बीमा कम्पनीले अतिथि सत्कारमा खुद बीमाशुल्कको डेढ प्रतिशतसम्म खर्च गर्नुपर्ने
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीले अतिथि सत्कारमा खुद बीमाशुल्कको डेढ प्रतिशतसम्म खर्च गर्नुपर्ने भएको छ । कम्पनीहरुले व्यवस्थापन खर्च अन्तर्गत अतिथि सत्कार, व्यापार प्रवर्द्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ता अन्य शीर्षकमा खुद बीमाशुल्कको एक दशमलब पाँच प्रतिशतसम्म खर्च गर्न पाउने भएका हुन् । नेपाल बीमा प्राधिकरणले कम्पनीको संस्थागत सुशासन सम्बन्धी (पाँचौं संशोधन) निर्देशिका, २०८० अन्तर्गत उक्त व्यवस्था गरेको हो । जुन तत्काल लागू हुने छ । ‘निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले बीमकको व्यवस्थापन खर्च अन्तर्गत अतिथि सत्कार, व्यापार प्रवर्द्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ता अन्य शिर्षकमा खुद बीमाशुल्कको बढीमा एक दशमलव पाँच (१.५) प्रतिशतसम्म खर्च गर्न सक्नेछ,’ निर्देशिकामा भनिएको छ । त्यस्तै, उक्त व्यवस्था बमोजिम बीमकले गरेको कुल खर्चको कम्तीमा २५ प्रतिशत रकम विज्ञापन तथा प्रचार प्रसार शीर्षकमा खर्च गर्नुपर्ने बताइएको छ ।
‘सेयर कर्जाको सीमा पूर्ण रुपमा हटाऔं, पुँजीगत लाभकर ३ प्रतिशत कायम गरौं’
काठमाडौं । पुँजी बजारका लगानीकर्ताका टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष बजारको समस्या सम्बोधन गनुपर्ने माग गरेका छन् । लगानीकर्ताका विभिन्न संघ संगठनका प्रतिनिधिको टोलीले बुधबार प्रधानमन्त्री दाहाललाई भेटी सेयर कर्जाको सीमा हटाउनेदेखि पुँजीगत लाभकर ३ प्रतिशतमा झार्नेसम्मका मागहरु सम्बोधन गर्न आग्रह गरेका हुन् । भेटमा लगानीकर्ताले प्रधानमन्त्री दाहाललाई बजारको हालको समस्याको सम्बोधनको लागि ६ बुँदै ज्ञापनपत्र बुझाएका छन् । जसमा सेयर कर्जाको सीमा हटाउनेदेखि पुँजीगत लाभकर ३ प्रतिशतमा झार्नेसम्मका मागहरु रहेका छन् । लगानीकर्ताहरुको प्रमुख माग रहेको खुल्ला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण प्रकिया बिना ढिलासुस्ति कार्यान्वयन गर्ने र १२ करोडसम्मको सेयर कर्जाको सीमाले सेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिनु पर्ने माग लगानीकर्ताको छ । त्यस्तै, सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्नुपर्ने, अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्ने, बढ्दो व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गर्ने र तरलताको समस्यालाई तत्काल समाधान गर्नुपर्ने लगानीकर्ताका माग छन् । पछिल्लो समय विधमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएको लगानीकर्ताको बुझाई छ । साथै, तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकाले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गर्नुपर्ने लगानीकर्ताले बताएका छन् ।
बाँकेमा सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ बीमा गरिने
जानकी । बाँकेको कोहलपुर नगरपालिकाले थारू समुदायका व्यक्तिमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई स्वास्थ बीमा गरिदिने भएको छ । सिकलसेल तथा थालेसेमियाका बिरामीको उपचारमा सहयोग पुर्याउनका लागि बीमा गराउन लागिएको कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले बताइन् । उनले आर्थिक वर्ष २०८०र८१ देखि सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ बीमा नगरपालिकाले गर्ने बताएका हुन् । ‘उपचारका क्रममा सम्पत्ति सकिने अवस्था अन्त्य गर्न नगरपालिकाले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेको छ’, उपप्रमुख सुवेदीले भने, ‘आर्थिक अवस्था कमजोर भएकै कारण उपचार अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नगरपालिका संवेदनशील भएको हुनाले स्वास्थ बीमा गरिदिन लागिएको हो ।’ सिकलसेलका बिरामीले राज्यबाट उपचारका लागि एक लाख रुपैयाँ पाउँदै आएका छन् । जनस्वास्थ्यमा समस्याका रुपमा रहेको र उपचारका लागि उक्त रकम पर्याप्त नभएको भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा राजन पाण्डेले बताए । ‘सिकलसेल र थालेसेमियाका बिरामीले बाँचुन्जेल उपचार गर्नुपर्ने हुन्छ । उपचार गराउँदा गराउँदै सम्पत्ति सकिने अवस्था छ’, उनले भने । डा पाण्डेले सिकलसेलका बिरामीले पाउँदै आएको रकमसमेत अपुग भएको बताए । राज्यले दिने एक लाख रुपैयाँ सकिएपछि सिकलसेलका धेरै बिरामी उपचारबाट वञ्चित भइरहेका छन् । सिकलसेल तथा थालेसेमियाजस्ता रोगबाट ग्रसित रोगी सबैलाई स्वास्थ बीमामा समेट्नु पर्नेमा डा पाण्डेको सुझाव थियो । कोहलपुर नगरपालिकामा मात्र सिकलसेलका ११ हजारको परीक्षण गर्दा ९२ जना ट्रेड र एक हजार बढी वाहक फेला परेका छन् । त्यसैगरी, एक सय ५० जना थालेसेमियाका वाहक फेला परेको वडा नं १५ का अध्यक्ष दीपेन्द्र चौधरीले जानकारी दिए । रासस