बीमा कम्पनी ठूलाे हुँदैमा प्रिमियम सस्तो हुँदैन, रिटेन्सन क्यापासिटी बढ्छ
बीमा कम्पनीहरु भटाभट मर्ज भैरहेका छन् । प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर सगरमाथा लुम्बिनीको मर्ज गराउँदा तपाईको आफ्नै अनुभव पनि छ । बीमा कम्पनीहरुको मर्ज कति फलदायी भैरहेको छ ? नियामक निकायले पहिला किन लाइसेन्स वितरण गरियो र पछि किन मर्जर गराइयो भनेर समीक्षा गर्नुपर्छ । सानो बजारमा धेरै कम्पनी भएपछि सेवा सुविधाको पहुँच वृद्धि भयो तर त्यो सेवा सुविधा स्वस्थ रुपमा हुन सकेन । बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेपछि ग्राहक र कम्पनी दुवैलाई बेफाइदा हुन्छ । त्यसैले कम्पनीहरुबीच मर्जर आवश्यकता बन्यो । मर्ज गरेर कम्पनी घटाउँदा स्वस्थ प्रतिस्पर्धा बढ्छ । त्यस्तै मर्जपछि कम्पनीहरुको पुँजी बढेको छ । जोखिम धारण गर्ने क्षमता बढेको छ । कम्पनीको रिटेन्सन क्यापासिटी बढेको छ । पुर्नबीमा गर्दा विगतमा कम्पनीहरुले ठूलो रकमको बीमा पोलिसीमा २ प्रतिशत जोखिम आफूले लिएर ९८ प्रतिशत जोखिमको पुर्नबीमा गरेका हुन्थ्ये भने अव ५ प्रतिशत जोखिम आफैले बहन गर्न सक्छन् । सानो रकमका बीमा गर्दा सबै जोखिम कम्पनी आफैले लिन सक्छ । यसले पुर्नबीमा बापत विदेशिने डलर कम हुन्छ । देशको अर्थतन्त्रलाई पनि थोरै भएपनि लाभ हुन्छ । पछिल्लो समय जलवायु परिवर्तन र अन्य कारणले बीमा क्षतिपूर्ती बढेको बढ्यै छ । रिइन्स्योरेन्स कम्पनीले पनि प्रिमियम दर बढाइरहेको अवस्थामा नेपाली बीमा कम्पनीको रिटेन्सन क्यापासिटी बढ्नु राम्रो हो । कम्पनीहरुको आत्मविश्वस पनि बढ्छ । त्यसैले गर्दा मेरो विचारमा मर्जरपछि सिनर्जी आउँछ तर समय लाग्छ । रिइन्स्योरेन्स गर्दा बाहिरिने विदेशी मुद्रा कति घट्न सक्छ ? तथ्याङ्कमा यति नै घट्छ भनेर भन्न कठिन हुन्छ । तर रिइन्स्योरेन्स कम्पनीको कन्फिडेन्स बढ्दा, रिटेन्सन क्यापासिटी बढ्दा रिइन्स्योरेन्सका लागि बाहिर जाने मुद्रा घट्छ नै । सँगसँगै ध्यान दिनुपर्ने कुरा के छ भने देश जति विकसित हुन्छ, बीमाको पहुँच पनि त्यति नै धेरै वृद्धि हुँदै जान्छ । बीमा कम्पनीको सेवामा पनि वृद्धि भएपछि प्रिमियम पनि बढ्छ । कम्पनीको जोखिम पनि बढ्छ । कारोबार रकम बढ्दा पुर्नबीमाको प्रिमियम पनि बढ्न जान्छ । मर्जरले कर्मचारीलाई के फाइदा हुन्छ ? ग्राहकलाई के फाइदा हुन्छ ? र लगानीकर्तालाई के फाइदा हुन्छ ? मर्जरले कर्मचारीको समग्र स्तरोन्नति हुँदैन । कुनै कर्मचारीको तरलभत्ता वा प्रमोशन बढाउनै पर्नेछ भने बढ्नुपर्छ । सलिको इन्स्योरेन्सको हरेक २/३ वर्षमा कर्मचारीको तलबभत्ता र तह बढाउनुपर्ने नियम छ । मर्जरले कर्मचारीको आय आर्जनमा कुनै वृद्धि हुँदैन । कर्मचारीको तलबभत्ता वा प्रमोशन