जीवन बीमक संघले दुई संस्थालाई दियो ७० लाख रुपैयाँ

काठमाडाैं । जीवन बीमक संघ नेपालले दुई संस्थालाई ७० लाख रुपैयाँ बराबरको सहयाेग गरेको छ । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्ट गरी  दुई संस्थालाई सहयाेग स्वरुप ७० लाख रुपैयाँ हस्तान्तरण  गरेकाे हाे । संघले काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भगवान कोईरालालाई ४० लाख र समता एडुकेसन ट्रस्टको तर्फबाट निर्देशक दिपक सञ्जेललाई ३० लाख रुपैयाँ हस्तान्तरण गरेकाे हाे । समता एडुकेसन ट्रस्ट संस्थाले देशभरी ५० हजारभन्दा बढी आर्थिक हिसाबले कमजोर विद्यार्थीहरुलाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच बनाउने उद्देश्यले सबै प्रदेशमा विद्यालय संचालन गरिरहेकाे छ । त्यसैगरी, काठमाडौं  इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-०७ मा सहज र सुलभ मूल्यमा पेडियाट्रिक सुविधा सहितका बाल अस्पताल बनाउने र नेपालको सातैवटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उद्देश्य लिएको छ ।    

आईएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठले सम्हाले दोश्रो कार्यकाल, कर्मचारीमा खुशियाली

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले आज (साउन २३ गते) देखि दोश्रो कार्यकाल सम्हालेका छन् । पहिलो कार्यकाल सकिनुअघि नै बीमा समितिको स्वीकृति पाएका उनले आजदेखि औपचारिक रुपमा दोश्रो कार्यभार सम्हालेका हुन् । उनको पहिलो कार्यकाल पनि आजैदेखि सकिएको छ । तर बीमा समितिले असार २२ गते नै सञ्चालक समितिको प्रस्ताव अनुसार उनलाई दोश्रो कार्यकालको लागि स्वीकृति दिएको थियो । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ बादेको कार्यकुशलता र व्यवस्थापकीय क्षमतालाई मुल्याङ्कन गर्दै पुनः नियुक्तिको लागि प्रस्ताव गरेसँगै बीमा समितिले स्वीकृति दिएको हो । बादेले २०७५ साउन २३ गतेदेखि नै कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका छन् । पुनः नियुक्ति पाएसँगै बादेले आगामी चार वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । यो अवधिमा इन्स्योरेन्सलाई थप उचाईमा पुर्याउने र सबैभन्दा बढी बीमितलाई दिने सेवा सुविधामा विशेष जोड दिने योजना रहेको विकासन्युजसँग बोल्दै उनले भने । सीईओ श्रेष्ठ २०७८ चैतमा मात्रै ‘आउटस्ट्याण्डिङ म्यानेजमेन्ट अवार्ड २०२२’ बाट सम्मानित भएका थिए । नेपाल व्यवस्थापन संघ (म्यान) ले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदान र अनुकरणीय नेतृत्व कौशलताको कदर गर्दै श्रेष्ठलाई उक्त अवार्ड दिएको थियो । त्यस्तै, श्रेष्ठले हाल व्यवस्थापन गरिरहेको आईएमई जनरल इन्स्योरेन्स पनि एशियाकै ‘बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ बाट सम्मानित भएको थियो । सीईओको पुनः नियुक्तिसँगै कर्मचारीमा छायो खुशियाली (तस्विर : सामाजिक सञ्जालबाट) सीईओ श्रेष्ठले थप ४ वर्ष कम्पनीको कार्यकाल सम्हाल्ने भएसँगै कम्पनीका कर्मचारीहरुमा खुशीयाली छाएको छ । सो अवसरमा कम्पनीमा कार्यरत सबैले केक काटेर एक आपसमा खुशीयाली साटासाट गरेका छन् ।

बीमितहरुले पाएनन् साढे २७ अर्ब रुपैयाँ, कुनले कति दिन बाँकी ?

