साढे १० करोड नाफा गरेको अजोड इन्स्योरेन्सको अधिकांश सूचक बढे, ईपीएस कति ?

काठमाडौं । अजोड इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ११.२६ प्रतिशत बढेर १० करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ४३.२६ प्रतिशत बढेर ५२ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दावी भुक्तानी २९ प्रतिशत बढेर २३ करोड ४९ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड २१ लख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ, जगेडा कोष ४६ प्रतिशत बढेर २० करोड ३८ लाख रुपैयाँ, बीमा कोष ४०.६४ प्रतिशत बढेर २२ करोड ३९ लाख रुपैयाँ र महाविपत्ती कोष २ करोड २ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीले ९ महिनाको अवधिमा कूल बीमा शुल्क १ अर्ब ४४ करोड ३१ लाख रुपैयाँ, कूल दाबी भुक्तानी ८७ करोड १२ लाख रुपैयाँ रहेको छ । कम्पनीले ४ हजार ८११ वटा दावी वापत ६८ करोड ७५ लाख बराबरको दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रति सेयर आम्दानी १३ रुपैयाँ ६९ पैसा र प्रति शेयर नेट्वर्थ १४४ रुपैयाँ ८१ पैसा रहेको छ ।

अजोड इन्स्योरेन्सको १९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सेयर संरचना परिवर्तन भएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको १९ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिवर्तन गरिएको हो । यस कम्पनीको संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ४९ प्रतिशत कायम हुने गरी सेयर संरचना पविर्तन गरेको हो । यसअघि संस्थापक सेयरको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण सेयरको स्वामित्व ३० प्रतिशत रहेको थियो । बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिकामा संस्थापक सेयर स्वामित्व कम्तीमा ५१ प्रतिशत हुने गरी बाँकी सेयर सर्वसाधारण सेयरमा परिणत गरिएको कम्पनीले जनाएको छ । संस्थापक सेयर नेपाल बीमा प्राधिकरण तथा सम्बन्धित निकायको स्वीकृति लिई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव गत मंसिर ९ गते सम्पन्न विशेष साधारण सभाले पारित गरेको थियो । यदि कोही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा परिवर्तन नगर्ने भएमा ७ दिन जानकारी गराउन कम्पनीले आग्रह गरेको छ । तोकिएको समयमा जानकारी नभए संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गरिनेछ ।

२३ औं वर्षमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । २०५८ साल बैशाख २१ गते स्थापित कम्पनीले विभिन्न कार्यक्रमहरु गरेर आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । यस अवसरमा कम्पनीले सातवटै प्रदेशबाट रक्तदान कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममार्फत कुल ३१० पिन्ट रगत संकलन गरिएको कम्पनी जानकारी दिएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले  आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउन प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन योजना ल्याउने बताए । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० चैत मसान्तसम्ममा लगानी १६२.२८ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष करिब १५८ अर्ब रुपैयाँ संचित रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना करिब १९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।