प्रक्रियागत रुपमा व्यवस्थापनले गछै । मर्जरले प्रिमियम दर घटबढ हुँदैन । बीमा कम्पनी ठूलाे हुने वित्तिकै बीमाको प्रिमियम सस्तो हुँदैन । नेपालमा मात्रै नभएर विदेशमा पनि रिइन्स्योरेन्सको बजारलाई जलवायु परिवर्तनले धेरै असर गरेको छ । बीमा व्यवसायमा जोखिमको आकार बढेको हुँदा प्रिमियम दर घट्छ भनेर कल्पना नगरे पनि हुन्छ । तर बीमा कम्पनीले ग्राहकलाई दिने सेवाको स्तर राम्रो हुनेछ । बास्तवमा मर्जरपछि लगानीकर्ताले पाउने प्रतिफल तत्काल बढ्दैन । किनभने पूँजीको आकार कम हुँदा दिने प्रतिफल र पूँजीको आकार बढी हुँदा दिने प्रतिफलमा फरक पर्छ । तर दीर्घकालमा लगानीकर्ताले राम्रो लाभ लिन सक्छन् । कम्पनी ठूलो हुँदा लगानीक सुरक्षित पनि हुन्छ । समग्रमा हेर्ने हो भने मर्जरले कसैलाई पनि फाइदा देखिएन नि ? के नियामकलाई मात्रै सहज हुनका लागि मर्ज हुनुपर्ने हो ? त्यो होइन । बल्ल हामी मर्जरको सुरुवाती चरणमा प्रवेश गरेका छौं । यसलाई एउटा अवसरको रुपमा लिनुपर्छ । आज बिउँ रोपेर भोलि नै फल प्राप्त हुँदैन । मर्जरले प्रतिफल दिन्छ तर आजको भोलि होइन । आज मर्ज भएपछि भोलि नै कर्मचारीको तलबभत्ता वृद्धि हुँदैन । लगानीकर्ताले दोब्बर प्रतिफल पाउँदैनन् । अब मर्जरबाट सिनर्जी निकाल्ने गरी काम गर्न जरुरी छ । मर्जर गरेपछि कम्पनी पूँजीमा बलियो हुन्छ । जसले रिटेन्सन क्यापासिटी बढ्छ । रिइन्स्योरेन्समा जाने केही जोखिमहरु कम हुन्छ । निरन्तर आइरहने दाबीलाई बीमा कम्पनीहरुले नै ब्यहोर्न सक्छन् । जोखिम बहन गर्ने क्षमता अनुसार प्रिमियम तोकेर पोलीसीहरु जारी हुन्छन् । अध्ययन विश्लेषण गरेर कम्पनीले नयाँ बीमा पोलिसी जारी गर्छ । व्यवसायको आकार बढ्छ । कम्पनीको व्यवस्थापन नयाँ तरिकाबाट हुन्छ । मर्जपछि कर्मचारी व्यवस्थापन कसरी भैरहेको छ ? मर्जरमा सबैभन्दा ठूलो समस्या मानव स्रोत व्यवस्थापन हो । कर्मचारी व्यवस्थापन गर्न ठूलै चुनौति हुन्छ । साविक सगरमाथा इन्स्योरेन्सबाट ४ सय बढी र साविक लुम्बिनी जनरलको २५० गरी ७ सयको हाराहारीमा कर्मचारी व्यवस्थापन गर्नु परेको छ । बीमा सम्बन्धी बजारमा सचेतना दिने, व्यवसाय ल्याउने कर्मचारी र कार्यालय भित्र काम गर्ने कर्मचारी समान हुन्छन् । यसरी बराबर हुँदा सिनर्जी ल्याउन कठिन हुन्छ । कर्मचारी व्यवस्थापन कसरी गर्ने भनेर भूमिका खेल्नु परेको छ । बीमा पोलिसी ल्याएपछि मात्रै फिल्डका कर्मचारीले काम पाउँछन् । पोलिसी बिक्री भएपछि मात्रै कार्यालय भित्रका कर्मचारीको पनि काम बढ्छ । बीमा कम्पनीहरुले सबैभन्दा बढी जोड ग्राहकको फाइदाका लागि गर्नुपर्छ । ग्राहकलाई छिटो छरितो सेवा दिनुपर्छ । ग्राहकलाई कस्तो पोलिसी चाहिएको छ ? त्यसमा जोड दिन आवश्यक छ । साथै, डिजिटलबाटै