सूर्यज्योति लाइफ इन्स्योरेन्सको नयाँ संचालक समिति गठन

काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ संचालक समिति गठन भएकाे छ । बैंककाे बिहीबार बसेकाे पन्ध्रौ वार्षिक साधारणसभाले नयाँ संचालक समिति गठन गरेकाे हाे । सञ्चालक समितिमा संस्थापक सेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु निर्वाचित भएका छन् । जसमा संस्थापक सेयरधनी समुह ‘क’ बाट केशव प्रसाद भट्टराई, नन्द किशोर शर्मा र विवेक झा निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट हेमन्त नाहटा, आकाश गोल्छा र प्रिया तायल निर्वाचित भएका छन् । उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन, साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणहरु स्विकृत गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित गरेकाे छ ।

भरतपुर अस्पतालमा एक अर्ब १९ करोडभन्दा बढीको बीमामार्फत उपचार

भरतपुर । यहाँको सरकारी भरतपुर अस्पतालले विगत पाँच वर्षमा एक अर्ब १९ करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिएको छ । जसबाट सात लाख एक हजार एक सय ४१ पटक सेवाग्राहीले सेवा लिएका छन् । अस्पतालमा विसं २०७४ भदौ १ गतेदेखि बीमा कार्यक्रम लागू भएको हो । गएको चैत मसान्तसम्म अस्पतालमा एक अर्ब १९ करोड ३७ लाख २६ हजार तीन सय ५८ रुपैयाँ निकासा भइसकेको छ । गत चैतसम्ममा भुक्तानी आउन बाँकी पाँच करोड रुपैयाँ हाराहारी छ । अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलका अनुसार यस आर्थिक वर्षको चैतसम्ममा ३९ करोड १० लाख ७४ हजार चार सय ७१ रुपैयाँ निकासा भइसकेको छ । गत आर्थिक वर्षमा ३० करोड ७९ लाख ७४ हजार पाँच सय १२ रुपैयाँ निकासा भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा नौ करोड ७२ लाख ५२ हजार एक सय ८१ रुपैयाँ निकासा भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा यो रकम २३ करोड ८८ लाख चार हजाार सात सय ५० रुपैयाँ थियो । आव ०७५/७६ मा १४ करोड ५७ लाख २८ हजार दुई सय २२ रुपैयाँ थियो भने पहिलो वर्ष २०७४/७५ मा एक करोड २८ लाख ९२ हजार दुई सय २० रुपैयाँ थियो । पौडेलका अनुसार अस्पतालमा दैनिक सात लाखदेखि ११ लाख रुपैयाँसम्मको दाबी हुने गर्दछ । बीमाका बिरामी दैनिक सरदर ६ सयजना आउने गर्दछन् । एकै दिन एक हजार चार सयसम्म बीमाका बिरामी आएको तथ्याङ्क रहेको उनको भनाइ छ । आकस्मिक सेवामा सरदर ६५ जना दैनिक छन् भने यो सङ्ख्या एक सयसम्म पुग्ने गरेको छ । दैनिक भर्ना दर २० जना रहेको उनले जानकारी दिए । यो सङ्ख्या बढीमा ५० जनासम्म हुने गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बीमामार्फत ७० हजार चार सय १९ जनाले एक लाख ७६ हजार ६ सय सातपटक सेवा लिएका छन् । अस्पतालबाट रिफर भएर जानेको सङ्ख्या चालु आर्थिक वर्षमा सात हजार तीन सय चार हुँदा रिफर भएर आउनेको सङ्ख्या चार हजार चार सय तीन रहेको छ । अस्पतालमा आउने बिरामीमध्ये ७१ प्रतिशत बीमाका छन् भने २९ प्रतिशत मात्रै नगदमा उपचार गराउने रहेको पौडेलले जानकारी दिए । चालु आर्थिक वर्षमा ३९ करोड १० लाख ७४ हजार चार सय ७१ रुपैयाँ बीमाबाट आम्दानी हुँदा नगदबाट १७ करोड ९८ लाख रुपैयाँ मात्रै भएको छ । आउने अधिकांश बिरामी बीमाका रहेका छन् । एकै दिन ४४ जनासम्मले बीमामार्फत सिटीस्क्यान सेवा लिएको पौडेलको भनाइ छ । चितवन जिल्लासँगै तनहुँ, गोरखा, लम्जुङ, नवलपरासी, मकवानपुर, धादिङ लगायतका जिल्लाका विभिन्न पालिकाले प्रथम विन्दु भरतपुर अस्पताल बनाएका छन् भने यहाँ अध्ययन र रोजगारीका सिलसिलामा रहने धेरैको प्रथम विन्दु यही अस्पताल हुने गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालको बीमा कार्यक्रम उत्कृष्ट रहेको भन्दै दाबी राम्रो भएकाले भुक्तानी सबै आएको बताए । दाबी प्रक्रिया नमिलेमा अस्पतालको आम्दानी घट्ने भन्दै उनले देशका अन्य अस्पतालको तुलनामा भरतपुर अस्पतालले राम्रो गर्न सकेको बताए । बिरामीको सहजताका लागि काउन्टर थप गर्ने तयारीमा अस्पताल रहेको उनको भनाइ छ । सकेसम्म बिरामीलाई सहजता दिलाउन आफूहरु लागिपरेको पौडेल बताउँछन् । बीमा बोर्डले समेत भरतपुर अस्पतालको बीमा दाबी पद्धतिलाई राम्रो मानेको भन्दै उनले क्रमशः अस्पतालको मुख्य स्रोत बीमा बन्दै गएको बताए । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले अस्पतालको बीमा कार्यक्रम देशमै उत्कृष्ट भएको बताए । अस्पतालमा झन्डै ७० प्रतिशत बिरामी बीमाको हुनु आफैँमा राम्रो भएको भन्दै उनले दाबी प्रक्रिया बोर्डको नियमानुसार भएकाले भुक्तानीमा समस्या नभएको बताए । उनले भने, ‘हाम्रो बीमा दाबी र व्यवस्थापन देशमै उत्कृष्ट बनेको छ ।’ अस्पतालले पालिकाहरुसँग सहकार्य गरेर आम नागरिकलाई बीमामा ल्याउने गरी अभियान सञ्चालन गर्न लागेको उनको भनाइ छ । पालिकाहरुमा रहेका अति विपन्नलाई सरकारी तवरबाट बीमा गराउन सकेमा उपचार बीमामार्फत गरेर लाभ दिलाउन सकिने पौडेलको भनाइ छ । अस्पतालमा सेवाहरु विस्तार गरी अन्यत्र रिफर गर्नुपर्ने सङ्ख्या घटाउने गरी योजना अघि सारिएको उनले जानकारी दिए । पौडेलले भने, ‘बीमामा आउने बिरामीका लागि कसरी सहज उपचार दिन सकिन्छ भनेर हामी केन्द्रित छौँ ।’ अस्पतालमा एमआरआई, क्याथल्याब जस्ता अत्याधुनिक सेवा उपलब्ध नहुँदा बिरामी धेरै रिफर हुने गरेका छन् । भरतपुर अस्पतालले ती दुवै सेवा छिट्टै सञ्चालन हुने गरी प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । स्वास्थ्य बीमामा पाँचजना परिवारले तीन हजार पाँच सय रुपैयाँ तिरेर एक वर्षभर एक लाख रुपैयाँसम्मको सेवा लिँदै आएको छन् ।  विपन्न परिवारका लागि यो रकम कम भएकाले दायरा बढाउनुपर्ने देखिएको छ । अस्पतालहरुले बीमाका बिरामीलाई अन्य बिरामीको तुलनामा फरक ढङ्गले सेवा दिने गरेको गुनासो बिरामीहरुबाट आउने गरेको छ । ती गुनासोहरुलाई सम्बोधन गर्नुपर्ने लाभग्राहीहरु बताउँछन् । सेवाग्राहीहरुले जुन ढङ्गले सहज उपचार पाउनुपर्ने हो, पाउन नसकेको गुनासो गर्दै आएका छन् । सेवा प्रदायक संस्थादेखि बीमा बोर्डसम्मले सुधार गरेर गुनासो नआउने गरी काम गर्नुपर्ने देखिएको छ । रासस

