अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । बीमा कम्पनीहरुलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले निर्देशन दिएका छन् । शुक्रबार समितिले निर्जीबन बीमा सम्बन्धी समसामयिक विषयमा निर्जीबन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँग गरेको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले सो कुरा बताएका हुन् । अध्यक्ष सिलवालले बीमा कम्पनीहरूलाई सुशासन कायम गर्न, अस्वस्थ प्रतिस्पर्धा नगर्न, तोकिएको दरभन्दा कममा बीमा नगर्न, जोखिमांकनमा कमीकमजोरी हुन नदिन, तोकिएको समयमा बीमा दाबी भुक्तानी गर्न र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण क्षेत्रमा गएर बीमाको प्रचार प्रसारमा समेत योगदान पुग्ने गरी काम गर्न निर्देशन दिए । अध्यक्ष सिलवालले समितिले बीमा व्यवसायलाई स्वच्छ, पारदर्शी, बलियो र विश्वसनीय बजारका रूपमा स्थापित गर्न खोजेको बताए । साथै उनले बीमा क्षेत्रका कहाँ कहाँ कमी कमजोरीहरू छन् भन्ने बीमा समितिले देखाएको र त्यस्ता कमीकमजोरीहरूलाई दोहोरिन नदिई सुधार गरेर अघि बढ्न निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिए । अध्यक्ष सिलवालले समितिले विभिन्न विषयमा निर्णय गर्नु र निर्देशिकाहरू जारी गर्नुभन्दा अगाडि बीमा कम्पनीहरूसँग पर्याप्त छलफल गरी सुझावहरू लिएर मात्र गर्ने गरेको उल्लेख गर्दै समितिका निर्णय र जारी निर्देशिकाहरू बीमा कम्पनीहरूले कार्यान्वयन गर्नै बताएका थिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्जीवन बीमा व्यवसायमा देखिएका समस्याहरूका बारेमा छलफल गरी त्यस्ता समस्याहरू समाधान गर्दै जाने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यकारी निर्देशक पौडेलले विशेष गरी कृषि तथा पशुपन्छी बीमामा दाबी भुक्तानी नपाएको भन्ने धेरै गुनासाहरू आउने गरेको र सम्पत्ती बीमा, सामुन्द्रिक बीमा तथा दुर्घटना बीमामा पनि समस्याहरू देखिएको उल्लेख गर्नुहुँदै ती समस्याहरूको समाधान खोज्नैपर्ने कुरामा जोड दिए । कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमकको सुपरीवेक्षण, कृषि, लघु तथा पुनर्बीमा, निर्देशक पूजन ढुंगेल (अधिकारी) ले बीमालेख सम्बन्धी समस्या र समाधानका उपाय तथा निर्देशक दिनेश कुमार लालले जोखिमांकनमा देखिएका समस्या एवम् चुनौती र समाधानका उपाय सम्बन्धमा छुट्टा छुट्टै कार्यपत्रहरू प्रस्तुत गरेका थिए । कार्यपत्रहरू प्रस्तुतीका क्रममा उनीहरूले बीमा क्षेत्रबाट पूर्वाधार र राष्ट्रिय महत्वका क्षेत्रमा लगानी नगरिनु, लगानी स्वीकृतिका लागि बीमा समितिमा पेश गर्दा जोखिमको विश्लेषण नगरिनु, तोकिएको रेटिंगभन्दा कमसल पुनर्बीमा कम्पनीसँग कारोवार गरिनु, कृषि तथा पशुपन्छी बीमामा साना साना दाबीको भुक्तानी नदिइनु, बीमालेख विकास गर्दा पर्याप्त अध्ययन एवम् अनुसन्धान नगरिनु, समितिमा बीमालेख स्वीकृतिका लागि पेश गर्दा पर्याप्त कागजात पेश नगरिनु, जोखिम व्यवस्थापन प्रभावकारी नहुनु, सूचना प्रविधिको उचित प्रयोग नगरिनु, बीमा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता नदिइनु, शंकास्पद कारोवार पहिचान सम्बन्धी संयन्त्र स्थापना नगरिनु र बीमकले आफ्ना शाखा कार्यालयहरूमा पर्याप्त अधिकार प्रत्यायोजन नगर्नु लगायतका विभिन्न समस्याहरू रहेको उल्लेख गरेका थिए । कार्यक्रममा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बीमा समितिबाट भएका निर्णय र जारी निर्देशिकाहरू कार्यान्वयन गर्न कम्पनीहरू प्रतिवद्ध रहेको उल्लेख गर्दै राष्ट्रिय पूर्वाधारका क्षेत्रमा लगानी गर्न निर्जीवन बीमा कम्पनीहरू तयार रहेको, कृषि तथा पशुन्छी बीमामा सरकारले घोषणा गरेको अनुदान आउन ढिलाई हुने गरेको लगायतका धारणा राखेका थिए । कार्यक्रममा सबै निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।
आईएमई लाइफ इन्स्योरेन्स छैटौं वर्षमा, सम्पन्न गर्यो रक्तदान कार्यक्रम
