ ।

गण्डकी प्रदेशमा पनि कार्यालय खोल्दै बीमा समिति, गरिबलाई अनुदान दिन आग्रह

काठमाडौं । बीमा समितिले आगामी आर्थिक वर्ष २०७९/०८० मा गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालय स्थापना गर्ने भएको छ । गण्डकी प्रदेश सरकारसँग बीमा सम्बन्धी भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सूर्यप्रसाद सिलवालले सो जानकारी गराएका हुन् । अध्यक्ष सिलवालले देशको संघीय संरचना अनुरूप बीमा समितिले विभिन्न तीनवटा प्रदेशमा प्रदेश कार्यालय स्थापना गरिसकेको समेत जानकारी गराए । अध्यक्ष सिलवालले बीमा नागरिकको जोखिम हस्तान्तरण गर्ने प्रमुख वित्तीय औजार भएकाले आम नागरिकमा बीमाको पहुँच पुर्याउनका लागि सरकारी सेवासँग बीमालाई आवद्ध गरेर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले बीमालाई आत्मसात गरेर अगाडि बढ्दा नै सरकारले जनताको हित गर्ने आफ्नो लक्ष्य हासिल गर्न सक्ने उल्लेख गरे । साथै, आर्थिकरूपले सबल व्यक्तिलाई बीमाका लागि प्रोत्साहित गर्न र सीमान्तकृत एवम् गरीब वर्गलाई बीमाको पहँुचमा ल्याउन अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकसम्म बीमाको पहुँच पुर्याउन विशेष संयन्त्र निर्माण गरी अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताए । मुख्यमन्त्री पोखरेलले असङ्गठित क्षेत्रका मजदूरहरूलाई पनि सामाजिक सुरक्षा कार्यक्रमसँग जोड्नका लागि समेत बीमाको भूमिका महत्वपूर्ण हुने भएकाले बीमाको पहुँच विस्तारमा प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताएका छन् । त्यस्तै, गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले प्रदेशमा कृषि तथा पशुपन्छी बीमा कार्यान्वयनमा समस्या देखिएको र बीमा दाबी भुक्तानी पनि समयमा हुन नसकेको बताए । कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको वर्तमान अवस्था, विद्यमान चुनौती, आगामी कार्यदिशा र नीतिगत व्यवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिव लगायत पदाधिकारीहरू, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, विभिन्न सरकारी निकायका प्रमुख एवम् पदाधिकारी, बीमा समितिका सहायक निर्देशक केदारनाथ भट्ट, विभिन्न बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरू लगायत गरी करिव ५५ जनाको सहभागिता रहेको थियो ।