दाबी भुक्तानीको व्यवस्था हुनुपर्छ । स्वास्थ बीमा, लघुबीमा लगायत नयाँ प्रडक्ट ल्याउन जरुरी छ । अहिले कम्पनीहरु परम्परागत पोलिसी बिक्री गरेर थेगिरहेका छन् । तर, बजारले नयाँ-नयाँ प्रडक्ट माग गरेको हुन्छ । अझै जीवन बीमा कम्पनीले दीर्घकालका पोलिसी ल्याउनुपर्छ । मर्जरमा जाँदा कर्मचारी कटौति, खाइपाइ आएको सेवा सुविधा घटाउन नपाइने भनेको छ । तर, व्यवस्थापन गर्दा कर्मचारी बढी भएर लागत बढेको देखिन्छ । यसले कसरी सिनर्जी हासिल गर्न सकिन्छ ? सलिको इन्स्योरेन्समा कर्मचारी व्यवस्थापनमा कुनै समस्या छैन । कर्मचारी व्यवस्थापन चुस्तदूरुस्त छ । अब कर्मचारीलाई तालिम, मोटिभेसनल प्रोग्राममा जोड दिदैछौं । के गर्दा राम्रो सिनर्जी ल्याउन सकिन्छ भनेर कर्मचारीसँग पनि छलफल गरिरहेका छौं । एउटा विभागमा कार्यरत कर्मचारी लामो समयसम्म पनि सोही विभागमा काम गरिरहन्छ । बीमा कम्पनीमा कर्मचारीको विभाग परिवर्तन गर्ने परिपाटी छैन । कर्मचारीलाई बेलाबेला विभाग परिवर्तन गर्दा उनीहरुकै क्षमता विकास हुन्छ । तर यहाँ त कर्मचारीको विभाग परिवर्तन गरेपछि जागिरबाट निकाल्यो भनेर आरोप लाग्छ । सही मान्छे छनोट गरेर सही ठाउँमा नियुक्त हुनुपर्छ । कम्पनीको भिजन, मिसन पुरा गर्न तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारीलाई सही ठाउँमा खटाउनुपर्छ । कम्पनीको उद्देश्य अनुसार काम गर्नुपर्छ भनेर बुझाउन सकियो भने सिनर्जी ल्याउन सकिन्छ । यो वातावरण सलिको इन्स्योरेन्समा राम्रो देखिएको छ । बैंकिङ्ग क्षेत्रमा मर्जरपछि स्वेच्छिक अवकार योजना (भीआरएस) दिएर कर्मचारी बिदा भएका छन् । बीमा क्षेत्रमा यो अभ्यास सम्भव छैन ? जीवन बीमामा यो अभ्यास भएको छ तर निर्जीवन बीमामा भएको देखिँदैन । भीआरएसमा बिदा गर्न सकिने व्यवस्था निर्जीवन बीमामा पनि छ । तर मेरो विचारमा कम्पनीहरुले भीआरएस दिनुको सट्टा अवसर प्रदान दिनुपर्छ । सञ्चालकले व्यवस्थापन समूहलाई स्वतन्त्र भएर कम्पनी चलाउन दिनुपर्छ । दाबी भुक्तानीमा अनावश्यक तनाव दिनुहुँदैन । कम्पनीमा जसले राम्रो काम गर्छ, त्यसको प्रमोशन हुनुपर्छ । कसैको भनसुनका आधारमा कर्मचारी नियुक्त हुनु हुँदैन । त्यसैले बजारमा सलिको इन्स्योरेन्सक कर्मचारीका विषयमा नकारात्मक कुरा सुनिदैँन । मर्जरसँगै २० वटा निर्जीवन बीमा कम्पनी १४ वटामा झर्दैछन् । कम्पनीको संख्या घट्दा कम्पनीहरुबीचको प्रतिस्पर्धा स्वस्थ भएको छ ? एकैचोटी त्यो हुँदैन । संख्या घट्दैमा व्यवसाय बढ्ने र अस्वस्थ प्रतिस्पर्धा घट्ने हुँदैन । परम्परागत सोचलाई परिवर्तन गर्नुपर्छ । अब व्यवसाय विस्तार गर्नका लागि नयाँ रणनीति तयार पार्नुपर्छ । मर्जर गरेका कम्पनीले मर्ज नभएका कम्पनी वा व्यवसायको आकार सानो भएको