जीवन बीमाबारे जानकारी दिन मेटलाईफले ल्यायो कमिक्स भिडियो
काठमाडौं । बीमा प्रदायक मेटलाइफले बिमाको महत्वबारे आम नागरिकलाई जनचेतना जगाउने र शिक्षित गराउने उद्देश्यले नेपालमा ‘हेलो बिमा’ नामक कमिक भिडियो शृङ्खला ल्याएको छ । जीवन बीमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन र नेपाली समाजमा रहेका बीमा सम्बन्धी बारेमा गलत धारणालाई हटाउनका लागि तीन एपिसोड श्रृंखला सामाजिक सञ्जाल वेबसाइटहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार पहिलो शृङ्खलामा बीमाको आधारभूत कुराहरू, दोस्रो शृङ्खलाले दर्शकहरूलाई बीमामा विभिन्न सेवाहरू र तेस्रो शृङ्खलामा बीमा दाबी गर्ने तरिका, विभिन्न प्रकारका बीमाहरू र उपयुक्त जीवन बीमा कम्पनी कसरी छनौट गर्ने भन्ने बारे जानकारी दिइएको छ । मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले नेपालमा धेरै ग्राहकहरुलाई वीमाले प्रदान गर्न सक्ने लाभ तथा आर्थिक आत्मनिर्भरताको बारेमा जानकारी दिँदे आएको बताए ।
बीमा कम्पनीलाई प्राधिकरणले सोध्यो: तोकिएको पुँजी किन पुर्याइएन ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकिएको समयमा चुक्ता पुँजी पुर्याउन नसक्ने कम्पनीलाई कारणसहितको निवेदन दिन निर्देशन दिएको छ । प्राधिकरणले चैत मसान्तसम्म पुँजी नपुर्याएका जीवन तथा निर्जीवन बीमा कम्पनीलाई उक्त निर्देशन दिएको हो । प्राधिकरणले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ लाई संशोधन गर्दै उक्त निर्देशन दिएको हो । ‘२०७९ साल चैत्र मसान्तभित्र दफा ४ बमोजिमको चुक्ता पूँजी कायम गर्न नसक्ने बीमकले मनासिव कारणसहित निवेदन दिएमा प्राधिकरणले यस निर्देशिका बमोजिमको चुक्ता पुँजी मिति २०८० साल असार मसान्तभित्र कायम गर्ने गरी म्याद थप गर्न सक्नेछ,’ प्राधिकरणले भनेको छ । उक्त संशोधित निर्देशिकाको नाम बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी (दोश्रो) निर्देशिका, २०८० रहेको छ । जसअनुसार कम्पनीले खुलाएका कारण उपयुक्त भएमा मात्रै उनीहरुलाई चुक्ता वृद्धि गर्ने समय थपिने समेत प्राधिकरणले बताएको छ । जसको म्याद तीन महिना अर्थात आगामी असार मसान्तसम्म थप गरिने प्राधिकरणको भनाई छ । यो निर्देशिका गत बैशाख ३ गते बसको प्राधिकरणको सञ्चालक समितिले स्वीकृत गरेको हो । जुन तत्काल लागू हुने छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तसम्ममा चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । जसमा जीवन बीमा कम्पनीलाई न्युनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे दुई अर्ब अर्थात दुई अर्ब ५० करोड रुपैयाँ पुँजी तोकिएको थियो । योअनुसार चैत मसान्तसम्म ४ वटा कम्पनीले मात्रै पुँजी पुर्याइसकेका छन् । जसमा जीवनमध्ये एक कम्पनी नेपाल लाइफ इन्स्योरेन्स र निर्जीवनमध्ये तीन कम्पनी शिखर, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेका छन् । यता जीवन बीमातर्फका अधिकांश कम्पनी आईपीओ जारी गर्ने प्रकृयामा छन् । नयाँ जीवन बीमा कम्पनी सिटिजन लाइफ, सन नेपाल, आईएमई लाइफ, रिलायबल र महालक्ष्मी लाइफ इन्स्योरेन्स प्रिमियम मूल्यमा आईपीओ जारी गर्नको नेपाल धितोपत्र बोर्डमा पुगेका छन् । बाँकी कम्पनीमध्ये अधिकांश कम्पनीले पुँजी पुर्याउनको लागि मर्जरको बाटो रोजिसकेका छन् । केहीले मर्जरको प्रकृया सक्दा पनि पुँजी पुर्याउन सकेका छैनन् भने केही भने मर्जर प्रकृयामै छन् । मर्जरमा गएका हिमालयन एभरेष्ट, सानिमा जीआईसी र सानिमा रिलायन्स पनि तोकिएको न्यूनतम पुँजी पुगेको छैन । प्राधिकरणका अनुसार यी कम्पनीले अब हकप्रद सेयर जारी गर्न पाउने छन् ।
आइजीआई प्रुडेन्सियलले पायो धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति
काठमाडौं । मर्जर प्रकृयामा रहेका आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबारको लागि नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको छ । दुई कम्पनीले मंगलबार बोर्डबाट मर्जरको लागि अन्तिम स्वीकृति पाएको हो । यी दुबै कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट आगामी बैशाख अन्तिम सातादेखि एकीकृत कारोबार शुरू गर्ने योजना बनाएको छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् ।ढकाल र श्रेष्ठ दुवै आइएमई जनरल इन्स्योरेन्सका हुन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुनेछन् । रावल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् । मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनी बराबरी हैसियत अर्थात स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएसँगै कम्पनीको पुँजी बढेर ३ अर्ब नाघेको हो । जुन निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक पुँजी रहेको सिद्धार्थ प्रिमियरको तुलनामा बढी हो । साथै, कम्पनीले कर्मचारी समायोजन पनि बराबरी हैसियतमा गर्ने भएका छन् ।