सूर्यज्योति लाइफको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा गाभिई २०७९ पौष ७ गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार संचालन गरेको कम्पनीको अध्यक्षमा भट्टराई नियुक्त भएका हुन् । उक्त कम्पनीको जेठ ४ गते पन्ध्रौं वार्षिक साधारणसभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन समेत सम्पन्न गरेको थियो । संस्थापक शेयरधनी समुह ‘क’ बाट केशव प्रसाद भट्टराई, नन्द किशोर शर्मा तथा विवेक झा निर्वाचित भएका थिए भने सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट हेमन्त नाहटा, आकाश गोल्छा तथा प्रिया तायल निर्वाचित भएका हुन् । साथै कम्पनीको स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटा नियूक्त भएका हुन् । त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संचालक समितिका जेठ ४ गते अपरान्ह बसेको ३४९ औंं बैठकबाट केशव प्रसाद भट्टराईलाई कम्पनीको अध्यक्ष पदमा चयन गर्ने सर्वसम्मत निर्णय भई जेष्ठ १० गतेका दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । उक्त सपथ ग्रहणका अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीको समेत उपस्थिती रहेको थियो ।

नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न २ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले नेशनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो । यी दुई इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । नेशनल लाइफ इन्स्योरेन्सको ८ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ६०१.६७ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ६४९.८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै, प्रभु लाइफ इन्स्योरेन्सको ८ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ४२८.५ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ४७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

युनाइटेड र अजोडलाई मर्जरको लागि धितोपत्र बोर्डले दियो अन्तिम स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई बीमा कम्पनीलाई एक आपासमा मर्जर हुन अन्तिम स्वीकृति दिएको छ । बोर्डले युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सलाई एक आपसमा मर्ज हुनको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । दुई कम्पनीबीच सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १०० बराबर ८२.५ मा मर्जरमा जाने सहमति भएको छ । अर्थात अजोडको १०० कित्ता सेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता सेयर पाउने छन् । दुई कम्पनी मर्जपछि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ । हाल युनाइटेड इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ७ करोड रुपैयाँ (५ प्रतिशत बोनसपछि) पुगेको छ । अजोडको एक अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी छ । १०० बराबर ८२.५ को स्वाप रेसियोमा मर्ज भएसँगै बन्ने युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजी करिब एक अर्ब ९० करोड रुपैयाँ पुग्ने छ ।