रसुवा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु

रसुवा । जिल्ला अस्पताल रसुवाले आइतबारदेखि स्वास्थ्य बीमाको काम अघि बढाएको छ । सबै नागरिकलाई स्वास्थ्य बीमा गराई उपचार प्रभावकारी बनाउने उद्देश्यले अस्पतालले बीमासम्बन्धी काम अघि बढाएको हो । जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले स्वास्थ्य बीमा कार्यान्वयनको थालनी गरे । बीमासम्बन्धी काम गर्न छुट्टै कार्यालय स्थापना भइसकेको छ । बीमाले यथेष्ठ उपचार सेवा प्रदान गर्ने भएकाले सबै दाजुभाई तथा दिदीबहिनी यस कार्यक्रममा सहभागी हुन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले आग्रह गरे । एउटा घरका पाँच जनासम्म परिवारका लागि एकमुष्ठ तीन हजार पाँच सय रुपैयाँ प्रिमियम बुझाएर बीमा गर्न सकिन्छ । एक वर्षसम्म बहाल रहने बीमा कार्डले एक लाख रुपैयाँसम्मको औषधिसहित सबै प्रकारका उपचार एवं परीक्षण गर्न सकिन्छ । स्वास्थ्य बीमाको कार्ड प्राप्त गरेका तर स्थानीय अस्पतालमा उपचार हुन नसकेका नागरिकलाई थप उपचार गराउन काठमाडौंको सरकारी अस्पतालमा पनि बीमाले सहयोग गर्नेछ । जिल्लाका पाँच गाउँपालिकामध्ये कालिका गाउँपालिका धैबुङले सम्पूर्ण वडावासीलाई गत फागुनदेखिनै लागू हुनेगरी स्वास्थ्य बीमा गराई रकम भुक्तानी समेत गरेको छ । रासस

नेको इन्स्योरेन्सले भुक्तानी गर्यो ७० प्रतिशत बढी दाबी, कृषिको मात्रै १० करोड बढी

काठमाडौं । नेको इन्स्योरेन्सको दाबी भुक्तानीमा तीव्रता देखिएको छ । नेको इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा कूल १ अर्ब २७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा थपिएका सहित कूल दाबीमध्ये ७० प्रतिशत दाबी भुक्तानी फर्छ्यौट गरिएको छ। चालू आव २०७९/८० मा पुराना भुक्तानी हुन बाँकी दाबीहरु ३ हजार ९७३ रहेका थिए । यसैगरी चालू आर्थिक वर्षमा थपिएका समेत गरेर कूल ८ हजार ९५९ वटा दाबी फर्छ्यौट गरेको छ। योमध्ये कृषिसँग सम्बन्धित २ हजार २३० वटा दाबीवापत १० करोड २ लाख रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बीमितको सुविधाका लागी गत पाँच वर्षदेखि ठाउँको ठाउँ दाबी भुक्तानी सेवा समेत स‌ंचालन गरिरहेको छ। दाबी भुक्तानीका लागी पेश गर्न बाँकी रहेको कागजप्रमाणहरू पेश गरेर दाबी भुक्तानी लैजानका लागी कम्पनीले बीमितसँग अनुरोध समेत गरेको छ।

आईएमई लाईफले दियो सम्पति शुद्धिकरण सम्बन्धी तालिम

काठमाडौं । आईएमई लाईफले सम्पति शुद्धिकरण सम्बन्धी वित्तिय लगानी निवारण तालिम प्रदान गरेको छ । आईएमई लाईफ इन्स्योरेन्सले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । उक्त कार्यक्रम बिहीबार सम्पन्न गरेको हो । कान्तिपथको होटेल यल्लो प्यागोडामासम्पन्न उक्त तालिम कार्यक्रममा सातै प्रदेश अन्तर्गतका प्रमुख, क्षेत्रीय प्रमुख तथा ब्यवस्थापन समूह गरी ३० जनाको सहभागिता रहेको थियो । अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । कम्पनीका कम्प्लायन्स प्रमुख ममता जयसवालले सम्पति शुद्धिकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बिस्तृत प्रशिक्षण गराएका थिए । गैर कानूनी कमाइ र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धिकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रक्रियाहरु के के हुन, रिर्पोटिंग कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले कार्यक्रमको महत्व तथा प्रभावकारीताको बारेमा प्रकाश पारेका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यले सम्पत्ति शुद्धिकरण प्रक्रिया र औचित्य बारेमा प्रकाश पारेका थिए ।