काठमाडौं । बीमा गरेका बीमितिहरु साढे २७ अर्ब रुपैयाँ बराबरको दावी भुक्तानी पाउनबाट बञ्चित भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा मात्रै जीवन र निर्जीवन बीमा गर्ने दुबैं प्रकारका बीमितले दावी गरेबापत २७ अर्ब ४९ करोड ७२ लाख रुपैयाँ बराबरको भुक्तानी नपाएका हुन् । बीमा समितिका अनुसार जीवन बीमाका बीमितले ६ अर्ब ६ करोड र निर्जीवन बीमाका बीमितले २१ अर्ब ४३ करोड रुपैयाँ बराबरको दावी भुक्तानी नपाएका हुन् । जीवन र निर्जीवन बीमा कम्पनीहरुले कूल १ लाख ५८ हजार ५७४ वटा बीमालेखबाट सो रुपैयाँ बराबरको दावी भुक्तानी दिन बाँकी रहेको हो । समितिले बीमा कम्पनीहरुमा गरेको स्थलगत निरीक्षणको प्रतिवेदन अनुसार प्रभु लाइफ र रिलायबल लाइफबाहेक बाँकी ३७ वटा कम्पनीले आफ्ना बीमितहरुलाई समयमा दावी भुक्तानी दिन सकेका छैनन् । निर्जीवन बीमातर्फ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी दावी भुक्तानी दिन बाँकी छ । प्रिमियरले आफ्ना बीमितहरुलाई एक वर्षको अवधिमा ५ हजार ६५४ वटा बीमालेखबाट २ अर्ब ९५ करोड रुपैयाँ बराबरको दावी भुक्तानी दिन बाँकी रहेको छ । त्यस्तै, एक अर्ब रुपैयाँभन्दा बढी दावी भुक्तानी नदिनेमा अन्य ८ कम्पनी रहेका छन् । जसमा नेको, सगरमाथा, एनएलजी, आईएमई जनरल, शिखर, नेशनल, अजोड र सिद्धार्थ इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई १ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको समितिले जनाएको छ । रकमको आधारमा दावी भुक्तानी नदिनेमा प्रिमियर इन्स्योरेन्स अगाडि रहेको संख्याको आधारमा भने सगरमाथा इन्स्योरेन्स रहेको छ । सगरमाथाले ९ हजार ९८५ वटा बीमालेख संख्याबाट १ अर्ब ७१ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गर्न बाँकी छ । त्यसैगरी, नेपाल र यूनाईटेड इन्स्योरेन्सले क्रमशः ९५ करोड ५३ लाख र ९५ करोड ७ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गर्न बाँकी छ । सबैभन्दा कम दावी भुक्तानी बाँकी रहनेमा सानिमा इन्स्योरेन्सको छ । इस्योरेन्सले बीमितहरुलाई २ हजार ३१३ वटा बीमालेखबाट ४१ करोड ५८ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छैन । कुनले कति दिन बाँकी ? यता जीवन बीमातर्फ सबैभन्दा बढी दावी भुक्तानी नगर्नेमा सरकारी कम्पनी रहेको छ । सरकारको स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानले गत वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छैन । संस्थानले आफ्ना बीमितहरुलाई २२ हजार १९८ वटा बीमालेखबाट दावी भुक्तानी गर्न बाँकी छ । त्यसैगरी, नेपाल लाइफका बीमितले १ अर्ब ३३ करोड रुपैयाँ र नेशनल लाइफकाले ९४ करोड ९८ लाख रुपैयाँ बराबरको भुक्तानी पाउन बाँकी छ । संख्याको आधारमा हेर्ने हो भने नेशनल लाइफले सबैभन्दा बढी अर्थात ११ हजार १२९ वटा बीमालेखको दावी दिन बाँकी छ । त्यस्तै, १ करोडभन्दा बढी र ९५ करोडभन्दा कम रुपैयाँ बराबरको दावी नतिर्नेको सूचीमा अधिकांश कम्पनीहरु रहेका छन् । जसमा नेशनल लाइफ, मेट लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, प्राइम, एशियन, ज्योति, यूनियन, महालक्ष्मी, सूर्या, आईएमई र सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन् । रिलायन्स लाइफले ७८ लाख, सानिमा लाइफले ५७ लाख, सन नेपालले ३१ लाख र गुराँस लाइफले दावी परे वापत १९ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ । यता प्रभु र रिलायबल लाइफ इन्स्योरेन्सको तथ्यांक आउन बाँकी रहेको समितिले जनाएको छ । कुनले कति दिन बाँकी ?