सीईओहरूलाई समितिले भन्यो : नाफामा केन्द्रीत नहुनु, ‘फ्रड’ गर्नेलाई तत्काल कारवाही हुन्छ
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई नाफामा मात्र ध्यान नदिन निर्देशन दिएको छ । आइतबार जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई समितिमा बोलाएर आक्रामक बिजनेस गरेर नाफामा मात्र केन्द्रीत नभएर गुणस्तरीय सेवामा पनि प्राथमिकता दिन मौखिक निर्देशन दिएको हो । ‘पछिल्लो समय बीमा कम्पनीहरु बिजनेश बढाउने चक्करमा छन्, जसले अन्डरराइटिङ्ग, सरेन्डर लगायतका विषयहरु बढिरहेका छन्, यस्ता केशहरु न्यूनिकरण गर्न हामी सबैको उत्तरदायित्व हो, कम्पनीहरुले नाफामा मात्र केन्द्रित हुनुभन्दा गुणस्तिरीय सेवामा पनि फोकस गर्नुपर्छ,’ बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई उदृत गर्दै एक जीवन बीमा कम्पनीका सीईओले विकासन्युजसँग भने । पछिल्लो समय बीमा क्षेत्रमा फ्रडहरु बढ्दै गएको जानकारी समितिले कम्पनीका सीईओहरुलाई गराएको थियो । शुक्रबार मात्रै एक बीमा कम्पनीले गरेको अण्डराइटिङमा ठूलो त्रुटी गरेको घटना बाहिरिसकेकोको उल्लेख गर्दै अबका दिनमा यस्तो हुन नदिन समेत बीमा समितिले आग्रह गरेको बताइएको छ । बारम्बार यस्ता खालका गल्तीहरु दोहोरिएमा समिति तत्काल एक्सनमा उत्रिने बताएको श्रोतको भनाइ छ । यससँगै, अब यस विषयमा जीवन बीमक संघले सबै इन्स्योरेन्सका सीईओहरुसँग थप छलफल गर्नेछ । र, मार्गनिर्देशन तयार पारेर अघि बढ्ने श्रोतले जनाएको छ । बीमा समितिले आइतबार ३ बजे सबै जीवन बीमा कम्पनीका सीईओहरुलाई छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा केही कम्पनीहरुका सीईओहरु मात्र उपस्थित थिए । अधिकांश कम्पनीका सीईओहरु उपत्यका बाहिर भएको र बीमा समितिले अचानक बोलाएको कारणले छलफलमा उपस्थित हुन नसकेको बुझिएको छ । सम्बन्धित सामाग्री अण्डरराइटिङमा एकपछि अर्को कमजोरी बाहिरिएपछि समितिले सबै सीईओलाई बोलायो
निक्षेप बीमाको सीमा ५ लाख पुर्याइने अर्थमन्त्रीको पहिलो निर्णय
काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले निक्षेप बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने निर्णय गरेका छन् । आइतबार अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सो निर्णय गरेका हुन् । उनले आइतबार साँझ साढे ६ बजे अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । चालु आवको बजेटमा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग कार्यक्रमको दायरा बिस्तार गरिने बजेटमा उल्लेख छ । अर्थमन्त्री शर्माले अघि भने बजेट कार्यान्वयनका सन्दर्भमा समीक्षा गरेर कहाँ कमजोरी भए ? कसरी हटाउन सकिन्छ भनेर उचित समीक्षासहित प्रभावकारी कार्यान्वयन गर्न लागि पर्ने छौं बताए । राजश्व सचिव कृष्णहरि पुष्करले स्वागत गर्दै बजेट लेख्ने अर्थमन्त्री पुनः बजेट कार्यान्वयनका लागि आएको र मन्त्रालयले उनलाई सहयोग गर्ने बताए । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले २२ असारमा शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरेको थियो । त्यसै दिन शर्माले पनि अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको पुष्टि नभएको प्रतिवेदन दिएको छ । समितिले प्रतिवेदन दिएको दुई दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः शर्मालाई नै अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरे । अर्थसचिव अनुपस्थित नवनियुक्त अर्थमन्त्री शर्मालाई अर्थसचिव मधुकुमार मरासिनीले भने वेवास्ता गरेका छन् । नवनियुक्त अर्थमन्त्री शर्मालाई वेवास्त गर्दै स्वागत कार्यक्रममा उनी अनुपस्थित भएका हुन् । सचिव मरासिनी स्वागत कार्यक्रममा अनुपस्थित भएपछि राजश्व सचिव कृष्णहरि पुष्करले उनलाई स्वागत गरे । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई पुष्करले स्वागत गरेका हुन् । यसअघि पनि मरासिनीले शर्माले राजीनामा नदिएसम्म काममा नआउने भन्दै विदामा बसेका थिए । आज पनि उपस्थित नहुनुले अर्थमन्त्री शर्मा र अर्थसचिव मरासिनीबीचको ‘इगो’ बढेको बुझ्न सकिन्छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, धितोपत्र बार्डका अध्यक्ष रमेशकुमार हमाल लगायत स्वागत कार्यक्रममा पुग्दा अर्थसचिव भने अनुपस्थित देखिएका हुन् । नव नियुक्त मन्त्रीलाई सोही मन्त्रालयको सचिवले स्वागत गर्ने अभ्यास छ ।
जनरल इन्स्योरेन्सका बीमितले मनमोहन मेमोरीयल हस्पिटलमा उपचार गर्न पैसा तिर्नु नपर्ने
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको तर्फबाट नास्तु शर्माले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपालबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्नेछन् ।