बिहेमा छोरी ज्वाईंलाई कुश्माकी मेनकाले दिइन् बीमा कोसेली
काठमाडौं । आमा बुबाको लागि आफ्ना सन्तान प्राणभन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्वल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् । उनीहरुको पालनपोषन, शिक्षादिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस भन्ने इच्छा सबै अभिभावकको हुन्छ । छोराछोरीको विवाह अभिभावकको लागि एक अमुल्य क्षण हुन्छ । यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफुले सानो सानो रुपमा बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरी ज्वाईंलाई उपहार स्वरुप जीवन बीमा गरिदिएकी छिन् । जीवनमा आइपर्न सक्ने जोखिम बहन र बचत पनि होस भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेका छोरी ज्वाईं, पुजा रेग्मी र सुझाब आचार्यको जीवन सुखमय होस भन्ने कामना सहित बीमा गरिदिएको उनले बताइन् । ‘हाँसी खेली घुमेको माईतिघर छोडेर गएकी छोरीका लागि सदैव आमाको चिनो स्वरुप आफ्ना छोरी र ज्वाईं दुवैको बीमा गरिदिएको हुँ,’ उनले भनिन् । सूर्या लाइफ इन्स्योरेन्सको कुश्मा शाखाबाट जारी गरीएको उक्त बीमा योजना कम्पनीका एजेन्सी विभाग प्रमुख यज्ञ बहादुर राउतले बैबाहिक समारोहमै गएर हस्तान्तरण गरेका थिए ।
बीमा निर्देशिका खारेज गर्न निर्माण व्यवसायीको एक हप्ते अल्टिमेटम, आन्दोलन संघर्ष समिति गठन
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ लगायतका तीन संस्थालेहरूले बीमा निर्देशिका-२०७८ खारेज गर्न बीमा समितिलाई एक हप्ते अल्टिमेटम दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघ, स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल र नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै बीमा निर्देशिका-२०७८ खारेजीको माग गरेका हुन् । उनीहरुले यही असार १५ गतेसम्म बीमा निर्देशिका-२०७८ खारेज गर्नुपर्ने माग राखेका हुन् । सरोकारवालाहरूको सहभागितामा नयाँ निर्देशिका जारी नभए विगतको भन्दा सशक्त अन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् । बीमाको दररेटमा देखिएको समस्याका कारण देशभरका १७ हजारभन्दा बढी निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा परेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । ‘पछिल्लो पटक बीमा समितिबाट असार २ गते प्राप्त पत्रप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको तथा सरोकारवाला निकायहरू र समितिबीच भएको समझदारी विपरित आएको पत्रको हामी भत्सर्ना गर्दछौं’ विज्ञप्तिमा लेखिएको छ । महासंघ, बीमा समिति, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, बीमा सर्भियर संघ लगायतका संस्थाहरुबीच जेठ ३१ म भएको बैठकमा ‘डी ट्यारिफ’ मा नै जानुपर्ने राय सुझाव आएको हुँदा सोही विषय बीमा समितिका अध्यक्षलाई जानकारी गराउने र अनुमोदनका लागि सिफारिस गरियो भनी भएको निर्णय विपरीत बीमा समितिबाट उक्त निर्णय विरुद्ध राय सुझावको लागि पत्र आउनु घोर आपत्तिजनक रहेको विज्ञप्तिमा जनाइएको छ । उक्त विज्ञप्तिमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपालका उपाध्यक्ष गणेश कार्की र नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष सुरेश खत्रीको हस्ताक्षर रहेको छ । तीनवटै संस्थाबाट पाँच पाँच जना प्रतिनिधि रहने गरी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको संयोजकत्वमा आन्दोलन संघर्ष समिति गठन गरिएको छ । आन्दोलनका थप कार्यक्रम सशक्त रुपमा अगाडि बढाउनका लागि उक्त समिति गठन गरिएको जनाइएको छ ।
प्रभु लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आगामी असार २३ गते विशेष साधारण सभा डोकेको छ । उक्त सभा सो दिन दिउँसो ११ः४५ बजे काठमाडौंको आम्रपाली बैंक्वेटमा हुने छ । असार ७ गते बसेको कम्पनी सञ्चालक समितिले उक्त सभाको निर्णय गरेको हो । सभामा इन्स्योरेन्सले पुँजी वृद्धि लगायतको प्रस्तावमा छलफल गर्ने छ । साथै, सभाले इन्स्योरेन्सलाई कुनै कम्पनीसँग मर्ज गर्न तथा मर्जमा जान सञ्चालक समितिलाई अख्तियारी दिने समेत प्रस्ताव रहेको छ । सभामा जाने प्रयोजनको लागि इन्योरेन्सले असार १६ गते एक दिन बुक क्लोज गर्दै छ ।