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाचौं वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गर्दै छ । सो अवसरमा कम्पनीले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१ जना रक्तदाता सहभागी भएका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरु विर्तामोड, धरान, बीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, घोराहि, नेपालगन्ज, धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले पाँचौ वार्षिकोत्सवका अवसरमा अन्य विविध कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकारी दिए । २०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा आएको आईएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायत ग्राहकका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ । ग्राहकमा सर्वसुलभ पहूँच, उत्कृष्ट बीमालेखन, झन्झटमुक्त दाबी र व्यवसाय अनुकुलको समाधान गर्ने लक्ष्य रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुयाँलले बताए । जीवन बीमाबारेमा जनचेतना वृद्धि गर्ने, जीवन बीमा सुविधाहरुको माध्यमबाट ग्राहकहरुको वित्तीय सुरक्षालाई बढावा दिने तथा राष्ट्रको विकासमा योगदान दिने परिकल्पनाका साथ जीवन बीमा व्यवसाय सञ्चालन शुरु गरिएको कम्पनीले जनाएको छ ।
कर्मचारीलाई मर्जरको त्रास, सेवा सुविधा र पद टुङ्ग्याएर मात्रै सम्झौता गर्न माग
काठमाडौं । पछिल्लो समय एकपछि अर्को बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुबीच मर्जर सम्झौता भएपछि कर्मचारीहरु चिन्तामा परेका छन् । मर्जरका नाममा कर्मचारीको सेवा सुविधा कटौति हुने, नियमित रुपमा हुनुपर्ने काम कारवाहीहरुलाई मर्जरको बाहनामा अवरुद्ध गर्ने लगायतका काम भएकोले त्यस्तो बन्द गर्न अपील गरेका छन् । नेपाल बित्तीय संस्था कर्मचारी संघले शुक्रबार बीमा समितिलाई ध्यानआकर्षण पत्र बुझाउँदै विभिन्न मागहरु राखेको छ । संघले पछिल्लो समय धेरै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुबीच मर्जर सम्झौताका नाममा दुई संस्थाका कर्मचारीबीच विभेद बढेको बताउँदै त्यसको अन्त्य हुनु पर्ने धारणा राखेको छ । संघले समितिलाई ध्यानआकर्षण पत्र बुझाउँदै बीमकहरुको पुँजीगतआधारलाई मजबुत गरी प्रतिस्पर्धात्मकक्षमताको बिकास गर्ने र बीमा क्षेत्रमा रहेका अनेकन विसंगतिहरुलाई न्यूनिकरण गर्ने हेतुले नियामकनिकायले बीमा क्षेत्रलाई लक्षित गरी ल्याएको यो मर्जर तथाप्राप्तिको अवधारणा भएको बताउँदै संस्थामा कार्यरत ठूलो जनशक्तिको रोजगारी जोखिममा पर्ने देखिएको उल्लेख गरेको छ । ‘कम्पनीका अचल सम्पत्ति,लगानीकर्ताको लगानी तथा लामो समय सम्मका लागि भनी कम्पनीले बहन गरेको बीमितहरुको जोखिमयी सबैको लेखा जोखा भई रहँदा कम्पनीको बिकास र बिस्तारमा दिन रात नभनी परिचालित हुने चलायमान मानवीय सम्पत्ति अर्थात कर्मचारीहरुको व्यवस्थापनको सम्बन्धमा नियमनकारी निकाय, लगानीकर्ता र कम्पनीको उच्च व्यवस्थापनले यस बारेमा जारी गरेको निर्देशनले यस क्षेत्रमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा लगायतका विषयहरुमा अझै पनि पूर्ण रुपमा सम्बोधन नगरेको प्रति संघको गम्भीर ध्यानाकषर्ण भएको छ,’ ध्यानआकर्षणपत्रमा उल्लेख छ । बीमा समितिले सैद्धान्तिक सहमतिकालागिगाभ्ने, गाभिने बीमकका कर्मचारीको ब्यवस्थापनको बिवरण पेश गर्नुपर्ने भन्ने उल्लेख भएको आधारमा सैद्धान्तिक सहमतिदिनु पूर्व ति संस्थाहरुको सम्पूर्ण पाटाहरुको बिस्तृत अध्ययन विश्लेषण गरिनुको साथै संस्थामा कार्यरत कर्मचारीहरुको पद, तह र सेवा सुविधाको समायोजन लगायत जनशक्ति ब्यवस्थापनका सम्पुर्ण खाका पेश गरे पश्चातमात्र सैद्धान्तिक स्वीकृतिदिई मर्जर तथा प्राप्ति प्रकृयालाई अगाडि बढाउन आग्रह गरेको छ । यस्ता छन् संघको माग १) संस्थाको कर्मचारी विनियम अनुसार नियमित रुपमा हुनुपर्ने काम कारवाहीहरुलाई मर्जरको बाहनामा अवरुद्ध गर्ने कार्य बन्दगरियोस् । २) संस्थामा रहेका रिक्त दरबन्दीका पदपूर्तिका कामहरुलाई नियमितता दिइयोस् । ३) श्रम ऐन तथा ट्रेड युनियन ऐनले निर्दिष्ट गरेको कर्मचारीहरुको नियमित रुपमा हुनुपर्ने वृत्तिविकास र सामूहिक सौदाबाजीलाई मर्जरका नाममा अवरुद्ध गर्ने काम बन्द गरियोस् । ४) बीमा कम्पनीहरुको मर्जर तथा प्राप्तिको कार्यको समयावधिलाई निश्चित गरियोस् ।