कम्पनीसँग प्रतिस्पर्धा गर्यो भने दुवै कम्पनी बिग्रीन्छन् । उनीहरुलाई मर्जर भएका कम्पनीले ट्र्याक देखाउनुपर्छ । प्राधिकरणसँग अस्वस्थ प्रतिस्पर्धा रोक्न पटक पटक छलफल गर्यौं । त्यसैले थर्ड पाटी इन्स्योरेन्सलाई पुलमा लगेका छौं । पुल मोडल पनि राम्रो नै भइरहेको छ । खुला अर्थतन्त्रमा बजारलाई छोड्दा अस्वस्थ प्रतिस्पर्धा हुनु स्वभाविक हो । तर, यसले जोखिम बढायो । सबै पब्लिक कम्पनी भएको हुँदा सबैले दायित्व पुरा गर्नुपर्छ । विदेशमा जस्तो बीमा क्षेत्रमा प्राइभेट र लिमिटेड दुवै कम्पनी नेपालमा छैनन् । त्यसैले नेपालमा त्यति धेरै समस्या देखिँदैन । लघुबीमा कम्पनीहरुले ठूला कम्पनीको व्यवसाय खोस्छ कि सहयोग गर्छ ? कुनै पनि कम्पनी आउँदा व्यवसाय खोस्छ भन्ने हुँदैन । यो नयाँ अध्याय सुरु भएको छ । सबैभन्दा पहिला त के उद्देश्यले लाइसेन्स दिएको हो भनेर हेर्नुपर्छ । नियामकले भनेपछि मान्नै पर्छ । अहिलेका जीवन बीमा र निर्जीवन बीमा कम्पनीले पहुँच पुर्याउन नसकेपछि लघुबीमा कम्पनीले गाउँगाउँमा गएर काम गर्नुपर्छ । लघुबीमा कम्पनी पनि शहरमुखी हुनु हुँदैन । जीडीपीमा निर्जीवन बीमाको योगदान करिव १ प्रतिशत मात्रै योगदान छ । एउटै ब्यक्तिको घर हुन्छ, गाडी हुन्छ, अन्य सम्पत्ति हुन्छ, स्वास्थ बीमा गरिएको हुन्छ । यति स्कोप हुँदा पनि बीमाको योगदान थोरै छ । अब जीडीपीमा बीमाको योगदान बढाउनुपर्छ । बैंकोन्स्योरेन्स लागू गर्दा एजेन्टहरुले चाँहिदैन, हाम्रो रोजगारी खोस्यो भनेका थिए । डिजिटलमा व्यवसया गर्दा पनि विरोध जनाए । यसरी परिवर्तन हुँदैन । नयाँ विधि र विकल्पमा काम गर्दा आफ्नै तरिका हुन्छन् । त्यसैले लघुबीमाले पनि आफ्नै सीमा भित्र रहेर काम गर्छन् । त्यस्तो तात्विक फरक पर्दैन । कम्पनी ठूलो भएपछि नयाँ इनोभेसन ल्याउन के अभ्यास भएको छ ? अहिले बजारमा कायम पोलिसी नै नयाँ स्वरुपमा आउँछन् । अब एक/एक मान्छेसँग पुग्नेगरी पोलिसी ल्याउनु पर्छ । सलिको इन्स्योरेन्सले तीन/चार वटा प्रडक्ट स्वीकृतिका लागि बीमा प्राधिकरणमा पठाएको छ । एउटा जीवन बीमा कम्पनीसँग मिलेर राइडर पोलिसी ल्याउने तयारी छ । एशियन लाइफसँग सहकार्य गरेर काम अघि बढेको छ । कम्पनीले जारी गरेका पोलिसीमा मेडिकल सुविधा प्रदान गर्ने गरी सहमति भएको छ । यस्तै, इलेक्ट्रिक भेइकल (इभी) सवारीमा रहेको ब्याट्रिको पनि बीमा गर्ने योजना छ । पछिल्लो समय पर्यटन क्षेत्रमा डुंगाहरुको प्रयोग बढ्दै गएको छ । साना तथा मध्यम खालका डुंगाहरु सञ्चालन भइरहेका छन् । विभिन्न पर्यटकीय क्षेत्रमा डुंगा सञ्चालनमा भए पनि बीमा गरेको पाईंदैन । डुंगाहरुको बीमा गर्ने योजना छ । अब रेल पनि सञ्चालनमा आइसकेको भएकाले त्यसको पनि बीमा गर्ने योजनामा बनाएका छौं । साथै, चस्माको पनि बीमा गर्ने योजना छ । अहिले सबै कम्पनीमा युवा सीईओहरु हुनुहुन्छ । उहाँहरुले पनि आ-आफ्नो रणनीति बनाएर काम गरिरहुन भएको छ । प्रस्तुती : सीआर भण्डारी
