लाभांश पारित गर्न सानिमा जिआईसीले डाक्यो आठौं साधारण सभा
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सानिमा जिआईसी इन्स्योरेन्सले आठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको वैशाख १० गते बसेको बैठकले जेठ ६ गते नेपाल पुलिस क्लब काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँको ५ प्रतिशतका दरले १० करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ०.२६ प्रतिशतका दरले ५६ लाख ५७ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ मा भएको खर्च, सातौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद सेयर बमोजिम हुन आउने ३६ लाख ५५ हजार कित्ता सेयर समावेश गरि यस साधारण सभाबाट पारित हुने बोनस सेयर जारी गरे पश्चात हुने चुक्ता पुँजीमा हकप्रद सेयर सहितको विवरण पुनरावलोकन गर्नेछ । यस्तै, सञ्चालक समितिको गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आव २०८२÷८३ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ ।
बीमकको आन्तरिक लेखापरीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहीबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकको आन्तरिक लेखापरीक्षण सम्बन्धी छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणले जारी गरेको बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिका, २०७९ लाई समयसापेक्ष परिमार्जन गर्न लागिएको सन्दर्भमा सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले समग्र बीमा क्षेत्रको जोखिम पहिचान न्यूनीकरण गर्नका लागि बीमकको आन्तरिक लेखापरीक्षणलाई अझ बढी व्यवस्थित, व्यावसायिक र परिस्कृत गर्नु आवश्यक भएको बताए । कार्यकारी निर्देशक सुवेदीले बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिका परिमार्जन गर्दा समावेश गर्नुपर्ने विषयहरू र विद्यमान कमी कमजोरीलाई हटाउन गर्नुपर्ने कार्य लगायत समग्र विषयमा राय सुझावहरू दिन आग्रह गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गोकुलराज दाहालले प्राधिकरणले परिमार्जन गर्न लागेको बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिकाको मस्यौदामा प्रस्ताव गरिएका विषयवस्तुहरू सम्बन्धी प्रस्तुती गरेका थिए । कार्यक्रममा सहभागीहरूले बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिकाको मस्यौदामा भएका रिस्क रेटिङ, ब्रान्च अडिट कभरेज, स्याम्पल साइज, इन्टर्नल अडिट फङ्सन र इन्टर्नल अडिट रिपोटिङ रिक्वाइयरमेन्टका सम्बन्धमा राय सुझावहरू दिएका थिए । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले कार्यक्रमबाट प्राप्त राय सुझावहरूलाई समेत समेटेर निर्देशिकालाई अन्तिम रूप दिने बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारी र निर्देशक शाम्भ राज लामिछाने उपस्थित थिए । यसैगरी, कार्यक्रममा बीमकका आन्तरिक लेखापरीक्षण शाखाका प्रमुख र आन्तरिक लेखापरीक्षकहरूको सहभागिता रहेको थियो ।
विदेशमा दर्ता भएका सवारीसाधनले अब तेस्रो पक्ष बीमा गर्न मिल्ने
काठमाडौं । नेपालमा अस्थायी रूपमा सञ्चालन हुने विदेशमा दर्ता भएका सवारीसाधनले अब तेस्रो पक्ष बीमा (थर्ड पार्टी इन्स्योरेन्स) गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले यससम्बन्धी एक परिपत्र जारी गर्दै सो बारे जानकारी गराएको हो । प्राधिकरणका उपनिर्देशक केशवप्रसाद दाहालका अनुसार सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विभिन्न प्रयोजनको लागि नेपालमा सञ्चालन हुन आउने विदेशमा दर्ता भएका सवारी साधनको नेपालभित्र सञ्चालन हुने अवधिसम्मको लागि तेस्रो पक्ष बीमा गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले जारी गरेको परिपत्र अनुसार सम्बन्धित निकायबाट स्वीकृति लिएर विभिन्न प्रयोजनका लागि नेपालमा सञ्चालन हुने विदेशी सवारी साधनले नेपालभित्र रहँदासम्म तेस्रो पक्ष बीमा गर्न सक्ने व्यवस्था गरिएको हो । प्राधिकरणका अनुसार उक्त व्यवस्था मोटर बीमा दर सम्बन्धी निर्देशिका, २०७३ बमोजिम लागू हुनेछ । यस व्यवस्थाले नेपालमा सञ्चालन हुने विदेशी सवारीसाधनबाट हुन सक्ने तेस्रो पक्ष क्षतिको जोखिम व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा प्राधिकरणले गरेको छ ।