राष्ट्रिय जीवन बीमाको साधारण सभा सम्पन्न, दुई आर्थिक वर्षका वित्तीय विवरण पारित
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (साविक राष्ट्रिय बीमा संस्थान) को दोस्रो वार्षिक साधारण सभा २०८२ साल चैत २७ गते सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ का वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ । साधारण सभामा कम्पनीको समग्र वित्तीय अवस्था, व्यवस्थापन सुधार तथा बीमा सेवा विस्तारका विषयमा विस्तृत छलफल भएको थियो । प्रस्तुत सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको कम्पनीले जनाएको छ । त्यस अवसरमा कम्पनीको आगामी कार्यदिशा र रणनीतिका विषयमा महत्वपूर्ण सुझावसमेत प्राप्त भएको बताइएको छ । कम्पनीले बीमा सेवाको पहुँच विस्तार, ग्राहक सेवा सुदृढीकरण तथा संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । साधारण सभा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शेयरधनी, नियामक निकाय तथा सरोकारवालाप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।
हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रि इन्स्योरेन्सको कार्यालयमा छापा हानेको छ । मंगलबार (हिजो) हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा हानेको विभागले जनाएको हो । विभागका अनुसार अनुसन्धानका लागि आवश्यक कागजात संकलन गरिएको छ । त्यस्तै, विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घरमा पनि प्रहरीले छापा हानेको छ । सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका दीपक र सुलभ हाल हिरासतमै रहेका छन् ।
ट्रेड टावर भाडामा दिँदै यूनाइटेड अजोड इन्स्योरेन्स
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडलेघर भाडामा दिने भएको छ । यूनाइटेड अजोडको नाममा लिजहोल्ड कायम रहेको थापाथलीस्थित ट्रेड टावरको चौथो तल्ला कार्यालय प्रयोजनका लागि भाडामा दिने भएको हो । कम्पनीका अनुसार करिब ५ हजार वर्गफिट क्षेत्रफल रहेको उक्त स्थान भौतिक पूर्वाधारसहित, सुरक्षा तथा पार्किङको सुविधायुक्त रहेको छ र तत्काल कार्यालय सञ्चालन गर्न सकिने अवस्थामा रहेको छ । भाडामा लिन इच्छुक व्यक्ति वा कम्पनीले प्रस्तावित मासिक भाडादर (करसहित) तथा कति वर्षका लागि लिने भन्ने विवरण खुलाएर आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको प्रशासन विभागमा स्वयं उपस्थित भई, हुलाकमार्फत वा इमेलमार्फत पठाउन सकिने जनाएको छ प्राप्त प्रस्तावहरूको मूल्यांकनपछि भाडामा दिने वा नदिने अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा नै निहित रहने कम्पनीले स्पष्ट पारेको छ ।