५ बीमा कम्पनीलाई पुँजी वृद्धि गर्न विशेष सुविधा, सरकारी २ कम्पनी कारवाहीमा पर्दै
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पाँच वटा बीमा कम्पनीलाई पुँजीवृद्धि गर्न विशेष सुविधा दिएको छ । यस्तो सुविधा पाउनेमा एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एलआईसी नेपाल र एशियन लाइफ इन्स्योरेन्स रहेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन इन्डिया मुख्य प्रवर्द्धक रहेको एलआईसीलाई माग बमोजिम हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले सहमति दिने भएको छ । ‘एलआईसी विशेष अवस्थामा ल्याएको ज्वाइन्ट भेञ्चर कम्पनी हो । यस कम्पनीको सञ्चालकले हकप्रदको माध्यमबाट पूँजी वृद्धि गर्छौं भनेको छ । कम्पनीलाई दोस्रो विकल्प पनि छैन’ प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने । एलआईसी नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड छ । कम्पनीले हालको पुँजीको ८८ प्रतिशत अर्थात २ अर्ब ३५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने निर्णय विशेष साधारणसभाबाट गराईसकेको छ । बीमा प्राधिकरणले हाल भएको पुँजीको एकतिहाइ भन्दा बढी हकप्रद सेयर जारी गर्न नदिने नीति लिए पनि एलआईसीलाई ८८ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिन लागेको हो । त्यस्तै, एशियन लाइफले चालु वर्षको नाफा र करिव ३३.३३ प्रतिशत हकप्रद सेयर जारी गरेर पुँजी ५ अर्ब बनाउने भएको छ । एशियन लाइफको पुँजी हाल ३ अर्ब १५ करोड रुपैयाँ छ । कम्पनीले चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर र हकप्रद सेयर निष्काशन गरी पुँजी ५ अर्ब पुर्याउने तयारी गरेको छ । चालु वर्षको नाफाबाट बोनस र ३३.३३ प्रतिशत हकप्रद सेयर जारी गरेर पनि पुँजी ५ अर्ब नपुग्ने अवस्थामा कम्पनीले सेयरधनी कोषको पैसालाई पुँजीकृत गर्ने प्रस्ताव गरेको छ । एशियनको प्रस्तावप्रति बीमा प्राधिकरण सकारात्मक रहेको छ । एनएलजी इन्स्योरेन्सलाई पनि प्रस्ताव अनुसार हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले स्वीकृत दिने भएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । उसलाई १ अर्ब ४ करोड पुँजी थप्नुपर्ने हुन्छ । चालु आवको नाफाबाट बोनस सेयर निष्काशन गर्ने र नपुग रकममा हकप्रद सेयर जारी गर्ने कम्पनीको योजना छ । २०६२ सालसम्म नेशनल र एनएलजी एउटै थियो । बीमा समितिले निर्जीवनलाई छुट्याएपछि सहायक कम्पनी भनेर एनएलजी छुट्टिएको थियो । ‘एनएलजीमा ५० प्रतिशत भन्दा बढी हिस्सा