एशियन लाईफ इन्स्योरेन्सको ८.९४ प्रतिशत लाभांश पारित
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको सोमबार बसेको पन्ध्रौंं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको संचित नाफाबाट ८.९४७ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । संचालक समितिले प्रस्ताव गरेको ८.५ प्रतिशत बोनश सेयर र ०.४४७ प्रतिशत(कर प्रयोजनका लागी) नगद लाभांशको प्रस्ताव साधारण सभाले पारित गरेको हो । यस कम्पनीले हाल कायम चुक्ता पूँजी दुई अर्ब ९० करोड ८१ लाख ११ हजार रुपैयाँको ८.५ प्रतिशतले हुन आउने २४ करोड ७१ लाख ८९ हजार ४४२ बराबरको बोनश सेयर वितरण गर्नेछ । साधारण सभाले कर प्रयोजनको लागि रु.१ करोड ३० लाख ९ हजार ९७० नगद लाभांश(कर प्रयोजनका लागी) वितरणको समेत पारित गरेको छ । साथै बोनश शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न समेत साधारण सभाले स्वीकृत गरेको छ । यसैगरी कम्पनीको अधिकृत पूँजीलाई ५ अर्बबाट ६ अर्ब कायम गर्न प्रबन्धपत्रको दफा ६.१(क) मा संशोधनको प्रस्ताव समेत पारित भएको छ । साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष श्री दिपक कुमार श्रेष्ठले पेश गर्नुभएको संचालक समितिको प्रतिवेदनको साथै लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष.२०७८/७९ (एनएफआरएस) बमोजिम आषाढ मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि अनुुसूचिहरु माथी छलफल सहित पारित गरेको छ । आर्थिक वर्ष ०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव सभाबाट पारित भएको छ । विशेष प्रस्ताव अन्तर्गतको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभाबाट पारित भएको छ । यसैगरी कम्पनीले व्यवसायीकरुपमा बहालमा दिन तथा बिक्री गर्न भवन निर्माण गर्ने सम्बन्धमा प्रबन्धपत्रको दफा ५ (क) मा संशोधन गर्ने प्रस्ताव समेत पारित भएको छ । यस कम्पनीको चालू आ.व. २०७९/८० को फागुनसम्ममा जीवन बीमाकोष ३५ अर्ब ६० करोड र कूल लगानी ३९ अर्ब ८ करोड छ । कम्पनीको फागुन मसान्तसम्मको कूल बीमाशुल्क आम्दानी ४० अर्ब ८५ करोड रहेको छ ।
वैशाख २७ गतेबाट एकीकृत कारोबार गर्दै आइजीआई प्रुडेन्सियल
काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख २७ गते बुधबारबाट एकीकृत कारोबार गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । मर्जरपछि बन्ने नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् ।ढकाल र श्रेष्ठ दुवै आइएमई जनरल इन्स्योरेन्सका हुन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुनेछन् । रावल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् । मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनी बराबरी हैसियत अर्थात स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएसँगै कम्पनीको पुँजी बढेर ३ अर्ब नाघेको हो । जुन निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक पुँजी रहेको सिद्धार्थ प्रिमियरको तुलनामा बढी हो ।
नेपाल पुनर्बीमाको लाभांश घोषणा, बैंकको व्याजदर भन्दा आधा लाभांश
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरण गर्ने घाषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैशाख १७ गते बसेको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयाेगजनकाे लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले निक्षेपकर्तालाई १२ प्रतिशतसम्म व्याज दिएको वर्ष यस कम्पनीले सेयरधनीलाई भने ५ प्रतिशत भन्दा कम लाभांश दिन लागेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।