बनेपाका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित

बनेपा । रोशी गाउँपालिकाले ज्येष्ठ नागरिको निःशुल्क स्वास्थ्य बीमा अभियान सञ्चालन गरेपछि यहाँका नागरिकको स्वास्थ्य बीमातर्फ आकर्षण बढेको छ । उक्त गाउँपालिकाले यसै आर्थिक वर्षमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकसँगै परिवारका अन्य चार सदस्यको शुल्क बेहोर्ने व्यवस्था गरेकाले स्वास्थ्य बीमा गर्नेको सङ्ख्या वृद्धि भएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गङ्गालाल श्रेष्ठका अनुसार २०७९ साउन महिनायता एक हजार चार सय ४० जनाले बीमा गरिसकेका छन् । ‘पालिकाले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पहिलो चरणमा एक सय ९८, दोस्रो चरणमा चार सय ३६ र तेस्रो चरणमा आठ सय छ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन्’, उनले भने, ‘हामीले पालिकाको कार्यक्रम भएकाले समन्वय गर्दै आएका छौँ, बाँकी काम बीमा समिति र बीमा अभिकर्ताबाट नै हुँदै आएको छ । अब चौथो चरणमा अझ बढी वृद्धि हुने अनुमान छ ।’ यसअघि स्वास्थ्य बीमामा खासै चासो नदेखाएका नागरिकले निःशुल्करुपमा बीमा गर्न पाउने र अभियानकै रुपमा कार्यक्रम सञ्चालन गर्न थालिएकाले सङ्ख्या उल्लेख्य वृद्धि हुँदै गएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस आर्थिक वर्षमा निःशुल्क स्वास्थ्य बीमाका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसअन्तर्गत विसं २०७९ चैतसम्ममा आबद्ध भएका सङ्ख्याका आधारमा ५० लाख ४० हजार रुपैयाँ खर्च भइसकेको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाले आफू पालिकाको अध्यक्षमा निर्वाचित भएपछि पहिलो निर्णयमै ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरिएकामा त्यसको प्रभावकारिता पनि बढ्दै गएको बताए । ज्येष्ठ नागरिकको स्वास्थ्यका बारेमा गाउँपालिका संवेदनशील हुन आवश्यक रहेकाले निःशुल्क स्वास्थ्य बीमा अभियान कार्यक्रम अगाडि सारिएको उनको भनाइ थियो । पालिकाभित्रमा तीन हजार दुईभन्दा बढी ज्येष्ठ नागरिक छन् । रासस