नेशनलको छ, प्राधिकरणले आफैले गरेको पुरानो निर्णयअहिले उल्ट्याउन मिल्दैन, उसलाई पनि हकप्रद सेयर निष्काशनमा बाटो खुला गर्नुको विकल्प रहेन’ प्राधिकरणका अध्यक्ष सिलवालले भने । प्राधिकरणले नेपाल इन्स्योरेन्सको माग अनुसार सम्पत्ति बेचेर बोनस सेयर वितरण गरी पुँजी वृद्धि गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४९ करोड रुपैयाँ छ । कम्पनीले सम्पत्ति बेचेर करिब ४४ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ । बोनस सेयरपछि कम्पनीको पुँजी करिब १९३ करोड रुपैयाँ पुग्ने छ । ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले स्वीकृत दिने भएकोले त्यो सुविधा पनि उपयोग गरी पुँँजी २५० करोड पुर्याउने कम्पनीको योजना रहेको छ । त्यस्तै प्रभु इन्स्योरेन्सले पुँजी वृद्धि गर्न विदेशी लगानीकर्ता भित्र्याउने नयाँ प्रस्ताव बीमा प्राधिकरणमा लगेको छ । उसले ३ महिना समय मागेकोले असार मसान्तसम्मको लागि समय दिने निर्णय भएको अध्यक्ष सिलवालले बताए । अरु कम्पनीले मर्ज गरेर वा सीमाभित्रको हकप्रद सेयर जारी गरेर तोकेको पुँजी पुर्याउँदैछन् । साउनसम्म पुँजी नपुर्याउने कम्पनीहरुलाई भने कारवाही गरिने उनले बताए । ‘प्रभुले विदेशबाट पार्टनर ल्याएर पुँजी वृद्धि गर्छु भनेको छ । नेपाल इन्स्योरेन्सले सम्पत्ति बिक्री गरेर पुँजी वृद्धि गर्छौं भनेको छ । उनीहरुले असारसम्म समय मागेका छन् । त्यतिबेलासम्म हामी कुर्छौं, जसले पुँजी पुर्याउन निर्देशन दिएपनि पुर्याएको छैन, मर्जरबाट भागेका छन्, ती कम्पनीहरुलाई प्राधिकरणले हेरिरहेको छ’ अध्यक्ष सिलवालले भने, ‘पुँजी नपुर्याउने कम्पनीहरुलाई साउन १ गतेदेखि नियामकको निर्देशनलाई उल्लङ्घन गरेको मानेर कारवाही हुन्छ, उनीहरुको कारोबार घट्छ, पोर्टफोलियो रोक्का हुन्छ, सीमित पोर्टफोलियोमा मात्रै कारोबार गर्न पाउँछन्, त्यसपछि स्वतः मर्जरमा जानु पर्ने बाध्यता आउँछ, पुँजी नपुर्याउने कम्पनीलाई प्राधिकरणले थप काम गर्न दिँदैन, राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानलाई पनि यही नियम लागू हुन्छ ।’
राष्ट्र बैंकले दैनिक तरलता सुविधालाई निरन्तरता दिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधालाई निरन्तरता दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकहरुलाई दिईने सुविधालाई निरन्तरता दिएको हो । ‘यस बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अद्र्धवार्षिक समीक्षादेखि नीतिगत दर ७ प्रतिशतमा उपलव्ध गराउने व्यवस्था गरेको छ’, समिक्षामा भनिएको छ, ‘अन्तरबैंक ब्याजदरमा १.५ प्रतिशत बिन्दुले कमीे आएको छ, दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थालाई निरन्तरता दिइएको छ ।’